बाँकेका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनावी माहोल अघिल्ला चुनावभन्दा फरक देखिन्छ। दशकौंदेखि नेपाली, कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को वर्चस्व रहेको बाँकेको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ तरंग ल्याएको छ। संगठनात्मक रूपमा कमजोर भए पनि ‘घण्टी’ चुनाव चिह्नप्रतिको आकर्षण, पुराना दलप्रतिको असन्तुष्टि र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देखाएको कार्यशैलीले बाँकेका ग्रामीण क्षेत्रसम्म प्रभाव छाडेको देखिन्छ।
यसपटकको चुनावी प्रतिस्पर्धामा रास्वपाको जित कतै सहज छैन तर पुराना दलका लागि भने यसले स्पष्ट ‘त्रास’ सिर्जना गरेको छ। बाँके क्षेत्र नम्बर १, २ र ३ तीनै क्षेत्रमा फरक–फरक जातीय, भौगोलिक र राजनीतिक समीकरणबिच रास्वपा निर्णायक शक्ति बन्दै गएको छ। सामाजिक सञ्जाल देखिएको एउटा भिडियोमा बाँके क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सूर्य ढकालले व्यक्त गरेको असन्तुष्टि अहिलेको चुनावी मनोविज्ञानको प्रतिनिधि उदाहरण बनेको छ। उनले सामाजिक सञ्जालमा देखिने ‘घण्टी’ प्रतीकलाई फेक आइडीको परिणाम भन्दै उम्मेदवारको वास्तविक प्रोफाइल नखुल्ने दाबी गरेका छन्।
तर राजनीतिक विश्लेषकका अनुसार यो अभिव्यक्ति नै पुराना दलहरू कति दबाबमा छन् भन्ने संकेत हो। अहिल्यै धेरै मतदाता उम्मेदवार को हुन् भन्ने भन्दा पनि ‘कुन दललाई मत नदिने’ भन्ने निर्णयमा पुगेका छन्। कतिपय मतदाता खुलेआम भन्छन्, ‘उम्मेदवार चिन्दैनौं तर घण्टीबाहेक अन्त मत दिँदैनौं।’ यो मनोविज्ञानको केन्द्रमा बालेन र रवि लामिछाने ‘फ्याक्टर’ छ। काठमाडौं महानगरपालिकामा बालेनले गरेका काम, सार्वजनिक स्थलको व्यवस्थापन, अनधिकृत संरचना हटाउने साहस र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवादले राजधानी बाहिर पनि गहिरो प्रभाव छाडेको छ। बाँकेका ग्रामीण क्षेत्रका मतदातासमेत ‘बालेनजस्तै नेतृत्व’ खोजिरहेका देखिन्छन्।
बाँके–१
बाँके क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुरेशकुमार चौधरी छन्। उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए र तेस्रो स्थानमा रहँदै ११ हजार ४६५ मत ल्याएका थिए। त्यतिबेला विजेता सूर्य ढकालले २५ हजार २६ मत प्राप्त गरेका थिए। यसपटक चौधरी रास्वपाबाट चुनावी मैदानमा छन्।
पार्टी फेरिए पनि उनको पुरानो मताधार, थपिएको रास्वपाको ब्रान्ड र बालेन फ्याक्टरले उनलाई अघिल्लोपटकभन्दा बलियो बनाएको छ। यद्यपि एमालेका सूर्य ढकाल कमजोर उम्मेदवार होइनन्। उनी संगठन, स्रोत र अनुभवका हिसाबले बलिया छन्। नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेको नारायण गौडेल पनि बलिया उम्मेदवार हुन् तर कांग्रेसभित्रको पछिल्लो मनमुटावले उनलाई केही चुनौती थपेको छ।
कोहलपुर क्षेत्र यस निर्वाचन क्षेत्रको निर्णायक भूगोल मानिन्छ। यहाँ विभिन्न जिल्लाबाट आएका बसाइँसराइकर्ताको बसोबास छ, जसले ‘मिक्स मत’ सिर्जना गर्छ। अघिल्ला चुनावमा एमाले बलियो देखिए पनि यसपटक मतदातामा ‘मत बदल्ने’ सोच बढ्दो छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, ‘क्षेत्र नम्बर १ मा रास्वपाको जित असम्भव होइन तर एमाले र कांग्रेसको संगठित मत तोड्न कठिन छ। यही कारण यो क्षेत्रलाई ‘कडा प्रतिस्पर्धा’ हुने क्षेत्रका रूपमा हेरिएको छ।
