नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ मा आगो लगाउनेहरू नै विभिन्न चुनाव चिह्न लिएर उम्मेदवार बनेको बताएका छन्।
उनले कसैको पनि नाम नलिई भदौ २३ र २४ मा हत्या र आगजनीका घटना भएकाले कयौँ आमाको काख रित्तिएको र थुप्रै घरबारविहीन भएपछि यो निर्वाचन हुन लागेको बताएका छन्। कांग्रेस कपिलवस्तुले गोरुसिंगेमा राखेको कार्यक्रममा सम्बोधन गर्दै उनले आगो लगाउनेहरू नै अहिले विभिन्न चुनाव चिह्न लिएर उम्मेदवार बनेको बताएका हुन्। उनले निर्धारित गरिएको समयभन्दा २ वर्षअघि नै संसदको चुनाव हुन लागेकाले अब यसको सदुपयोग हुनुपर्ने बताएका छन्।
सो अवसरमा थापाले २०७४ देखि २०८० सम्मको समय सरकार र प्रधानमन्त्री बनाउन र गिराउनमै लगाइएकाले खेर गएको बताएका छन्। उनले अब बन्ने सरकार र प्रतिनिधि सभाले ५ वर्षको समय खेर फाल्न नहुने बताएका छन्। उनले अबको ५ वर्ष काममा प्रमाणित गरेर देखाउनुपर्ने बताएका छन्। उनले विगतमा कांग्रेसले गरेको कमीकमजोरी स्वीकार गरेर सम्हालिएर गाडी दौडाउन आफू सक्षम रहेको दाबी गरेका छन्। उनले कयौँले गाडी दौडाएर र उडाएर लैजान चाहेको प्रति व्यङ्ग्य गर्दै आफूले गाडी दौडाए पनि दायाँबायाँ, उकालो ओरालो हेरेर अघि बढ्ने बताएका छन्। उनले मधेसी, मुस्लिम, दलित सबैलाई मिलाएर लैजाने बताएका छन्।
उनले आफूसँग विकास गर्न कुनै जादु नभए पनि इमानदारी, टिम वर्क र धैर्यले अघि बढ्ने क्षमता रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी उड्न चाहन्छौँ, जमिनलाई ठेस नलागी सम्हालिएर लैजान्छौँ।’ उनले वैशाखमा नयाँ सरकार बन्ने र हरेक महिना कामको प्रगतिको समीक्षा गरी अघि बढ्ने बताएका छन्। उनले कसैलाई पनि निराश नहुने गरी काम गर्ने बताएका छन्। उनले २०४६ पछिको सरकारमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताएका छन्। उनले पाँच वर्षका लागि नयाँ प्रयोग नगरी कांग्रेसलाई जिताउने गरी अघि बढ्नुपर्ने बताएका छन्।
सभापति थापाले चुपचाप बस्ने समय नभएको भन्दै रुखमै भोट हाल्ने किसिमको माहौल बनाउन कांग्रेस कार्यकर्ता घर-घरमै गएर सम्झाउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालको मात्र भर नपरी घरदैलोमै पुग्न आग्रह गरेका छन्। उनले पार्टीले निर्णय गरिसके पछाडि पार्टीको उम्मेदवार रुख चिह्नभन्दा बाहिर जाने कांग्रेस नरहने बताएका छन्। उनले अलमलमा नपर्न आग्रह गर्दै तलमाथि नहुने बताएका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ १७:३५ शुक्रबार





