११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

निर्वाचनको मुखमा गौर अशान्त : दुई समुदायबिच झडपपछि ‘हाइ अलर्ट’मा मधेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केही नेताले चुनावको वातावरण बनिनसकेको बताउँदै आएका बेला रौतहटको गौर बजार तीन दिनदेखि अशान्त बनेको छ।

गौर नगरपालिकाको सबगढाबाट सुरु भएको दुई समुदायबिचको तनाव एवं झडप मत्थर नभएएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो कर्फ्यु लगाउँदै नेपाली सेना परिचालनसमेत गर्नुपर्‍यो। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले यतिबेला गौर बजार मात्र होइन, पुरै मधेसलाई निगरानीमा राखेको छ। गौरको उक्त घटनाले सिंगो मधेस प्रदेशको सुरक्षामाथि प्रश्न उठाएको छ। साथै यो घटनामा खेलेर निर्वाचन बिथोल्न सक्ने शक्तिहरू सल्बलाउने संकेत पनि देखिएको जिल्ला प्रशासले जनाएको छ।

खासगरी मधेसमा हिन्दु समुदायले ‘जय श्रीराम’को नारा लगाउने र मुस्लिमहरूले ‘नारा ए तक्बिर’को आवाज घन्काउने गर्दा झडप हुने अवस्थाले गौर अशान्त बनेको हो। अर्काे समुदायलाई उत्तेजित गराउन या उक्साउन लगाइएका नाराले झडपको परिस्थिति निम्तिनाले बिहीबार रातिदेखि गौर अशान्त बनिरहेको हो। शनिबार कर्फ्यु आदेश जारी गरेपछि पनि गौर बजार अशान्त नै देखियो। झट्ट हेर्दा दुई समुदायबिचको झडप देखिए पनि निर्वाचन सम्मुखमै रहेकाले यसलाई सामान्य अवस्थामा लिइएको छैन।

गौरमा उत्पन्न तनावले निर्वाचन सुरक्षामा चुनौती थपिने आशंका हुन थालेपछि केन्द्रीय सुरक्षा समितिको बैठक नै बस्यो। शनिबार साँझ गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले गौरको घटनालाई सामान्य रूपमा लिन नहुने निष्कर्ष निकालेको छ।

बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति थियो। बैठकले साम्प्रदाियक दंगा निम्तिन सक्नेप्रति सचेत रहनुपर्ने संकेत गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले रौतहटको घटनालाई लक्षित गर्दै चुनावीविरोधी तत्त्वहरूलाई नियन्त्रणमा लिन निर्देशन दिइसकेकी छन्।

गौर–६ सबगढा गाउँमा विवाहको बाजा बजाउँदै गइरहेको जन्तीलाई फरक समुदायका केही व्यक्तिले अवरोध गर्दै केही व्यक्तिलाई कुटपिट गरेको विषयबाट सुरु भएको विवाद उग्ररूप लिँदा दोहोरो झडपमा परिणत भयो। शुक्रबार रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशसागर भुसालको रोहवरमा दुवै पक्षलाई राखेर विवाद साम्य पार्न ६ बुँदे सहमति गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय गौरमा शान्ति सद्भाव कायम गर्ने सहमति भए पनि पुनः शनिबार बिहानैदेखि भारतीय नम्बरको स्कार्पियो र एक दर्जन बढी मोटरसाइकलमा आएकाहरूले आगजनी गरेपछि साम्प्रदायिक तनाव झन् चर्कियो। दुवै पक्षको विवाद झडपपछि हिंसात्मक बन्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन रौतहट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो।

प्रजिअ भुसालद्वारा जारी कर्फ्यु आदेशमा पूर्वमा मुडबलवा गेट पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नहुन्जेल कफ्र्यु जारी भएको हुँदा उक्त क्षेत्रभित्र कुनै प्रकारको सभा, जुलुस, भेला, प्रदर्शन र आवतजावत गर्न नसक्ने बताइएको छ।

नेपाली सेनाले तनावपूर्ण क्षेत्रमा कमान्ड सम्हालेको करिब एक घण्टामा परिस्थिति पूर्ण रूपमा नियन्त्रणमा आए पनि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सूक्ष्म निगरानी राख्दै गस्ती भइरहेको छ। दंगा रौतहटको गाउँ र मधेस प्रदेशका विभिन्न स्थानमा फैलन सक्ने आशंकाले प्रशासन चिन्तित छ।

साम्प्रदायिकता फैलाउने मुख्य योजनाकार सेख जमसैदसहित २० जनालाई रौतहट प्रशासनले नियन्त्रणमा लिएको जनाइएको छ। निर्वाचनको समयमा समाजमा अशान्ति मच्चाउने, धार्मिक सद्भावमा खलल पुर्‍याई सिंगो जिल्लालाई नै अशान्त बनाउने कार्यमा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज जमसैदलाई शनिबार दिउसो रौतहट प्रशासनले नियन्त्रणमा लिएको हो।

 दंगा शान्त भएपछि मात्र उनलाई छाडिने बताइएको छ। प्रजिअको आदेशपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जमसैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराइएको प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले नागरिकलाई बताए।

प्रवक्ता डिएसपी बस्यालले जमसैदसँग आवश्यक सोधपुछ भइरहेको तथा उनको घटनामा कतिको संलग्नता रहेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान एवं उपलब्ध भएका सबुत प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान जारी रहेको बताए। सबगढा गाउँका पूर्ववडाध्यक्षसमेत रहेका जमसैद जनमत पार्टीका जिल्ला अध्यक्ष हुन्।

बिहीबार रातिको घटनालाई लिएर शुक्रबार बिहानदेखि दिउँसोसम्म भएका उपद्रवपछि शुक्रबार अपराह्न दुवै समुदायबिच प्रशासनको रोहबरमा ६ बुँदे सहमति भएको थियो। शनिबार बिहानैदेखि योजनाबद्ध रूपमा दई पक्षबिच तनाव सिर्जना गर्ने अडियो क्लिपहरू बाहिरिएपछि एकाएक घटनाले उग्र रूप लिएको थियो।

विगतमा पनि सेख जमसैदको भूमिका निकै विवादास्पद रहेको देखिन्छ। गत वर्ष होलीको समयमा भएको यस्तै घटनालाई उनकै कारण भनिएका थियो। त्यसपछि यसरी नै सद्भाव कायम राख्ने सम्झौताहरू भएका थिए तर अवस्था जस्ताको तस्तै थियो। त्यति मात्रै नभई हतियार झुन्ड्याएर साउथ हिन्दी फिल्ममा देखिने फोटो सामाजिक सञ्जालमा राखेपछि निकै चर्को आलोचना भएको थियो। सेख जमसैदको उठबस जिल्लाका उच्च पदस्थ सुरक्षा पदाधिकारीहरूसँग विगतका दिनहरूमा हुने गरेको हुँदा निजको मनोबल बढ्दै गएको बताइन्छ।

प्रकाशित: १० फाल्गुन २०८२ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App