coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

दलका उम्मेदवारमाथि बागी हाबी

नेपाली कांग्रेसका नेता प्रह्लादकुमार क्षेत्री वैशाख १२ गते महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा उम्मेदवारी दिन निर्वाचन अधिकृतको कार्यालय पुगे। पार्टीले प्रमुखमा उम्मेदवारी दिन दिएको पत्रसहित क्षेत्रीले उम्मेदवारी मनोनयनपत्र दर्ता गराए।

तर क्षेत्रीसँगै पार्टीका अर्का नेता चिरञ्जीवी हमाल पनि त्यस्तै पत्रसहित मनोननय दर्ता गराउन पुगे। एउटै पार्टीका नाममा उस्तै पत्र लिएर दुई जना प्रमुख पदमा मनोनयन दर्ता गराउन पुगेपछि निर्वाचन आयोगको कार्यालय अलमलमा पर्‍यो। हमाल र क्षेत्रीमध्ये कांग्रेसको आधिकारिक उम्मेदवार को हो? केही समयपछि कांग्रेसको आधिकारिक उम्मेदवार हमाल नै भएको जानकारीसहित पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्र बर्दिबास पुग्यो। हमालले पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराए। क्षेत्री बागीका रूपमा प्रमुखको प्रतिस्पर्धामा उत्रिए।

पार्टीको आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै चुनावी मैदानमा खडा भएका क्षेत्रीले उपप्रमुखमा आफ्नो टिमबाट तारा देवीलाई उठाए। कांग्रेसले उपप्रमुखमा अमिनाकुमारी महतोलाई अघि सारेको थियो। स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध उत्रिएका क्षेत्री र तारा दुवैले जनताको मनमात्र होइन, मत पनि जिते।

बर्दिबासका जनताले उनीहरूलाई पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व सुम्पिए। १४ हजार २ सय १० मतसहित क्षेत्री प्रमुखमा निर्वाचित हुँदा तारा ९ हजार ७ सय ३६ मतसहित उपप्रमुखको जिम्मेवारीमा पुगिन्। उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार राजु खड्का र कृष्णमाया गौतम बने। कांग्रेसका केन्द्रीय नेताको मन जितेका हमाल १ हजार २ सय ६३ र महतो १ हजार ७ सय ५८ मतमा सीमित भए।

स्थानीय तहको निर्वाचनमा ‘राम्रालाई होइन हाम्रा’ लाई टिकट दिने पार्टी निर्णयको विरोधमा उत्रिने क्षेत्री र तारा मात्र भने होइनन्, सरकारको नेतृत्व गरेको कांग्रेस केन्द्रले महानगर, उपमहानगरमा उम्मेदवार छनोट र सत्ता गठबन्धनमा रहेका दलहरूबीच गरेको भागबन्डाविरुद्ध भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले विद्रोह गरे। पौडेलजस्तै पार्टी निर्णय र उम्मेदवारविरुद्ध विद्रोह गर्ने नेताहरूको सूची लामो छ। महामन्त्री गगन थापाको गृह जिल्ला काठमाडौंको काठमाडौं महानगरपालिकाका वडाहरूमा उम्मेदवार छनोटमा पार्टीले सन्तुलन गुमाउँदा मतपरिणाम उलटफेर हुने देखिएको छ।

थापाकै संसदीय निर्वाचन क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिकामा कांग्रेस स्थानीय तहमा फेरि पराजित भएको छ। बुढानीलकण्ठजस्ता धेरे स्थानीय तहमा कांग्रेसका नेताहरूले राम्राभन्दा हाम्रालाई टिकट दिँदा चुनाव हार्नुपरेको छ। तर पार्टी निर्णयलाई चुनौती दिने मात्र होइन, आफ्नो पक्षमा जनमत प्रमाणित गर्ने नेताहरूको संख्या भने सीमित देखिएको छ।

पार्टीको निर्णय गलत भन्दै विद्रोह गर्ने अर्का नेता हुन् राजुसिंह कठायत। जुम्लाको एक मात्र नगरपालिका चन्दननाथको प्रमुख पदका आकांक्षी कठायत कांग्रेसबाट उम्मेदवार बन्न चाहन्थे। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि त्यहाँको नेतृत्वका लागि उनी आकांक्षी थिए। त्यसबेला पार्टीले टिकट नदिएपछि चुप लागेका कठायतले यसपटक भने विद्रोह गरे। 

कांग्रेसले पदमबहादुर शाहीलाई चन्दननाथको प्रमुखका लागि मैदानमा उतारेपछि त्यसविरुद्ध विद्रोह गर्दै मैदानमा उत्रिएका कठायतले प्रमुखमा जित निकाले। ६२ मतान्तरले पार्टीका आधिकारिक उम्मेदवारलाई पछि पार्दै उनी नगरप्रमुख बने। उनले २ हजार ४ सय ३ मत ल्याउँदा आधिकारिक उम्मेदवार शाहीले २ हजार ३ सय ४१ मत पाए। निर्माण व्यवसायीका रूपमा समेत लोकप्रियता कमाएका कठायत कांग्रेस महासमिति सदस्य त्याग्दै विद्रोहमा उत्रिएका थिए। चन्दननाथको उपप्रमुखमा कांग्रेसकी रामदेवी खड्का २ हजार ८ सय ७ मतसहित निर्वाचित भएकी छन्।

