७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

पर्साका १२ पालिकामा नयाँ अनुहार

एउटा महानगरपालिका, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिका भएको पर्सा जिल्लामा पुराना अनुहार अनुमोदन भएनन्। नतिजा आइसकेका १३ पालिकामध्ये १२ वटामा नयाँ प्रमुख चुनिएका छन्। गिन्ती जारी रहेको वीरगन्ज महानगरपालिकामा पनि नयाँ अनुहार नै करिब दोब्बरले अग्रस्थानमा छ।

पर्साका १४ मध्ये ५ मा नेकपा एमाले, ४ मा नेपाली कांग्रेस, ३ मा जसपा र १ मा लोसपाले पालिका प्रमुखमा जित हासिल गरेका छन्। शनिबार साँझसम्म वीरगन्ज महानगरपालिकाको १ देखि १० र २३ देखि ३२ सम्मको ५५ हजार १ सय १० मतगणना हुँदा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह २७ हजार ५ सय १५ मत ल्याएर झन्डै दोब्बरले अगाडि छन् भने एमालेका विजयकुमार सरावगीले १४ हजार २ सय २३ मत ल्याएका छन्।

निवर्तमान मेयर सरावगीलाई नयाँ अनुहार सिंहले चुनौती दिइरहेको पछिल्लो मतपरिणामले देखाएको छ। उपमेयरमा कांग्रेसका इम्तियाज आलमले १९ हजार ४९ मत ल्याएर अग्रता कायम राखेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाको मत ४ हजार २ सय ५१ मात्र छ।

पोखरिया नगरपालिका

जिल्लाको दोस्रो सदमुकामका रूपमा चिनिने पोखरिया नगरपालिकाको मेयरमा निवर्तमान मेयर दीपनारायणलाई हराउँदै एमालेका प्रधुम्न चौहान विजयी भएका छन्। ५ हजार ५ सय ५४ मत ल्याएर चौहान विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रौनियारको ३ हजार १ सय २१ मत रहेको छ। कर्मचारी नियुक्तिमा मिलेमतो र विकास निर्माणमा अपारदर्शिताका आरोप रौनियारका विरोधीहरूले लगाएका थिए।

अघिल्लो निर्वाचनमा नेपाली जनता दलबाट चुनाव लडेर ३ हजार २५ मत ल्याई जितेका तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार रहेका चौहानलाई २ सय ४३ मतले हराएका रौनियार यसपालि बलियो पार्टी रोजेर कांग्रेस प्रवेश गर्दा पनि सफल भएनन्। यहाँ उपमेयरमा पनि एमालेकै रुवीकुमारी ठाकुर ५ हजार १ सय ९५ मतका साथ विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनको ३ हजार ९ सय २९ मत छ।

पर्सागढी नगरपालिका

पर्सागढी नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै एमालेका गोकर्ण पाठक निर्वाचित भएका छन्। पाठकले ६ हजार ६ सय २४ मत पाएका छन् भने यादवको मत ३ हजार ७ सय ३३ छ। उपमेयरमा पनि एमालेकै पूजा चौधरी ७ हजार ६ सय १६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीलाई हराएकी छन्। अर्चनाको ३ हजार ४ सय ३० मत छ। निवर्तमान मेयर यादव कार्यकालको अन्तिम समयमा आर्थिक अपारदर्शिता र कर्मचारीसँग मनमुटावले बद्नाम भएका थिए।

बहुदरमाई नगरपालिका

बहुदरमाई नगरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का सिंगासन साह तेली निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेललाई ३४६ मतले पराजित गर्दै निर्वाचित भएका छन्। नवनिर्वाचित तेलीको ६ हजार ४ मत छ भने पटेलले ५६५८ मत पाएका छन्। निवर्तमान मेयर कांग्रेसका उम्मेदवार नितेन्द्र साह भने तेस्रो स्थानमा पुगेका छन्।

