७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

फाकफोकथुम गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र खनाल र उपाध्यक्ष कल्पना राई।

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।

यसअघि अध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको फाकफोकथुमको अध्यक्षमा यो पटक एमालेका दीपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकै कल्पना राई विजयी भएका हुन्।

गएराति सम्पन्न मतपरिणामअनुसार अध्यक्षमा विजयी खनालले ५ हजार ३ सय २२ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापाले चार हजार ८ सय २१ मत ल्याएका छन्। डिकबहादुर कांग्रेसको फाकफोकथुम गाउँपालिका सभापतिसमेत हुन्।

उपाध्यक्षमा विजयी राईले ५ हजार १ सय ५८ मत ल्याइन्। निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तवा राईले ४ हजार १ सय ७४ मत ल्याएका छन्। ७ वटा वडा रहेको फाकफोकथुमको वडा १, २, ४ र ७ मा कांग्रेस तथा वडा ३, ५ र ६ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

फाकफोकथुम गाउँपालिका एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र (इलाम २) मा पर्छ। नेम्बाङको निर्वाचन क्षेत्रमा ०७४ सालमा कांग्रेसले अध्यक्ष जितेका फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकाको नेतृत्व यो पटक एमालेले फर्काउन सफल भएको छ। यही क्षेत्रका इलाम नगरपालिका र चुुलाचुली गाउँपालिका एमालेले गुमाएको छ तर देउमाई नगरपालिकामा पुनः एमालेकै नेतृत्व आएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App