पार्टी निर्णयविरुद्ध चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्, प्रमुख प्रतिपक्षी एमाले, सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेता–कार्यकर्ता पनि छन्। पार्टीले उम्मेदवार बनाएकाप्रति सबै व्यक्ति सन्तुष्ट हुन नसक्नु अस्वाभाविक होइन तर जनमत एकातिर पार्टी निर्णय अर्कातिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई आगामी दिनमा सोच्न बाध्य पारेको हुनुपर्छ।

कालिकोटका कमलबहादुर शाहीले पनि पार्टीको निर्णयलाई चुनौती दिए। नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य एवं कालिकोट जिल्ला उपाध्यक्षसमेत रहेका शाहीले पार्टी निर्णयविपरीत खाँडाचक्र नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए। सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उनी २ हजार ९ सय १९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६ सय ९ मत ल्याए।

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथ कुलुङ राई र उपाध्यक्षमा अस्मिता कुलुङ राई निर्वाचित भएका छन्। एमाले जिल्ला नेता दौलथले पार्टीका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिए। माओवादी केन्द्रको समेत साथ लिएर अघि बढेका उनी एमालेका आधिकारिक उम्मेदवारभन्दा ५ सय बढी मतसहित निर्वाचित भएका हुन्। १ हजार ८ सय १४ मतसहित प्रमुखमा निर्वाचित उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार महेश राईले १७ सय ८६ मत पाए। एमालेका आधिकारिक उम्मेदवार शान्तिबहादुर अधिकारी १३ सय ८३ मतसहित तेस्रोमा सीमित भए। उपप्रमुखमा कांग्रेसकी अस्मिता कुलुङ राई १८ सय ६२ मतसहित निर्वाचित भइन्।

पार्टी निर्णय चित्त नबुझेपछि स्वतन्त्र उम्मेदवारी दिएका एमालेका सन्तोष प्रकाश जोशी बैतडीको डिलासैनी गाउँपालिका प्रमुखमा निर्वाचित भए। पार्टीले उम्मेदवार नबनाएपछि जोशीले चुनौती दिँदै प्रमुखमा उम्मेदवारी दिएका थिए। एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका अध्यक्षसमेत रहेका जोशीले पार्टी गाउँ कमिटीबाट अध्यक्षमा उकेन्द्र बोहरा, अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिस भएपछि त्यसविरुद्ध मोर्चा कसेका थिए। निर्वाचनमा उनी ३१ सय ८९ मत ल्याएर विजयी भए।

माओवादी केन्द्रको निर्णयविरुद्ध कालिकोट सान्नीत्रिवेणी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका मोहनबहादुर केसीले पनि जित निकाले। पार्टीका आधिकारिक उम्मेदवार डम्बरबहादुर शाहीलाई झन्डै ३ सय मतले पछि पार्दै केसी प्रमुखमा निर्वाचित भएका हुन्। उनले १ हजार ८ सय २२ मत ल्याउँदा शाहीले १ हजार ३ सय २५ मत पाए।

कांग्रेसले अनुशासनको कारबाही गरेका ज्ञानेन्द्र रुम्दाली पार्टीकै समर्थनमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। कांग्रेसको चुनाव चिह्न बाहिरबाट प्रतिस्पर्धा गरेका उनी ५ हजार २१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका रूपलाल तामाङले ३ हजार ८ सय १५ मत पाए।

पार्टीका शीर्ष नेताहरूको निर्णयलाई चुनौती दिँदै कांग्रेस नेता मनोजकुमार साह सुडीले जनकपुर उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए। सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै सुडीले मतगणनामा अग्रता कायम गर्दै आएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका सुडीलाई पछि पारेर लालकिशोर साह निर्वाचित भएका थिए। अहिलेसम्मको मतगणनामा साह चौथो नम्बरमा छन्। पहिला तत्कालीन राजपाबाट प्रमुखमा निर्वाचित भएका साह अहिले जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन्।

त्यस्तै डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङले माओवादीका उम्मेदवार तेम्वाले गुरुङलाई पराजित गरेका छन्। स्वतन्त्र उम्मेदवार कार्माले ५ सय ३५ मत पाउँदा माओवादीका उम्मेदवारले ३ सय २ मत ल्याए। हुम्लाको चंखेली गाउँपालिका पनि स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही १ हजार ६ सय ९५ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोविन्दबहादुर शाही १ हजार १ सय ७१ मतमा सीमित भए।

दलीय निर्णयविरुद्ध विद्रोह गर्ने यी प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूबाहेक उपप्रमुख, वडाध्यक्ष, सदस्यको परिणाम आफ्नो पक्षमा पार्ने प्रमुख दलसँग आबद्ध नेता तथा कार्यकर्ता पनि कम छैनन्। त्यति मात्र होइन, राजनीतिक दलका उम्मेदवारलाई नै चुनौती दिँदै स्वतन्त्र रूपमा मैदानमा खडा भएका धनगढी उपमहानगरपालिकामा गोपाल हमाल निर्वाचित भएका छन्।

यसै क्रममा धरान उपमहानगरपालिकामा हर्कराज राई निर्वाचित भएका छन् भने काठमाडौं महानगरपालिकामा बालेन्द्र साह जिततर्फ उन्मुख छन्। स्थानीय तह निर्वाचनमा साह, हमाल, हर्कराजले जस्तै २ हजार ४ सय २५ जनाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रमुखमा उम्मेदवारी दिएका थिए। त्यस्तै वडाध्यक्षमा ५ हजार ८ सय ९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ००:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App