६ वैशाख २०८१ बिहीबार
निर्वाचन विशेष

दुर्गालाई घात, कुमारीलाई महाघात

सुनकोसी गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्तापछि नाम फिर्ता लिने दिनमा एकाएका गठबन्धन बन्यो। अध्यक्ष एमालेका टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष माओवादीकी दुर्गा थापा। यसअघि यी दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने गरी मनोनयन दर्ता गराएका थिए। एमालेले उपाध्यक्ष र माओवादीले अध्यक्ष उम्मेदवारको नाम फिर्ता लिएपछि अन्तिम समयमा गठबन्धन भएको थियो।

एमालेले उपाध्यक्ष उम्मेदवारबाट नाम फिर्ता लिएको झोकमा मञ्जु भण्डारीले २४ घण्टा नबित्दै काँग्रेस बनिन् अनि एमाले हराउ अभियानमा लागिन्। यति हुँदा पनि परम्परागत गढमा गठबन्धनले जित्ने अपेक्षा थियो। त्यहीमाथि माओवादीले एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत गठबन्धन गरेको थियो। गठबन्धनका उम्मेदवार टपेन्द्र खुँखार व्यवसायी हुन्, स्थानीयले कम चिन्ने। दुर्गा गाउँपालिकाको मुटु खनडिचौर केन्द्र बनाएर माओवादी राजनीति धान्थिन्। त्यसैले धेरैको अनुमान थियो, गठबन्धनका दुवै जित्छन् या हार्नुपर्दा टपेन्द्र, जित्दा दुर्गा!

बुधबार बिहानै अनपेक्षित परिणाम आयो। पार्टी राजनीतिमा ज्यान दिने थापा हारिन्। काठमाडौंमा बसेर व्यवसाय गर्दै उम्मेदवारी दिन मात्र गाउँ फर्केका टपिन्द्र जिते। कांग्रेस उम्मेदवार निवर्तमान अध्यक्ष श्रवणकुमार जिसीलाई ४१ मतले हराउँदै टपिन्द्र निर्वाचित भए। टपिन्द्रले ५ हजार ९ सयय ३२ मत ल्याए। तर, दुर्गा भने झन्डै १ हजार मतान्तरमा कांग्रेसकी उपप्रमुख उम्मेदरवारसँग हारिन्। कांग्रेसकी कान्छी लामाले ५ हजार ८ सय ५ मत पाउँदा दुर्गाले ४ हजार ९ सय ७४ मत मात्र पाइन्। यहाँ माओवादीको भोटले टपिन्द्र जिते तर उनको पार्टीले भोट नदिंदा खास राजनीतिककर्मी दुर्गा हारिन्।

दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो। कांग्रेसकी उपप्रमुख फिर्ता भइन्, राप्रपाका प्रमुखका उम्मेदवारले मनोनयन फिर्ता लिए।

नयाँ बनेको गठबन्धनमा कांग्रेसका आइतामान तामाङ प्रमुख, राप्रपाकी कुमारी तामाङ उपप्रमुखको उम्मेदवार! जसै यहाँ पनि राप्रपाको बलमा काँग्रेसका आइतमानले प्रमुख जित्दा उपप्रमुख भने एमालेकी उमा प्रधान भइन्। उमाले १० हजार १ सय ६४ मत पाउँदा राप्रपाकी कुमारीले ८ हजार ३ सय ५६ भोट मात्र ल्याइन्। यतिसम्मकी उपप्रमुखको उम्मेदवारै नरहेको कांग्रेसको रुख चिह्नमा २ हजार ४ सय मत खसेको थियो।

गठबन्धन गरेपछि स्वाभाविकै यो मत कुमारीले पाउनुपथ्र्यो। त्यसो भएन, कुमारी हारिन्। ‘राप्रपालाई हराउने लागेको भन्ने सवालै छैन। मतदाता शिक्षामा गम्भीर त्रुटि गर्दा यो परिणाम आयो,’ कांग्रेसका एक नेताले भने।

प्रकाशित: ६ जेष्ठ २०७९ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App