देशभर प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ। उम्मेदवारहरू आआफ्ना एजेन्डा बोकेर घरदैलो अभियानमा सक्रिय देखिन्छन्। खेतबारीदेखि पसल–पसल र टोलटोलका घरआँगनसम्म पुगेर उम्मेदवारहरू मतदातासँग हात जोड्दै ‘यो गर्छु र त्यो गर्छु’ भन्दै भोट मागिरहेका छन्।
तर ललितपुर क्षेत्र नं १ अन्तर्गतको चापागाउँका स्थानीय बासिन्दाको मनोभाव भने उम्मेदवारहरूको भाषणजति उत्साहित देखिँदैन। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त देखिए पनि स्थानीय बासिन्दाको मुख्य चासो भाषणभन्दा व्यावहारिक समस्या र विगतको मूल्यांकनमा केन्द्रित छ।
चापागाउँका ७० वर्षीय एक वृद्ध स्थानीय सडक विस्तारको विषय उठाउँदै आक्रोश व्यक्त गर्छन्। ‘पटक–पटक चुनाव भए, उम्मेदवारहरू जितेर आए, तर आफ्नो क्षेत्रको वास्तविक विकास कहिल्यै भएन’, उनले भने, ‘कांग्रेस र एमालेलाई धेरै हेरियो, अब परिवर्तन चाहियो।’
उनका अनुसार हरेक निर्वाचनमा विकासका ठुलाठुला सपना देखाइन्छ, तर चुनाव सकिएपछि जनताका दुःख, आवश्यकता र समस्याप्रति कसैले फर्किएर हेर्दैन। अझै सडक, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत विषयहरूमा अझै ठोस परिवर्तन महसुस गर्नै नसकिएको उनले नागरिकसँग बताए।
‘यहाँका सडक नबन्नु नै विकास नहुनु हो। सडक दुवैतिर ११–११ मिटर छाड्नुपर्ने सरकारी मापदण्डका कारण धेरै स्थानीयको घर भत्किने अवस्थामा पुगेको छ तर अहिलेसम्म सरकारले कुनै मुआब्जा दिएको छैन’, चापागाउँस्थित बज्रवाराहीनजिकै आफ्नो व्यवसायमा व्यस्त रहेका अर्का स्थानीय वासिन्दा भन्छन्, ‘विकास हुन्छ भने घर भत्किन्छ, त्यसमा केही आपत्ति छैन तर क्षतिपूर्ति दिनुपर्यो।’
३० वर्षदेखि सत्ता र राजनीतिमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेहरू ललितपुर क्षेत्र नं १ र २ नै आधारभूत विकास गर्न असफल भएको उनको गुनासो छ।
‘धेरै भ्रष्टाचार, बढ्दो महँगी र नेताहरूको स्वार्थी प्रवृत्तिले जनता निराश बनेको हो, ‘स्थानीय हरि गोपाल श्रेष्ठ भन्छन्, ‘चुनाव आउँछ, नेता आउँछन्, जितेर जान्छन् अनि आफूहरूले राखेका एजेन्डा नै बिर्सन्छन्।’
उनका अनुसार चापागाउँको सडक विस्तार सरकारले चाहेको खण्डमा सम्भव छ। सरकारले मुआब्जा दिने हो भने सडक बन्न सक्छ, तर नेताहरूमा इच्छाशक्ति नै नदेखिएको उनको गुनासो छ।
उनी भन्छन्, ‘चापागाउँ दोबाटोमाथि सम्पाङचोकदेखि चारपांग्रे सवारीसाधन दोहोरो चल्नै गाह्रो छ। चापागाउँको यो सानो बाटोमा झन् ढलान गरेर के बिजोक गरेको हो खै? सडक विस्तार भनेको छ, तर, ढल र खानेपानी व्यवस्थापनसमेत अव्यवस्थित छ। अब बर्खा आउँदै छ अहिल्यैदेखि पिर पर्न थालिसक्यो।’ बर्खामा सडकमा ढल बगेर घरभित्र छिर्ने चिन्ताले उनलाई अहिल्यैदेखि नै चिन्तित तुल्याएको छ।
सडकको बिचमै पाइप गाडिएको र भविष्यमा बिग्रिएमा कसरी मर्मत गर्ने भन्ने विषयमा कुनै प्राविधिक योजना नदेखिएको उनको आरोप छ।
यसपटकको चुनावमा चापागाउँमा परिवर्तनको चाहना स्पष्ट देखिन्छ। अधिकांश स्थानीयले ‘घण्टी’ चुनाव चिन्ह बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिने बताएका छन्। ‘पुरानालाई पटकपटक मौका दिइयो, अब नयाँलाई एकचोटि मौका दिनुपर्छ’, स्थानीय पुष्प कर्माचार्यले खुला रूपमा आफ्नो रोजाइ बताए।
स्थानीय व्यापारी भने अलि सतर्क देखिन्छन्। एक व्यापारी भन्छन्, ‘अहिले त सबै आआफ्नो काममा व्यस्त छन्। भोट हाल्ने बेला मात्रै निर्णय हुन्छ। तर युवा र नयाँ अनुहारको चर्चाचाहिँ धेरै सुनिन थालेको छ।’
ती स्थानीय व्यापारीले थपे, ‘अहिले धेरै मानिस खुलेर बोल्न डराउँछन्। पुराना पार्टीमा आफ्नै मान्छे छन्। त्यसैले मुख खोल्न गाह्रो छ, तर भित्रभित्रै परिवर्तन चाहनेहरू धेरै छन्।’ विकासका अधुरा सपना, मुआब्जाविहीन सडक विस्तार र नेताप्रतिको गहिरो असन्तुष्टिले ललितपुर क्षेत्र नं १ का बासिन्दाको चुनावी मनोविज्ञान बदलिँदै गएको छ। यस पटक यहाँका मतदाताले ‘पुरानो अभ्यास’ होइन, ‘नयाँ विकल्प’ रोज्ने संकेत स्पष्ट देखिन थालेको छ।
घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिए पनि प्रारम्भिक चरणमै स्थानीयको यस्तो असन्तुष्टि सतहमा आउनुले यस क्षेत्रको चुनावी समीकरण फरक हुन सक्ने संकेत गरेको छ। यसपटक ललितपुर क्षेत्र नं १ का मतदाता ‘भाषण होइन, काम चाहियो’ भन्ने स्पष्ट सन्देशसहित चुनावी मैदान नियालिरहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं १ मा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कुल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्; जसमा कांग्रेसका तर्फबाट उदयशमशेर राणा, एमालेबाट चेतनाथ सन्जेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुनिल महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सजिना कार्की, नेकपा माओवादीका विपिन घिमिरेलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।
ललितपुर क्षेत्र नं १ मा ३८ हजार आठ सय ९७ महिला र ३८ हजार आठ सय ४० पुरुष गरी जम्मा ७७ हजार सात सय ३७ मतदाता रहेका छन्।
आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कुल दुई लाख ६९ हजार दुई सय ५६ मतदाता रहेका छन्; जसमध्ये एक लाख ३१ हजार पाँच सय ४९ महिला र एक लाख ३७ हजार सात सय सात जना पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ ०९:१४ शुक्रबार