बाँके-२
बाँके क्षेत्र नम्बर २ मा मधेसी मत निर्णायक भूमिका खेल्ने गर्छ। यही कारण यहाँको चुनावी समीकरण अरू क्षेत्रभन्दा फरक र जटिल छ। एमालेबाट मोहम्मद इस्तियाक राई उम्मेदवार छन्। उनी मधेसी समुदायका बलिया खम्बा मानिन्छन् र व्यक्तिगत प्रभाव पनि राम्रो छ। यता अर्का उम्मेदवार कमरुद्दीन राई नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन्। स्थानीय तहमा काम गरेको अनुभव र परिचय उनको मुख्य बल हो।
नेपाली कांग्रेसले यसपटक युवामाझ लोकप्रिय, विवादरहित र अपेक्षित उम्मेदवार अघि सारेको छ। सुधांशु कोइरालाको उम्मेदवारीले कांग्रेसलाई पनि प्रतिस्पर्धामा मजबुत बनाएको छ। यस क्षेत्रमा नेकपाका दीपेन्द्र विष्ट पनि युवा उम्मेदवारका रूपमा उभिएका छन्। युवा मत विभिन्न धारमा बाँडिन सक्ने सम्भावना यहाँ प्रबल छ।
रास्वपाबाट विवेककुमार श्रेष्ठ चुनावी मैदानमा छन्। रास्वपाको कुरा गर्दा यहाँ उसको जित सम्भावनालाई पूर्ण रूपमा इन्कार गर्न सकिँदैन तर मधेसी मत तत्काल परिवर्तन हुने खालको नभएकाले रास्वपाका लागि यो क्षेत्र ‘फलामको चिउरा चपाउनु’सरह कठिन देखिन्छ। यद्यपि पुराना दलप्रति बढ्दो वितृष्णा र युवा मतदाताको असन्तुष्टिले अन्तिम समयमा समीकरण बदलिन सक्ने आकलन पनि गरिएको छ।
बाँके–३
तीनमध्ये बाँके क्षेत्र नम्बर ३ लाई रास्वपाको सबैभन्दा बलियो क्षेत्र मानिएको छ। यहाँ रास्वपाका उम्मेदवार खगेन्द्र सुनार चुनावी प्रतिस्पर्धामा छन्। उनी दलित अभियन्ता हुन् र लामो समयदेखि दलित अधिकारका मुद्दामा सक्रिय छन्। अहिलेसम्मको आन्तरिक आकलन र बाहिरी चर्चालाई आधार मान्दा ‘खगेन्द्रको जित सुनिश्चित छ’ भन्ने आवाज बलियो छ तर चुनाव अनिश्चितताको खेल भएकाले यसलाई अन्तिम सत्य मान्न सकिँदैन। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुन र एमालेका सुमन मल्ल हुन्। अघिल्लो निर्वाचनमा यही क्षेत्र कांग्रेसले जितेको थियो, जसले कांग्रेसलाई पनि कमजोर मान्न सकिँदैन। खगेन्द्र सुनारको उम्मेदवारी बलियो हुनुको पछाडि तीन प्रमुख आधार देखिन्छन्।
पहिलो, एमालेभित्रको आन्तरिक असन्तुष्टि। स्थानीय तहमा पालिका अध्यक्ष हारेका व्यक्तिलाई पुनः प्रतिनिधिसभा उम्मेदवार बनाइएको भन्दै एमालेभित्र असन्तोष छ। दलबहादुर सुनारलाई उम्मेदवार बनाउने टुंगो भए पनि अन्तिम समयमा ‘हेडक्वार्टर’ बाट सिधै सुमन मल्लको नाम आएको थियो। जिल्लाबाट दलबहादुरको नाम एकल सिफारिस भएको भए पनि टिकट चोर झ्यालबाट आएको आरोप एमालेकै कार्यकर्ताबाट उठेको छ। यसले एमालेको मत एक ढिक्का नहुने सम्भावना बढाएको छ।
दोस्रो, दलित मत निर्णायक हुनु। यो निर्वाचन क्षेत्रमा दलित मत निर्णायक मानिन्छ। खगेन्द्र स्वयं दलित मुद्दाबाट स्थापित भएकाले दलित समुदायको ठुलो हिस्सा उनको पक्षमा जाने अनुमान छ। टिकट खोसिएको आरोपपछि रुष्ट भएका एमालेका दलित मतसमेत खगेन्द्रतिर जोडिन सक्ने देखिन्छ। साथै यहाँ दैलेखी समुदायको बाहुल्य छ। खगेन्द्र दैलेखी भएकाले भेगीय मत पनि उनले तान्न सक्ने सम्भावना छ।
