नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजनसमेत सार्वजनिक गरिएको हो ।
भिजनमा पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ । जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ।
यसका साथै, विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प प्रस्तावमा गरिएको छ।
भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने सभापति गगन थापाले दाबी गरे। आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ।
यस्ता छन् १० भिजन
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्किने नेपाल
प्रकाशित: ६ फाल्गुन २०८२ १७:०८ बुधबार




