२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

निर्वाचन पूर्व पर्यवेक्षणका निष्कर्षहरुः तयारी पूरा, डिजिटल आचारसंहिता उल्लंघन भने बढ्दो

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा देशभर तयारी पूरा भएको प्रारम्भिक निष्कर्षसहित शनिबार सार्वजनिक गरिएको छ ।  

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नेपाल (नियोक), गैरसरकारी संस्था महासंघ नेपाल (गैसस), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओक)ले संयुक्त पत्रकार सम्मेलनमार्फत निर्वाचन आयोगका तर्फबाट आवश्यक व्यवस्थापन पूरा भएको जनाएको हो ।  

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले यो निर्वाचन स्वतन्त्र, निष्पक्ष र भ्रमरहित निर्वाचन होस भन्ने आफूहरुले चाहेको प्रष्ट पारे । अध्यक्ष भट्टराईले चार वटै संस्थाका चार हजारभन्दा बढी निर्वाचन पर्यवेक्षकहरु खटिएको जानकारी दिए । उनले भने,‘हाम्रो निर्वाचन पर्यवेक्षकहरुले निकालेको निष्कर्षहरु निर्वाचन अघि र निर्वाचनपछि पनि निष्कर्षहरु सार्वजनिक गर्ने छौं ।’  

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासहितको संयन्त्रले संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । निर्वाचन कर्मचारी खटाइसकिएको, आवश्यक सामग्री तथा मतपत्र सबै जिल्लामा पुगेको र प्रचारप्रसार उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिइएको छ । अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू समेत परिचालन भइसकेका उल्लेख गरे ।  

उनले समग्र वातावरण सकारात्मक देखिए पनि निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा वृद्धि भएको पर्यवेक्षक संस्थाहरूको निष्कर्ष रहेको प्रष्ट पारे । ‘अघिल्ला निर्वाचनमा भौतिक उल्लंघन बढी देखिए पनि यसपटक डिजिटल माध्यमबाट हुने उल्लंघन उल्लेख्य रहेको जनाइएको छ । सामाजिक सञ्जालमा घृणा तथा द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोस्ट, गालीगलौज र मिथ्या तथा भ्रामक सूचनाको फैलावटले चुनौती थपिएको छ । उम्मेदवार, दलका कार्यकर्ता मात्र नभई मतदाता, इन्फ्लुएन्सर, पत्रकार, कलाकार र सामाजिक अभियन्तासमेत यस्ता गतिविधिमा संलग्न देखिएको उल्लेख छ,’ उनको भनाई थियो ।  

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग) का अध्यक्ष डा.गोपाल कृष्ण शिवाकोटीले पर्यवेक्षणका दौरानमा निर्वाचन सम्बन्धी कानुन र संवैधानिक व्यवस्था, निर्वाचन आयोगको क्षमता, मतदाताको प्रक्रिया, मुलुकबाहिर र अन्तर जिल्ला मतदान, मतदाता शिक्षा लगायतका विषयलाई मध्ये नजर गरेर काम गरेको जानकारी दिए । उनले आगामि निर्वाचनमा चारै संस्थाका पर्यवेक्षकहरुले पर्यवेक्षण गर्ने जनतालाई स्वतन्त्र परिवेक्षक पुगेको अनुभूति दिलाउने प्रष्ट पारे । उनले भने,‘पर्यवेक्षकहरु उभिएपछि अनियमितता गर्नेहरु पनि हच्किन्छन् । हाम्रो चाहना स्वच्छ, विश्वासनिय र स्वतन्त्र निर्वाचन होस भन्ने हुन्छ ।’  

आम निर्वाचन पर्यवेक्षण समितिका महासचिव कृष्णमान प्रधानले यस अघि फरक फरक रुपमा काम गर्दै आए पनि यस पटक सबै संस्था मिलेर संयुक्त रुपमा काम गरिरहेको जानकारी दिए । उनले भने,‘यस पटक निर्वाचनको नतिजा नआएसम्म हामी चारै संस्थाहरु मिलेर संयुक्त रुपमा काम गर्ने छौैं ।’ उनले अहिले राष्ट्रिय निर्वाचन आयोगको काम स्पष्टीकरण सोधेर पत्राचार गर्ने मात्र भएको उल्लेख गरे । उनले आयोगले पत्राचार गर्ने मात्र होइन, निर्वाचन आचार सहिता उल्लंघन गर्नेलाई कारवाही पनि गर्नु पर्ने प्रष्ट पारे ।  

