क्षमता र सही काम गर्न सक्ने भए पनि जातीय विभेदकै कारण दलित समुदायको नेतृत्व समाजले सजिलै स्वीकार्दैन तर यो चुनौतीको बीचमा विभिन्न दलबाट आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपालभरमा ६ दलित उम्मेदवार मैदानमा उत्रिएका छन्।
उनीहरू हुन् नेपाली कांग्रेसका प्रकाश सुनार स्नेही बझाङबाट, डडेल्धुराबाट एमालेका चक्रप्रसाद रसाइली स्नेही, बर्दिया क्षेत्र नम्वर २ बाट एमालेकी विमला विक, नेपाली कम्युनिष्ट पाटीका पदम विश्वकर्मा स्याङजा २ बाट र नेपाली कम्युनिष्ट पाटीकै मानबहादुर सुनार कन्चनपुर ३ बाट छन् भने बाँके क्षेत्र नम्वर ३ बाट राष्ट्रिय स्वतन्त्र पाटीका खगेन्द्र सुनार हुन्।
नेपाली कांग्रेसको सहमहामन्त्री समेत रहेका प्रकाश रसाइली स्नेही अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक विजेता हुन्। आसन्त निर्वाचनमा मुख्य प्रतिस्पर्धीहरू एमालेका ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका मीनबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पाटीका शैलेन्द्रकुमार सिहं हुन्। स्नेकी केन्द्रीय स्तरको चर्चित नेता तथा पूर्व सांसदको भूमिका यो निर्वाचनमा विजय हासिल गर्ने रहेको नेपाली कांग्रेसका नेता मन्जित ताम्राकार बताउँछन्।
यो क्षेत्रमा यसअघि नेकपा समाजवादीले विजय हासिल गरेको भए पनि यो जिल्लामा २० प्रतिशत मत दलित समुदायको रहेकाले स्नेहीका लागि विजय मतको आधार रहेको ताम्राकार बताउँछन्।
डडेल्धुराबाट प्रत्यक्षमा भिडेका दलित समुदायका नेता चक्र रसाइली स्नेहीको मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका नैनसिहं महर र नेपाली कम्युनिष्ट पाटीका मालसिंह माल र राष्ट्रिय प्रजातन्त्र पाटीका तारा जोशी छन्।
यसअघि नेपाली कांग्रेसका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि निरन्तर जीत हासिल गरेको जिल्ला पनि हो।
यो हिसावले स्नेहीको आकांक्षा भारी भए पनि अहिलेको बदलिंदो परिस्थतिले जित्ने आकलन उनले गरेका छन्। उनी भन्छन,‘ पहिले र अहिलेको परिस्थति फरक छ,जित्ने कुरामा दुइ मत छैन’ सानैदेखि राजनीतिमा होमिएर जनताको टोलटोलमा पुगेको र २०७५ मा राष्ट्रिय सभाको सांसद समेत बनेकाले जीतको आधार भएको स्नेही बताउँछन्। दलित समुदायको जनसंख्या धेरै रहेको जिल्ला भएकाले पनि उनले जित्ने आधार देखेको एमालेकै एक नेता बताउँछन्।
त्यसैगरी बर्दिया क्षेत्र नम्वर दुई बाट एमालेबाटै प्रत्यक्षमा भिडेकी हुन् विमला विक। उनको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकै नेता किशोर सिंह राठौर छन्। राठौरले यसअघि बाँके ३ बाट विजय हासिल गरेका थिए। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाल उन्मुक्ति पाटीका लालविर चौधरीले विजयी भएका थिए। समाजसँग भिजेर काम गरेको, यसअघि समानुपातिक सांसद भइसकेको र गाउँसमाजमै पुगेर जनताको पीरमर्कामा सहयोगी बनेकीले विकको जीतको सम्भावना देखिएको उनको निजी सचिवालयले जनाएको छ।
