राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका गलत निर्णय र कमजोरीको विरोध गर्ने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहीले सरकारको ६ महिने कार्यकालप्रति प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नलाई कारबाही गर्न ढिलाइ नगर्न आग्रह गरे।
उनले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारी सिर्जनाका क्षेत्रमा ठोस नीति अघि सारे सरकारलाई सहयोग गर्ने बताए।
‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ,’ शाहीले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी सरकारकै साथमा छौँ। सडकदेखि संसद्सम्म साथ दिन्छौँ।’
जेनजी आन्दोलनका क्रममा उठेका माग र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको उनको आरोप छ। आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवनमा भएको तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको उनले बताए।
लामो समयदेखि चर्चामा रहेका ठूला भ्रष्टाचारका काण्डको छानबिन कहाँ पुगेको छ भन्दै उनले सरकारसँग जवाफ मागे। कानुनको प्रयोग प्रतिशोधका लागि नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए।
शाहीले सत्तापक्षका सांसदहरूलाई समेत सरकारका कमजोरी औँल्याउँदै सही बाटोमा अघि बढ्न सुझाव दिन आग्रह गरे।
‘सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ,’ उनले भने, ‘हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न पछि हट्ने छैनौँ।’
युवाको रोजगारीको विषयमा समेत उनले सरकारको ध्यानाकर्षण गराए। विमानस्थलमा विदेश जानका लागि युवाको लर्को लाग्ने अवस्था अन्त्य गर्न सरकारले रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने उनको भनाइ छ।
युवालाई विदेशिन बाध्य हुन नपर्ने वातावरण निर्माण गर्न र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउनसमेत उनले माग गरे।
प्रकाशित: १६ आश्विन २०८३ १४:४९ शुक्रबार


-600x400.jpg)


