नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ।
पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई यसपटक भड्किलो र खर्चिलो नबनाउने जानकारी दिए।
उनका अनुसार देश शोक र विपत्तिको अवस्थामा रहेकाले महाधिवेशनमा विगतमा जस्तो झाँकी, सजावट तथा अन्य तामझाम गरिने छैन। महाधिवेशनलाई मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी कांग्रेसको छ।
चालिसेले भने, ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेका छौँ। प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू र झकिझकाउ धेरै देख्नुहुने छैन। देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो।’
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि खानाको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ। भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने तयारी गरिएको प्रवक्ता चालिसेले बताए।
तर प्रतिनिधिको आवासको व्यवस्था भने पार्टीले नगर्ने भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
कांग्रेसका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिको संख्या करिब ७ हजार ७ सय पुग्ने पार्टीले जनाएको छ।
देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनलाई औपचारिकता र संगठनात्मक प्रक्रियामा केन्द्रित गर्ने तयारी कांग्रेसको देखिएको छ।
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
कांग्रेसले महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। प्रवक्ता चालिसेले महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए। `१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।´ प्रवक्ता चालिसेले भने।
कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।
प्रकाशित: १६ आश्विन २०८३ १४:५३ शुक्रबार


-600x400.jpg)