अघिल्लो पटक साह ३ हजार ४ सय ६१ मत ल्याएर निर्वाचित भएका थिए। उनले आफ्नो कार्यकालमा प्रतिनिधि सभा सदस्य विमलप्रसाद श्रीवास्तवको संसदीय क्षेत्र विकास कोषको बजेट पालिकामा कार्यान्वयन गर्न नदिएर आलोचित भएका थिए। त्यस्तै विद्यालय प्रशासनमा कमजोरी र खरिदमा अपारदर्शिता जस्तो विषय उनीविरुद्ध उठाइएका थिए। उपमेयरमा पनि एमालेकी उम्मेदवार सुष्माकुमारी कुशवाहा ६ हजार ४ सय ४० ल्याई विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सोनामती देवी यादवको ५ हजार ५ सय २५ मत छ।

विन्दवासनी गाउँपालिका

विन्दवासिनी गाउँपालिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमोद तिवारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक चौरसियालाई ६ सय ७३ मतान्तरले हराउँदै विजयी भएका छन्। जसपाका उम्मेदवार रहेका निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुलाई जनताले चौथो स्थानमा पु¥याएका छन्। अध्यक्षमा निर्वाचित लोसपाका तिवारीको मत ४ हजार १ सय ४१ छ भने निकटतम प्रतिद्वन्द्वी चौरसियाले ३ हजार ४ सय ६८ मत ल्याएका छन्। एमाले उम्मेदवार गम्भीरा साहले १ हजार ८ सय ८९ मत ल्याएका छन् भने निवर्तमान अध्यक्ष मोदी १ हजार २ सय ९२ मत मात्र पाएर चौथो स्थानमा रहे।

मोदीले पालिकासम्बन्धी सूचना लुकाउनमा भूमिका गरेको, खरिद तथा विकास निर्माणका काममा अपारदर्शिताजस्तो आरोप उनीमाथि प्रतिस्पर्धीले लगाए। गाउँपालिका उपाध्यक्षमा विजयी एमालेकी ज्योतिदेवी चौरसिया २ हजार ३ सय ६६ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सुनिता चौरसियाको २ हजार २ सय ८७ मत छ। निवर्तमान उपाध्यक्ष कांग्रेस उम्मेदवार किरण देवी गुप्तालाई पनि जनताले तेस्रो स्थानमा पुर्‍याए।

सखुवाप्रसौनी गाउँपालिका

सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार जसवन्त यादव निवर्तमान अध्यक्ष जसपाका उम्मेदवार प्रदीप जयसवाललाई हराउँदै निर्वाचित भएका छन्। गत निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले टिकट नदिएर एकजना स्थानीय व्यापारी जयसवाललाई दिएपछि पार्टीका चर्चित युवा नेता जसवन्त विद्रोह गरेर स्वतन्त्र चुनाव लडेर अध्यक्षमा ९ सय २४ मत ल्याउँदै चौथो स्थानमा थिए। केही समयपछि उनी एमाले पसे।

यसपालि ४ हजार ८ सय १० मत ल्याएका जयसवालभन्दा १ हजार ८ सय ३१ मत बढीले ६ हजार ६ सय ४१ ल्याई विजयी भएका छन्। सखुवा प्रसौनी गाउँपालिकाको उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष एमालेकी उम्मेदवार फूलमती कुमारी थरूनीलाई २ सय १२ मतले उछिन्दै ४ हजार ४ सय ६८ मत ल्याएर जसपाकी शर्मिला बिष्ट निर्वाचित भएकी छिन्।

जगरनाथपुर गाउँपालिका

जगरनाथपुर गाउँपालिका अध्यक्ष कांग्रेसका उम्मेदवार श्रीकान्त यादव निवर्तमान अध्यक्ष जालिम मियाका भाइ एवं एमाले उम्मेदवार महम्मद सलिम मन्सुरलाई १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले हराउँदै निर्वाचित भएका छन्। यादवले ५ हजार ७ सय ४९ मत पाउँदा मन्सुरको ३ हजार ९ सय २६ मत छ। अघिल्लो निर्वाचनमा मन्सुरका दाजु जालिमले ३ हजार ४१ मत ल्याई अध्यक्षमा निर्वाचित  हुँदा जसपाका कृष्णमोहन यादवको ३ हजार ३७ मत थियो। कांग्रेसबाटै उम्मेदवार रहेका यादव २ हजार ९ सय ८६ मत तेस्रो भएका थिए। यसपटक युवा नेता यादव निर्वाचित भए।