नेपाली कम्युनिष्ट पाटीबाट प्रत्यक्ष उम्मेदवार हुन् पदम विश्वकर्मा। विश्वकर्मा लामो समयदेखि माओवादी पाटीको राजनीतिमा सक्रिय छन्। उनको प्रतिस्पर्धी नेकपा एमालेका खिमबहादुर थापा र नेपाली कांग्रेसका भागवत प्रकाश मल्ल हुन्।
एमालेका खिमबहादुर थापा यस अघि दुई पटक गाउँपालिका अध्यक्ष विजय हासिल गरिसकेका हुन् भने नेपाली कांग्रेसका भागवत मल्ल प्रदेश सभाको सांसद बनिसकेका छन्। यी तीन जनाबाहेक अन्य दलका उल्लेखनीय प्रतिस्पर्धी नभएको नेपाली कम्युनिष्ट पाटीका उम्मेदवार पदम विश्वकर्मा बताउँछन्। यी दुई कडा भारी प्रतिस्पर्धीको वीचमा आफ्नो विजय हुने सम्भावना देखिएको विश्वकर्मा दावी गर्छन्।
विप्लव पार्टीले आफ्नो उम्मेदवार हटाएर नेपाली कम्युनिष्ट पाटी र स्वतन्त्र उम्मेदवारको रोजाइमा परेको र दलित समुदायको बसोवबास बढी भएको क्षेत्र भएकाले पनि दलितकै मतले आफ्नो विजयको आधार बनेको विश्वकर्मा बताउँछन्। ‘यो क्षेत्र दलित समुदायको बसोबास धेरै छ, उनीहरूको मतले खास महत्त्व राख्छ’ उनले भने।
कन्चनपुर क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा प्रत्यक्षकै मैदानमा भिडिरहेका छन् नेपाली कम्युनिष्ट पाटीका मानबहादुर सुनार। उनको मुख्य प्रतिस्पर्धी एमालेका दीपकप्रकाश भट्ट र नेपाली कांग्रेसका हरिप्रसाद बोहरा र नेकपा एमालेका दीपकप्रसाद भट्ट छन्। यो क्षेत्रमा २०७९ मा नेपाली कांग्रेसका नेता रमेश लेखकले भारी मतले विजय हासिल गरेका थिए।
लेखकसँग पराजित भएकी एमालेकी उम्मेदवार निरुपादेवी पालले उल्लेखनीय मत प्राप्त गरेकी थिइन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीबाट ज्ञानेन्द्र महता पनि प्रतिस्पर्धा छन्। यी तीन गैरदलित उम्मेदवारको वीचमा सुनार एकल दलित हुन्। यसअघिको निर्वाचमा माओवादीले उल्लेखनीय मत हासिल गरेको देखिंदैन तर दलित समुदायको बाक्लो वस्ती भएको दोधारा–चाँदनी वस्तीहरू यही क्षेत्रभित्र रहेकाले यो मत र लेखकभन्दा कमजोर उम्मेदवार नेपाली कांग्रेसबाट उठेको कारण सुनारले विजय हासिल गर्ने सम्भावना देखिएको नेपाली कम्युनिष्ट पाटीका नेता गणेश विके बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हुन् खगेन्द्र सुनार। उनी बाँके क्षेत्र नम्वर ३ बाट मैदानमा उत्रिएका हुन्। पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार बनेका सुनारको मुख्य प्रतिस्पर्धी भने नेपाली नेपाली कांग्रेसका अमरसिंह पुन र नेकपा एमालेका सुमन मल्ल देखिएका छन्।
अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका सिहं राठौरले विजय हासिल गरेका थिए तर यो क्षेत्रमा पनि १२ देखि १३ प्रतिशत दलित समुदायकै मत आफूतिर आउने आशा सुनारमा रहेको आकलन स्थानीयवासीले गरेका छन्। राष्ट्रिय स्वतन्त्र पाटीको कार्यनीति र देशभरि बढ्दै गएको माहोलको कारण सुनारले विजय हासिल गर्ने सम्भावना बढेको सुनारका स्वकीय सचिव अर्जुन घिमिरले बताए।
प्रकाशित: १५ फाल्गुन २०८२ ११:५२ शुक्रबार