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीले निर्वाचनको प्रचारप्रसारमा ख्याल ठट्टा भइरहेको उल्लेख गरे । उनले आगामि निर्वाचनमा निर्वाचन प्रचारप्रसारको बारेमा पहिले नै ध्यान पुर्याउनु पर्ने बताए । उनले निर्वाचन चिन्हहरु दिदा ध्यान पुर्याउने पर्ने सुझाव दिए ।  

चारै संस्थाले निकालेको निर्वाचन पूर्व पर्यवेक्षणका निष्कर्षहरुमा सार्वजनिक स्थानमा पोस्टर, पर्चा, तोरण राख्ने, तोकिएको भन्दा बढी भीडभाड गर्ने, बालबालिका र विद्यालय प्रयोग गर्ने, सरकारी कर्मचारी तथा शिक्षकलाई कार्यालय समयमा प्रचारमा संलग्न गराउने, सरकारी स्रोतसाधन दुरुपयोग गर्ने जस्ता घटना पनि भेटिएका छन् । केही स्थानमा प्रतिस्पर्धीविरुद्ध घृणा फैलाउने, कानुनी सीमा नाघेर सभा आयोजना गर्ने र ठूलो आवाजमा माइकिङ गर्ने जस्ता गतिविधि भएको उल्लेख छ ।

सञ्चार क्षेत्रको भूमिकामाथि पनि प्रश्न उठेको छ । केही सञ्चारगृहले एकतर्फी समाचार सम्प्रेषण गर्ने, भ्रामक पूर्वानुमान सार्वजनिक गर्ने र गलत सूचना फैलाएको गुनासो आएको छ । केही सञ्चारमाध्यमलाई स्पष्टीकरणसमेत सोधिएको जनाइएको छ। ग्रामीण क्षेत्रमा सञ्चार पहुँच कमजोर हुँदा निष्पक्ष सूचना प्रवाहमा चुनौती देखिएको छ ।

मतदाता नामावलीतर्फ करिब ९ लाख १५ हजार नया मतदाता दर्ता भएका छन्। तर विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था हुन नसक्नु र देशभित्रै बेजिल्ला मतदानको प्रबन्ध नहुँदा धेरै मतदाता वञ्चित हुने जोखिम रहेको उल्लेख छ। नामावलीमा दोहोरो नाम, अनलाइन प्रणालीमा त्रुटि र अद्यावधिकमा ढिलाइ जस्ता समस्या देखिएका छन्।

मतदाता शिक्षा कार्यक्रम परम्परागत शैलीमै सीमित रहेको, ग्रामीण क्षेत्रमा पर्याप्त नपुगेको र प्रभावकारिता मापन कमजोर रहेको निष्कर्ष छ। युवा, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित कार्यक्रम विस्तार हुन नसकेको जनाइएको छ ।

चुनावी खर्चतर्फ कानुनी सीमा नाघ्ने, वास्तविक खर्च सार्वजनिक नगर्ने र पैसाको प्रभाव बढेको चिन्ता व्यक्त गरिएको छ । घोषणापत्रहरूमा स्पष्ट कार्यान्वयन योजना र जवाफदेहिता अभाव देखिएको, राष्ट्रिय प्राथमिकताभन्दा लोकप्रियतामा केन्द्रित भएको टिप्पणी गरिएको छ ।

निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधिमा कडाइ गर्न र मादक पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध लागू गर्न निर्देशन दिएको छ । मतदानको दिन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

चारै पर्यवेक्षक संस्थाले देशभर अनुगमन जारी राखेको जनाउँदै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सबै सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। समग्र वातावरण शान्तिपूर्ण देखिए पनि डिजिटल दुरुपयोग, खर्च सीमा उल्लंघन र सम्भावित विवादमा कडा निगरानी आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा बोल्दै प्राध्यापक डा। कुमुम शाक्यले अहिलेको निर्वाचनमा पहिला उम्मेद्धवारहरु जम्मा ११ प्रतिशतको मात्र भएकोमा दुख व्यक्त गरिन् । उनले देशको जनसंख्यामा महिला बढी भएको र मतदाताको संख्यामा पनि महिला बढी रहेकोमा उम्मेद्धवार कम हुदा दुख लागेको बताइन् ।  

निर्वाचन पर्यवेक्षण कल सेन्टर खोलिने  

निर्वाचनको बारेमा सम्पूर्ण जानकारी दिनको लागि निर्वाचन पर्यवेक्षण कल सेन्टर खोलिने भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण नेपालले उक्त कल सेन्टर खोल्न लागेको हो । उक्त कल सेन्टरले निर्वाचनको बिहानदेखि बेलुकीसम्मको विस्तृत विवरणहरु ट्याक गरेर सुचना सार्वजनिक गर्ने छ । 

प्रकाशित: १६ फाल्गुन २०८२ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App