प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। निर्वाचन आयोगले सोमबारदेखि प्रचारप्रसार खुला गरेपछि धनुषा–२ का उम्मेदवारलाई पनि चुनावी कार्यक्रम गर्न र मतदाता भेट्न भ्याइनभ्याइ छ। उम्मेदवारले घरदेखि खेतसम्मै पुगेर मतदाता रिझाउन खोजिरहेका छन्। यो क्षेत्रमा स्वतन्त्र २४ सहित ३४ उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसबाट दिनेशप्रसाद यादव (परसैला), नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रामचन्द्र झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामविनोद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पशुपति यादव, जनमत पार्टीबाट सुरेन्द्रप्रसाद यादव उम्मेदवार छन्। एमालेका अरगरिया र नेकपाका झा विगतमा निर्वाचित भई मन्त्रीसमेत बनेका छन्। कांग्रेसका परसैला दोस्रो संविधानसभाका सदस्य हुन्। यीबाहेक अरु नयाँ अनुहार प्रतिस्पर्धामा छन्।
२०७९ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित एमाले उम्मेदवार अरगरिया यसपालि जित निकाल्ने दाउमा छन्। परसैला पनि यस क्षेत्रमा कांग्रेसको विरासत जोगाइराख्ने रणनीतिमा छन्। नेकपाका उम्मेदवार झा पनि जित हात पारेर आफूलाई पुनस्र्थापित गर्न जोडबलका साथ लागिपरेका छन्। उनी २०४८ सालमा प्रजातन्त्र बहाली भएपछि निरन्तर उम्मेदवार बन्दै आएका छन्। यस पटक उनको चुनावी प्रतिस्पर्धा आठौं हो। २०५१ सालमा उनी कांग्रेसका शिवधारी यादवलाई पराजित गरी निर्वाचित भएका थिए। त्यसपछि पहिलो संविधानसभा सदस्यमा उनी पुनः निर्वाचित भए। बाँकी पाँच पटक उनी पराजित भए। रास्वपाका उम्मेदवार रामविनोद पनि पुरानालाई चुनौती दिँदै आफूलाई स्थापित गर्न प्रयासरत छन्। जसपाका पशुपतिले पनि तत्कालीन संघीय समाजवादीको क्षेत्र भएकाले त्यसलाई जोगाउन कसरत गरिरहेका छन्।
एमाले उम्मेदवार अरगरियाले २०७४ सालमा जितेर गरेको विकासलाई आधार बनाई मत मागिरहेका छन्। उनी आफ्नो जित हुनेमा विश्वस्त छन्। देशमा बढिरहेको दण्डहीनतालाई न्यूनीकरण गर्न पनि आफूले जित्नैपर्ने उनको तर्क छ। मतदाताले सबैको मूल्यांकन गर्दा उत्तम उम्मेदवारको श्रेणीमा आफू पर्ने उनको दाबी छ। ‘विगतमा विकासको काम, जनतालाई साथ लिएर गरेको छु,’ उनले भने, ‘मतदाताले पनि सबै उम्मेदवारको मूल्यांकन गर्दा उत्तम स्थानमा आफूलाई पाइरहेको छु।’ इमानदार नेतृत्वलाई यसपालि जनताले कदर गर्ने उनको भनाइ छ।
अरगरिया २०७९ मा कांग्रेसका रामकृष्ण यादवबाट पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा अरगरिया उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भई निर्वाचित भएका थिए। उनले त्यसबेला कांग्रेसका रामकृष्णलाई पराजित गरेका थिए। अरगरिया पछिल्लो चार वटा निर्वाचनमा चार वटा पार्टी परिवर्तन गरेमन छन्। उनी एमालेबाट दोस्रो पटक उम्मेदवार बनेका हुन्। २०७० को निर्वाचनमा उनी तत्कालीन निर्वाचन क्षेत्र नम्बर १ मा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए। २०७४ सालको चुनाव हुनुभन्दा केही दिन पहिले मात्रै उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए। त्यो चुनावमा उनी ३२ हजारभन्दा बढी मत ल्याएर विजयी भएका थिए। त्यसपछि उपेन्द्र नेतृत्वको पार्टी र महन्थ ठाकुर नेतृत्वको राजपाबिच एकीकरण भयो। डेढ वर्षभित्रै यी पार्टी पुनः टुक्रिए। त्यसपछि अरगरियाले लोसपा रोजेका थिए। लोसपाबाट उनी १९ दिन मन्त्री पनि बनेका थिए। तर २०७९ को निर्वाचनमा उनी लोसपा त्यागेर एमाले प्रवेशका थिए।
