coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

पोखराले ‘अटेरी’ लाई टेरेन

काठमाडौं महानगरमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) मुख्य राजनीतिक दलका उम्मेदवारको तुलनामा अहिलेसम्मको गणनाका आधारमा दोब्बर मतले अगाडि छन्। संघीय राजधानी काठमाडौंमा मात्र नभई प्रदेश राजधानी र जिल्लामा पनि बालेनको चर्चा उस्तै छ।

बालेनले पाएको मत मुख्य राजनीतिक दलका लागि चुनौतीका रूपमा रहेको नागरिकले विश्लेषण गरिरहेका छन्। शाहजस्तै पोखरा महानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले। गनेस र बालेनको एउटै चुनाव चिह्न थियो–लौरो।

तर, काठमाडौं महानगरमा बालेनको चर्चा र उनले पाएको मतको आकार झन्डै दोब्बर हुँदा पोखरामा गनेसले भने उति सारो मतदाताको सहानुभूति बटुल्न नसकेको अहिलेसम्म उनले पाएको मतसंख्याले पुष्टि गर्छ। पौडेलले अहिलेसम्म २ हजार ३ सय कटाएका छन्। जबकि पोखरामा मेयरका अन्य दलका उम्मेदवारले सबैभन्दा बढी ३५ हजार कटाइसकेका छन्।

स्वतन्त्र उम्मेदवार बनेका बालेनको चर्चा युवापुस्ताका मतदाता रहँदा र अधिक मत पाउँदा पोखरामा गनेसले भने त्यही आकारको माया पाउन नसक्नुमा कारण के हो? राजनीतिक विश्लेषक आनन्दराज मुल्मी भन्छन्, ‘बालेन मनोरञ्जन क्षेत्रमा परिचित थिए। उनलाई युवापुस्ताका मतदाताले पहिल्यै चिनेका थिए। तर पोखरामा त्यो अवस्था रहेन।

धेरैले पोखराका स्वतन्त्र उम्मेदवारलाई चिन्दै चिनेनन्।’ पोखराका स्वतन्त्रतका उम्मेदवार मतदातामाझ कम परिचित हुँदा गनेसले बालेनले जति मत पाउन नसकेको मुल्मीको भनाइ छ। ‘पोखराका उम्मेदवारको चुनाव चिह्न अन्तरमुखी भयो तर राजधानीमा बाह्य रूपमा देखिएको थियो। त्यसले गर्दा फरक पर्न गएको हो,’ उनले भने।

त्यसो त धेरै युवाले अहिले राजधानीमा बालेनलाई साथ दिएका छन्। तर पोखरामा भने युवाको मत र ध्यान तान्न पौडेल असफल भएको अर्का विश्लेषक सुरेन्द्र थापामगर बताउँछन्। ‘पोखराका युवा मतदाता जागरुक हुन सकेनन्।

राजधानीमा बालेन्द्रले मिडिया कभरेज पनि पर्याप्त पाउँदा उनलाई साथ मिल्यो तर पोखरामा त्यो हुन सकेन,’ उनले भने, ‘बालेन्द्रको पूर्वतयारी पनि थियो र उनले टिमलाई नै परिचालन पनि गर्न सफल भए। तर पोखरामा उम्मेदवार एक्लै खटिए, उनले अब्बल टिम बनाएर परिचालन गर्न पनि सकेनन्।’ युवा परिचालन गर्न नसक्दा पोखरामा मतदाताले पौडेलले अविश्वास गरेको उनको विश्लेषण छ।

उनको विश्लेषणमा काठमाडौं र पोखराका मतदाताको सेन्टिमेन्ट अलि फरक पनि छ। पोखराका मतदाताले अलि बढी दलप्रति भक्तिभाव राख्छन् तर काठमाडौंका कतिपय मतदाता सम्भ्रान्त वर्गका छन्। सम्भ्रान्त वर्गका राजधानीका ती मतदाता कुनै दलमा आबद्ध पनि छैनन र उनीहरूले दलभन्दा बढी व्यक्तिलाई हेरेका छन्। त्यसले गर्दा यो अवस्था आएको थापाको विश्लेषण छ।

‘काठमाडौंमा व्यक्ति हेरेर भोट दिएको छ। तर पोखरामा व्यक्ति र उम्मेदवार नभई निकटको दल हेरेका छन्,’ उनले भने। बालेनको जित अहिले नै निश्चित नभइसके पनि उनले पाएको मतले राजनीतिक दललाई सुध्रिनुपर्ने गतिलो सन्देश भने दिएको उनी बताउँछन्। ‘राजनीतिक दलको आनिबानी सुध्रिनुपर्छ भन्ने संकेत हो। देशभर नै राजनीतिक दलको सन्देश पुग्ने बेला भएको छ,’ उनले भने।

वर्षाैंदेखि राजनीति गरेका दलका नेताको कार्यशैलीमा सुधारको आवश्यकता अहिले बालेनले पाएको मतले देखाउने उनी बताउँछन्। ‘नेताको कार्यशैली ठिक नभएको सन्देश अहिले पुगेको छ। दलहरू अब सुध्रिनुपर्छ। सधैं एकैखाले अवस्था नरहने अहिलेको निर्वाचनले देखाएको छ,’ उनले भने। अहिले बालेनले निर्वाचन जिते त्यसको प्रभाव आगामी निर्वाचनमा देशैभर पर्ने उनको विश्लेषण छ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्। ‘अघिल्लोपटकको निर्वाचनमा पनि त्यही अवस्था देखाएको हो। काठमाडौंले पहिलेदेखि नै परिवर्तन खोजेकाले त्यो अवस्था आएको हो,’ दाहालले भने। काठमाडौंका मतदाता दलविहीन हुन खोजेको नभई राजनीतिक दलप्रतिको असन्तुष्टि हुन सक्ने उनको भनाइ छ।‘

पोखराबाहेकका ठुला सहरमा अहिले पनि स्वतन्त्र उम्मेदवारले राम्रो मत पाएका छन। अहिलेको रिजल्ट र मत परिणामले राजनीतिक दलको विकल्प खोज्न थालेको बुझाउँछ,’ उनले भने, ‘काठमाडौंबाहिर अझै त्यो खालको माहोल बनिसकेको छैन।’

उनको बुझाइमा अहिले पोखराका स्वतन्त्र उम्मेदवारले पाएको मतको आकार सोचेभन्दा बढी हो। ‘राजधानीले सत्ताबाहिर झुकाव देखाउन खोज्छ तर पोखराले त्यो चाहना नराख्दा नयाँ र स्वतन्त्र व्यक्ति आउन नसकेका हुन,’ उनले भने।

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App