प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेमा शान्तिपूर्ण रूपले मतदान चलिरहेको छ। बाँकेका ३ वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा बिहीबार (आज) बिहान ७ बजे एकैसाथ मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।
'निर्वाचन शान्तिपूर्ण तरिकाले सुरु भएको छ, मतदाताहरू नजिकका केन्द्रमा पुगेर मतदान गरिरहनु भएको छ,' उनले नागरिकसँग भने। मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चल्नेछ।
मतदानका लागि जिल्लाभर २ हजार ४ सय जना कर्मचारी खटिएका छन्। यस्तै ठुलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, निर्वाचन प्रहरी लगायत सुरक्षा अंग परिचालन भएर सुरक्षा दिइरहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट गरेर ३ लाख ५० हजार ३ सय ७१ जना मतदाताले मतदान गर्दैछन्।
जिल्लाका ८१ वटा वडासँगै कारागारहरूमा पनि मतदान केन्द्र राखिएको छ। यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको छ। नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको छ। नेपालगन्ज कारागारबाट १ सय ५७ जना, नौबस्ता कारागारबाट ४६ जना कैदी बन्दीले मतदान गर्नेछन्। पशु सेवा कार्यालय परिसरमा निजामती कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकमा मतदान गर्न पाउनेछन्।
जिल्लाका १ सय ३९ मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र राखिएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले यस पटक सबै मतदान केन्द्रहरू अशक्त, अपांगतामैत्री र ज्येष्ठ नागरिकमैत्री बनाइएको दाबी गरे।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:१४ बिहीबार