तेस्रो, रास्वपाप्रतिको बढ्दो आकर्षण। पुराना दलप्रतिको वितृष्णा, नयाँ अनुहारप्रतिको चाहना र बालेन्द्र शाहकोलोकप्रियताले खगेन्द्रको उम्मेदवारीलाई थप बल दिएको छ तर कमजोरी पनि छन्। रास्वपाको संगठित मत कमजोर छ। कांग्रेस र एमालेको सांगठनिक संरचना बलियो भएकाले अन्तिम समयमा उनीहरूको मत व्यवस्थापनले नतिजा उल्टिन पनि सक्छ।
२०७९ मा रास्वपाको मतपरिणाम
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकेमा अपेक्षाकृत कमजोर संगठन, सीमित प्रचार र नयाँ दलको परिचयमै चुनाव लड्यो। त्यतिबेला पार्टीप्रति मतदाताको भरोसा परीक्षणकै चरणमा थियो तर अहिले फर्केर हेर्दा २०७९ को मतपरिणामले बाँकेमा रास्वपाको ‘मौन आधार’ तयार भइसकेको स्पष्ट संकेत गर्छ। तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेख्य मत पाएको तथ्यांकले देखाउँछ कि पार्टीप्रतिको समर्थन आकस्मिक होइन, संरचनागत रूपमा बन्दै गएको थियो।
बाँके क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार आनन्दबाबु काफ्लेले प्रत्यक्षतर्फ १० हजार ७१ मत प्राप्त गरेका थिए। यो मत संख्या जितका लागि पर्याप्त थिएन तर नयाँ दलका उम्मेदवारका लागि सानो उपलब्धि पनि थिएन। यो क्षेत्र परम्परागत रूपमा एमाले र कांग्रेसको बलियो पकडमा रहेको क्षेत्र हो। यस्तो क्षेत्रमा कुनै संगठनात्मक जरा नभएको दलले १० हजारभन्दा बढी मत ल्याउनु आफैंमा असन्तुष्ट मतदाताको संख्या कति ठुलो छ भन्ने प्रमाण हो। समानुपातिकतर्फ आठ हजार र्ना सय ९२ मत आउनु झनै महत्त्वपूर्ण देखिन्छ। किनकि समानुपातिक मत सामान्यतः पार्टीप्रतिको समग्र धारणा झल्काउने सूचक मानिन्छ। प्रत्यक्षमा उम्मेदवार हेर्ने मतदाता पनि समानुपातिकमा पार्टी रोज्छन्।
यसैगरी बाँके क्षेत्र नम्बर २ मा रास्वपाको प्रत्यक्ष मत एक हजार ३३३ मा सीमित रह्यो। सतही रूपमा हेर्दा यो कमजोर प्रदर्शनजस्तो देखिए पनि यसको पृष्ठभूमि फरक छ। यो क्षेत्र मधेसी मत निर्णायक रहेको क्षेत्र हो, जहाँ परम्परागत दल र समुदाय आधारित राजनीतिले बलियो जरा गाडेको छ। नयाँ दलका उम्मेदवारलाई चिनाउने संरचना र समय दुवै अपुग हुँदा प्रत्यक्ष मत कम आउनु स्वाभाविक मानिन्छ।
तर समानुपातिकतर्फ चार हजार एक सय तीन मत आउनु अर्थपूर्ण छ। यसको अर्थ उम्मेदवार नचिने पनि हजारौं मतदाताले पार्टीको चुनाव चिह्न रोजेका थिए। यो ‘साइलन्ट भोट बैंक’ अहिलेको राजनीतिक माहोलमा विस्तार हुन सक्ने सम्भावना बोकेको छ विशेषगरी युवा र सहरी मतदाताबिच।
बाँके क्षेत्र नम्बर ३ मा रास्वपाको प्रदर्शन तुलनात्मक रूपमा सन्तुलित देखिन्छ। प्रत्यक्षतर्फ सात हजार चार सय ६७ र समानुपातिकतर्फ ६ हजार चार सय ७३ मत आएको छ। यो क्षेत्र दलित मत निर्णायक रहेको क्षेत्र हो र राजनीतिक रूपमा चेतनशील क्षेत्र मानिन्छ।
यहाँ रास्वपाले पाएको मतले देखाउँछ, दलित मुद्दा, सामाजिक न्याय र नयाँ राजनीतिक संस्कृतिको सन्देश केही हदसम्म स्थापित भइसकेको थियो। प्रत्यक्ष र समानुपातिक मतबिचको सानो अन्तरले उम्मेदवार र पार्टी दुवैलाई स्वीकार गरिएको संकेत गर्छ।
प्रकाशित: १० फाल्गुन २०८२ १२:२६ आइतबार





