२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

दाङका गाउँपालिकाः बिरासत उलटपलट

२०७४ को स्थानीय तहको निर्वाचनमा पश्चिम दाङको बबई गाउँपालिकामा नेकपा एमालेले कांग्रेस र माओवादीलाई पाखा लगाएर एकल बिरासत कायम गर्‍यो।

गाउँपालिकाको नेतृत्व सम्हालेका एमालेका भुवनेश्वर पौडेलले यो पालिकामा एमालेको बिरासत यो निर्वाचनमा पुनः जोगाउने लख काटिएको थियो। फलतः उनै पौडेल अहिले फेरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बने। अनी उनीसँगै यसअघि पराजित कांग्रेसका कुलबहादुर केसी यसपटक पनि जुधे।

अघिल्लो निर्वाचनमा स्थापित आफ्नो बिरासत यो गाउँपालिकामा एमालेले गुमाउनु पर्‍यो । एमालेको यो बिरासत कांग्रेसले खोस्यो। यसअघि पराजित कांग्रेसका कुलबहादुर खत्रीले यसअघि निर्वाचित पौडेललाई पाखा लगाइदिए। खत्री गाउँपालिका अध्यक्षमा निर्वाचित भए भने कांग्रेसकै बमकुमारी खड्का निर्वाचित भइन्।

यो निर्वाचनमा जीतको आधार अघिल्लो मत परिणामलाई पनि आँकलन गरिएको थियो। अघिल्लो निर्वाचनको मतभारलाई आँकलन गरेका दलहरूले यही भतभारलाई जीतको आधार बनाइएको थियो। तर यहाँका स्थानीय तहमा देखिएको चुनावी नतिजाले अघिल्लो मत आँकलनलाई फेल खुवाइदिएको छ।  पश्चिम दाङकै दंगिशरण गाउँपालिकामा पनि यसअघि एमाले हाबी भयो। कांग्रेसको गढ मानिएको यो गाउँपालिकालाई पनि एमालेले आफ्नो गढका रुपमा स्थापित गरिदिएको थियो।

अघिल्लो निर्वाचनका मतभारलाई आँकलन गरेको एमालेको आँकलन यो ५ बर्षको अवधिमा फेल भयो। अघिल्लो निर्वाचनमा आफूलाई हराएको एमालेलाई कांग्रेसले सहजै परास्त गरिदियो। एमालेले अघिल्लो निर्वाचनमा बिरासत कायम गरेको यो गाउँपालिकामा कांग्रेसका शम्भु गिरी अध्यक्षमा र पीमा कुमारी ओली उपाध्यक्षमा निर्वाचित भइन्।

पश्चिम दाङकै शान्तिनगर गाउँपालिकामा भने कांग्रेसले आफ्नो अघिल्लो जीतलाई कायमै राख्यो । यो गाउँपालिकामा जीत दोहोर्याएको कांग्रेसका तर्फबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा कुमारी बुढाथोकी निर्वाचित भइन्।

यी तीन गाउँपालिकामा एकल जीत निकालेसंगै कांग्रेसले पश्चिम दाङमा आफ्नो पकड मजवुत बनाएको छ। यो क्षेत्र कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको चुनावी क्षेत्र हो।

पश्चिम दाङका दुई पालिकामा एमालेको गढ भत्काएको कांग्रेसले लमही नगरपालिकाको नेतृत्व पनि कब्जा गर्‍यो। यो नगरपालिकाको मेयरमा यसअघिको निर्वाचनमा एमाले र उपमेयरमा कांग्रेस निर्वाचित भएको थियो। नेतृत्वमा पराजय बेहोरेको कांग्रेसले यो निर्वाचनमा भने आफ्नो बर्चश्व कायम गर्‍यो, त्यो पनि यो नगरको नेतृत्वमा हार बेहोरेका जोगराज चौधरी मेयरमा निर्वाचित भए। यसैगरी उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी योगी निर्वाचित भइन्।

पश्चिमका दुई गाउँपालिका र देउखुरी क्षेत्रको एक नगरमा एमालेको गढ भत्काएको कांग्रेसले देउखुरीकै आफ्नो एउटा गढ भने भत्कायो। अघिल्लो निर्वाचनमा एकल जीत हात पारेको कांग्रेसले देउखुरी क्षेत्रको राप्ती गाउँपालिकामा यसपटक भने नेतृत्व गुमायो।

आफ्नो बलियो गढ मानेको कांग्रेसका उम्मेदवार जगदम्बा चौधरीलाई पराजित गर्दै माओवादीका प्रकाश बिष्ट अध्यक्षमा निर्वाचित भए भने उपाध्यक्षमा एमालेकी कमलापति चौधरी निर्वाचित भइन्। यसपटक गाउँपालिकाको अध्यक्षमा पराजित कांग्रेसकी जगदम्बा यसअघिको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

यसैगरी एमालेको बलियो गढका रुपमा हेरिएको जिल्लाको गढवा गाउँपालिकाको बिरासत पनि एमालेले जोगाउन सकेन। यसअघि अध्यक्ष र उपाध्यक्ष दुबैमा फराकिलो जीत निकालेको एमालेले यसपटक पनि दुबै पद जोगाउन सकेन। यो गाउँपालिकामा माओवादीका यमनारायण शर्मा पोख्रेल अध्यक्षमा निर्वाचित भए भने कांग्रेसकी शारदा कुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भइन्।  

देउखुरीकै राजपुर गाउँपालिकामा भने कांग्रेसले आफ्नो अघिल्लो जीतलाई सुरक्षितै राख्न सक्यो। अध्यक्ष र उपाध्यक्ष दुबै पदमा यसअघि निर्वाचित कांग्रेस यो पटक पनि दुबै पदमा निर्वाचित भयो। यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शरद कुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव निर्वाचित भइन।

यस्तै जिल्लाको अर्को गाउँपालिका बंलाचुलीमा भने माओवादी र कांग्रेसको चुनावी गठबन्धनले जीत हात पार्‍याे। गाउँपालिकाहरु मध्य यो पालिकामा मात्रै माओवादी र कांग्रेस बीच गठबन्धन भएको थियो। जिल्लाका ७ पालिका र एक नगरपालिकाको चुनावी परिमाणले एमालेलाई कमजोर सावित गरिदिएको छ। सात गाउँपालिका र एक नगरपालिकामा एमाले नेतृत्व बिहिनताको अवस्थामा छ। जिल्लाका पालिकाहरुमा देखिएको बिरासत उलट पलटको कारण दलहरुको आन्तरिक ब्यवस्थापनसंग जोडिने जानकारहरू बताउँछन्।

मतदाताहरुको रोजाईमा नेतृत्व फेरबदल भन्दा पनि दलहरुको आन्तरिक ब्यवस्थापनको पाटोले यो नतिजा आएको महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम बताउँछन्। ‘हिँजो कुनै दलहरु आन्तरिक ब्यवस्थापनमा चुके र एकखालको नतिजा आयो,’ गौतमले भने ‘अनि हिँजो चुकेकाहरुको आज आन्तरिक व्यवथापन मजवुत बन्यो र उनीहरुको नतिजा अर्को प्रकारको आयो, हिँजो राम्रो व्यवस्थानि भएका दलहरुको आज त्यो ब्यवस्थापनमा कहिँ न कहिँ फितलो भयो अनि उनीहरुको नतिजा हिँजोको भन्दा आज राम्रो भएन।’

प्रकाशित: ५ जेष्ठ २०७९ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App