मन्सुरका दाजु निवर्तमान अध्यक्ष जालिमले पालिकाको बोर्डमा मनोमानी गरेको, गाउँपालिकाको साधन स्रोतको दुरूपयोग गरेको र अपारदर्शिता राखेको आरोप विरोधीले लगाएका थिए। गाउँपालिका उपाध्यक्ष पदमा कांग्रेसकै बविता सिंह ५ हजार ५ सय ३१ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरादेवी कुर्मीको ३ हजार ३ सय ४५ मत छ। यहाँ उपाध्यक्षमा उम्मेदवार रहेकी मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जसपा उम्मेदवार जलेखा खातुन भने ३ हजार १ सय २३ मात्र ल्याउन सकेर तेस्रो भएकी छन्।

पटेर्वासुगौली गाउँपालिका

पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष एवं एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई कांग्रेसका दिनेशकुमार चौधरी हराउँदै गाउँपालिका विजयी भएका छन्। निर्वाचित दिनेशको ५ हजार १ सय ४४ मत छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका हरिनारायणको ३ हजार ९ सय ४४ मत छ। अघिल्लो निर्वाचनमा २ हजार ९ सय ५७ मत ल्याएका हरिनारायणसँग ८२ मतको अन्तरले पछि परेका दिनेशले यसपटक १ हजार २ सय मतान्तरले माथ दिएका छन्।

हरिनारायणमाथि उपाध्यक्ष ममता महतोसँग चर्को विवाद, गाउँपालिकामा आसेपासेको वर्चश्व बनाइएको र अपारदर्शिताजस्ता आरोप विपक्षीले लगाएका थिए। यहाँ भने निवर्तमान उपाध्यक्ष नै पुनः निर्वाचित भएकी छन्। ममताको मत ४ हजार ४ सय ४४ छ भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्तुरा देवीले ४ हजार १३ मत पाएकी छन्।

पकाहामैनपुर गाउँपालिका

पकाहामैनपुर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियालाई पराजित गर्दै कांग्रेसका सुरेशप्रसाद मेहता अध्यक्ष निर्वाचित भएका छन्। मेहताले ४ हजार ६ सय ८५ मत पाएका छन् भने जसपाका चौरसिया भने २ हजार ५ सय २९ मतमा सीमित भए। निवर्तमान गाउँपालिका अध्यक्ष चौरसियाले आफ्नै पार्टीकी उपाध्यक्षसँग विवाद भएको आफन्त र इष्टमित्रलाई लाभ हुने गरी योजना कार्यान्वयन गरेको जस्ता आरोप उनीमाथि लाग्यो।

यसैकारण २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले हारे। उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४ हजार १ सय ४१ मत ल्याएर निर्वाचित भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी चौरसियाले १ हजार ८ सय ७२ मत ल्याएकी छन्।

कालिकामाई गाउँपालिका

कालिकामाई गाउँपालिकाको अध्यक्षमा जसपाका २१ वर्षीय युवा उम्मेदवार वशिष्ठकुमार गुप्ता कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छन्। गुप्ताले ३७४३ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कुर्मीले ३ हजार ६ सय २६ मात्रै मत पाए। निर्वाचित गुप्ताकी आमा ललसा देवी कलवार अघिल्लो निर्वाचनमा १ सय १९ मतको अन्तरले नेपाली जनता दलका नथुनीप्रसादसँग पराजित भएकी थिइन्।

गत कोरोना कालमा नथुनीको निधन भएपछि गाउँपालिका प्रमुख खाली थियो। प्रमुखको निधनपछि गाउँपालिकामा अस्वस्थ चलखेल बढाएका जनप्रतिनिधि पनि पराजित भएका छन्। यहाँ उपाध्यक्षमा भने कांग्रेसकी राजमती बरैनी ३ हजार ९ सय ८२ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३ हजार ८ सय ५९ मत पाएकी छन्।

