प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ–आफ्नो जिल्लातर्फ जाने मतदाताको भीड बढेको छ।
निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बस सञ्चालन भएका छन्। यी दुई दिनमा मात्रै करिब ८० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पनि पछिल्लो दुई दिनमा करिब ८० हजार यात्रु बाहिरिएको पुष्टि गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा उपत्यकाका मुख्य बसपार्क तथा बाहिरी नाका क्षेत्रमा यात्रुको चाप बढेको छ। जिल्ला पुगेर मतदान गर्ने तयारीमा रहेका मतदाताका कारण लामो दूरीका सार्वजनिक सवारी साधनमा उल्लेख्य भीड देखिएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १६:३९ आइतबार