कांग्रेस उम्मेदवार परसैला तत्कालीन धनुषा–१ बाट दोस्रो संविधानसभामा निर्वाचित भएका थिए। कांग्रेसका परसैलाले पनि संविधान निर्माण खेलेको भूमिकादेखि यो क्षेत्रमा गरेको विकासका कामका आधारमा मत मागिरहेका छन्। यसपालि कृषिमा आधारित भएर घोषणापत्र बनाएको र सोही अधारमा मत मागिरहेको उनले बताए। यस क्षेत्रको समस्या समाधान गर्न आफू पदमा रहँदा/नरहँदा सदैव काम गरेको उनको भनाइ छ। जनता कांग्रेसप्रति उत्साहित देखिएको र विकासप्रेमी आफूलाई छान्ने उनको दाबी छ। विद्युतीकरण, सडक र सिँचाइमा विगतमा काम गरेको र ती कामलाई पूरा गर्न पुनः जित्नुपर्ने उनको तर्क छ।
नेकपाका झाले जनतासँगको सम्बन्धको कारण आफ्नो जित हुने बताए। विगत अढाइ वर्षमा विभिन्न कार्यक्रम गरी सात हजार नयाँ कार्यकर्ता पार्टीमा भित्र्याएको हुनाले आफू अब्बल उम्मेदवार भएको दाबी उनको छ। ‘मेरो सबल पक्ष भनेकै म सधैं जनतासँग जोडिएको व्यक्ति हुँ। यसपालि म आठौं पटक उम्मेदवार बनेको छु,’ उनले भने, ‘हरेक पटक सम्मानजनक मत प्राप्त गरेको छु तर जनताले विगतमा गरेको गल्ती अब दोहोर्याउने छैनन्। म योग्य उम्मेदवार हुँ।’
जनमतका सुरेन्द्रले स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले जित्नुपर्ने बताए। देशमै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न योग्य उम्मेदवार रहेको उनको दाबी छ। ‘प्लास्टिक सर्जरीमा पिएचडी गरे तर त्यसले बृहत् रूपमा जनताको हित गर्न नसकिने होला भनेर राजनीतिमा आएको छु,’ उनले भने, ‘अब जनताको मर्मअनुसार काम गर्नेछु।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका थिए। उनले २२ हजार ११२ मत ल्याएर अरगरियालाई पराजित गरेका थिए। निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत ल्याएका थिए। तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका झाले १३ हजार ६०५, जसपाका आन्नद यादवले १२ हजार ९०१, जनमतका जयनारायण साहले नौ हजार ९९२ र रास्वपाका चनशेखर कुमार यादवले २४६ मत पाएका थिए।
यो निर्वाचन क्षेत्रमा सात वटा स्थानीय तहका ४४ वटा वडा पर्छन्। २०७९ को स्थानीय निर्वाचनको परिणामले कांग्रेस अंक गणितमा बलियो देखिन्छ। यहाँका १९ वटा वडामा कांग्रेसले जितेको छ। एमाले र जसपाले पाँच/पाँच वटा वडामा जितेका छन्। तत्कालीन माओवादी केन्द्र सात, तत्कालीन नेकपा एकीकृत समाजवादी तीन, तत्कालीन लोसपाले दुई र नेपाल जनता पार्टीले एक वटा वडामा जितेका छन्। हंसपुर नगरपालिकाका चार वटा वडा यस निर्वाचन क्षेत्रमा पर्छन्। कांग्रेसले प्रमुख/उपप्रमुखसहित यस क्षेत्रमा पर्ने वडा नम्बर ९ जितेको छ। जसपा र तत्कालीन लोसपाबिच अहिले एकीकरण भइसकेको छ। यी पार्टीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन्।
सहिदनगर नगरपालिकाको सबै वडा यसै निर्वाचन क्षेत्रमा पर्छन्। नौ वटा वडा रहेको यहाँ कांग्रेसले उपप्रमुखसहित पाँच वटा वडामा जितेको छ। जसपाले प्रमुखसहित दुई वटा वडा र माओवादी केन्द्रले दुई वटा वडामा जित निकालेका छन्। औरही गाउँपालिकामा प्रमुख/उपप्रमुख एमालेले जितेको छ। ६ वटा वडा रहेको यहाँ चार वटामा कांग्रेस र दुई वटामा जसपाले जितेका छन्।
कमला नगरपालिकामा प्रमुख/उपप्रमुखसहित चार वटा वडा कांग्रेसले जितेको छ। दुई वटा वडामा माओवादी केन्द्रले जित निकाल्दा एकीकृत समाजवादी, लोसपा र नेपाल जनता पार्टीले एक/एक वडा जितेका छन्। विदेह नगरपालिकाको आठ वटा वडा यस क्षेत्रमा पर्छन्। यहाँ पालिका प्रमुख/उपप्रमुखसहित चार वटा वडामा एमाले जनप्रतिनिधि छन्। दुई वटा वडा कांग्रेसले जित्दा माओवादी केन्द्र र एकीकृत समाजवादी एक/एक वडामा जित निकाल्न सफल भएका छन्।
जनकनन्दनी गाउँपालिका प्रमुखसहित दुई वटा वडा जसपा, उपप्रमुखसहित तीन वटा वडा कांग्रेस र एक वटा वडा एकीकृत समाजवादीले जितेका छन्। जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ मात्रै पर्छन्। १७ मा माओवादी केन्द्र र १८ मा एमालेले जितेका छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ २१:०३ मंगलबार