जीराभवानी गाउँपालिका

जीराभवानी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अनोज चौधरीले गाउँपालिका अध्यक्ष एवं एमालेका उम्मेदवार रामपृत महतोलाई १२६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्। अनोजले ४ हजार ५ सय ६० मत पाएका छन् भने निवर्तमान अध्यक्ष महतोले ३ हजार २ सय ९९ मत ल्याएका छन्। बजेट वितरणमा काखापाखा गरेको निवर्तमान अध्यक्ष महतोमाथि आरोप थियो। जीराभवानी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै रेखा चौधरी ४७१० मत प्राप्त गरेर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार निवर्तमान गाउँपालिका उपाध्यक्ष उषादेवी थरूनीलाई २९६५ मत मात्र प्राप्त छ। निवर्तमान उपाध्यक्ष उषाले पालिकामा हैकम चलाएको विपक्षीको आरोप थियो।

धोबिनी गाउँपालिका

धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपाका मदनप्रसाद चौहान कांग्रेसका उम्मेदवार वशिष्ठनारायण प्रसाद कुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै निर्वाचित भएका छन्। निर्वाचित चौहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले ३ हजार ७१ मत ल्याएका छन्। कांग्रेसबाट जितेका निवर्तमान अध्यक्ष कर्मचारीसँगको विवादमा नराम्ररी मुछिएका थिए। उनी अलोकप्रिय भएपछि पार्टीले पुराना नेता कुर्मीलाई टिकट दियो। धोबिनीको उपाध्यक्षमा कांग्रेसकी मञ्जु देवी ३ हजार १ सय ४३ मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंका देवी यादवको मत २ हजार ५ सय ७७ छ।

ठोरी गाउँपालिका

पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ निवर्तमान अध्यक्ष पिएल श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित निर्वाचित भएका छन्। निर्वाचित लालबहादुरले ४ हजार ४९ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार पिएलको ३ हजार ३ सय २९ मत छ। निवर्तमान अध्यक्ष पिएल कार्यकालको सुरुमै आफ्नो गाउँमै गाउँपालिकाको केन्द्र राख्नका लागि हठ गरेका थिए। त्यसबाट एकखाले असन्तोष उनीविरुद्ध छँदै थियो, पछिल्लो समयमा पनि लोकप्रिय हुन सकेनन्। उपाध्यक्षमा एमालेकै गोकुली कुमारी रेग्मी ४ हजार २ सय ५९ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकै निरू तामाङको ३ हजार ४३ मत छ।

छिपहरमाई गाउँपालिका

छिपहरमाई गाउँपालिकाको अध्यक्षमा पुरानो अनुहार दोहोरिएको पालिका हो। एमालेका उम्मेदवार मनोज गुप्ता निकटम प्रतिद्वन्द्वी जसपाका इन्द्रासन कलवारलाई ३ सय २० मतले पराजित गर्दै निर्वाचित भएका छन्। निर्वाचित गुप्ताको मत ४ हजार १ सय ८८ छ भने कलवारले ३ हजार ८ सय ६८ मत पाएका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भई २ हजार ८ सय ५१ ल्याई जितेका थिए।

एकतामा नेकपा भएका उनी पछि पार्टी विभाजनमा एमाले भएर अहिले पुनः चुनाव जितेका छन्। उनीमाथि पनि विपक्षीले अपारदर्शिता र मनोमानीको आरोप लगाए पनि चुनावमा भने त्रिकोणात्मक लडाइँमा उनले बाजी मारेका छन्। यहाँ कांग्रेसका नवीनकुमार सिंहले ३ हजार ५ सय २८ मत ल्याएका छन्। उपाध्यक्ष भने यहाँ कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु ३ हजार ८ सय १ मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मोदिना खातुनको मत ३ हजार ५ सय ९० मत छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App