१९ असार २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सिन्धुपाल्चोकमा कांग्रेस चार, माओवादी दुई र एमालेलाई एक पालिका

सभामुखका भाइ विजयी, पहिला हारेका उम्मेदवार जित्दै, जितेका हार्दै

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा निर्वाचित कृष्णप्रसाद सापकोटा (बीच) र उपप्रमुख सीता थापा। तस्बिर ध्रुव/नागरिक

१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा स्थानीत तह निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ। बुधबारसम्म सबै तहको अन्तिम मतपरिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबारसम्म सात स्थानीय तहको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छ।

सार्वजनिक मतपरिणामअनुसार चार स्थानीय तह जित्दै कांग्रेस जिल्लामा पहिलो पार्टी बन्नेतर्फ अग्रसर छ। दुई स्थानीय तहमा विजयी हुँदै माओवादीले कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले भने एक तहमा जित निकालेको छ।

कांग्रेसले भोटेकोसी, हेलम्बु, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रविसे नगरपालिकामा जित हाँसिल गरेको छ। माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिका आफ्नो पक्षमा पार्दा एमालेले इन्द्रावती गाउँपालिका कब्जा गरेको छ।  

साख फर्काउँदै, कम्युनिस्ट किल्ला भत्काउँदै कांग्रेस

भोटेकोसीको अध्यक्षमा पासाङनुर्बु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भएका छन्। एमाले र माओवादीसँगको त्रीपक्षीय प्रतिस्पर्धाबीच उनीहरु बिजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष पासाङनुर्बुले  २ हजार ६ सय ५ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अमृतकुमार खड्काले २ हजार ४८  मत मात्र ल्याए। त्यस्तै उपाध्यक्ष निर्वाचित दिछेनले २ हजार ७ सय १२ मत ल्याइन्। उनकी मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार सुन्तलीमाया श्रेष्ठले २ हजार ५ सय ५३ भोट पाइन्।

माओवादी उम्मेदवार राजकुमार पौडेल र उपाध्यक्ष उम्मेदवार आशा गुरुङ शेर्पा तेस्रो भए। पौडेल निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। २०७४ को स्थानीय चुनावमा कांग्रेसको आधार इलाका भत्काएर उनी चर्चित बनेका थिए। यो पटक कांग्रेस आधार इलाकाबाट गुमेको साख फर्काउन सफल भयो।

हेलम्बुमा कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्। शेर्पाले एमाले उम्मेदवार दावा लामालाई पराजित गरे । शेर्पाले ५ हजार ३ सय ८६ मत ल्याए। एमालेका लामाले ४ हजार ६ सय ३ मत पाए। उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भइन्। लामिछानेले ५ हजार २ सय १४ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा अर्यालले ४ हजार ६ सय ७१ भोट मात्र पाइन्।

बाह्रविसेको प्रमुखमा कांग्रेस उम्मेदवार बालकृष्ण बस्नेत विजयी भए। उनले निवर्तमान नगर प्रमुख एमाले उम्मेदवार निमफुञ्जो शेर्पालाई पराजित गरे। कांग्रेस क्षेत्रीय सभापति रहेका बस्नेतले ७ हजार ७ सय २८ मत ल्याए। 

उनका निकट् प्रतिस्पर्धी शेर्पाले ५ हजार ४ सय ३३ मत मात्र पाए। अघिल्लो स्थानीय तह निर्वाचनमा बस्नेत र शेर्पा कांग्रेस, एमालेबाटै प्रमुख पदमा आमने–सामने थिए। त्यतिबेला बस्नेतबिरुद्ध शेर्पाले २ सय मतान्तरले बाजी मारेका थिए। तर योपटक २ हजार २ सय ९९ को भारी मतले हराउँदै बस्नेतले शेर्पासँग बदला लिए।

त्यस्तै निवर्तमान उपप्रमुख रहेकी सुशीला पाख्रिन कांग्रेसी नयाँ अनुहार मञ्जु तामाङसँग पराजित भइन्। तामाङले पाख्रिनलाई ९ सय ७७ मतान्तरले हराइन्। तामाङले ६ हजार ९ सय ७७ मत पाउँदा पाख्रिनले ५ हजार ९ सय ९० भोट ल्याइन्। अघिल्लो निर्वाचनमा कांग्रेसकी प्रभावशाली नेतृ लीला नेपाललाई हराउँदै पाख्रिन एमालेबाट उपप्रमुख बनेकी थिइन्।

बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहनगर हो। आधार क्षेत्र हुनुको बाबजुद अघिल्लो निर्वाचनमा यो नगर कांग्रेसले गुमाएको थियो। त्यसैले यो पटक आधार क्षेत्रमा गुमेको साख फर्काउने सवाल कांग्रेसको प्राण र प्रतिष्ठासँग जोडिएको थियो।

कम्युनिष्ट आन्दोलनको उर्भभूमि मानिएको त्रिपुरासुन्दरी गाउँपालिका कांग्रेसले भत्काएको छ। पालिका अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका छन्। ४ हजार २ सय १९ मत ल्याएका बोहोराले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार मेघनाथ पौडेललाई पराजित गरे। पौडेलले ३ हजार २ सय ६७ मत मात्रै पाए। नवनिर्वाचित उपाध्यक्ष नेपालले ४ हजार १ सय ५६ मत ल्याएर जित निकालिन। पराजित उनकी निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सबिता श्रेष्ठले ३ हजार २ सय ६७ मत पाइन्।

निर्वाचित अध्यक्ष बोहरा अघिल्लो निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए। त्यतिबेला उनी एमाले उम्मेदवार भुपेन्द्र श्रेष्ठसँग थोरै मतान्तरले पराजित भएका थिए। योपटक एमालेकै उम्मेदवारलाई हराएर बोहराले बदला लिएका छन्। निर्वाचनको मुखमा निवर्तमान अध्यक्ष श्रेष्ठ कांग्रेस प्रवेश गरेका थिए। पराजित एमाले उम्मेदवार पौडेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका समकक्षी हुन्। पञ्चायतकालमा कम्युनिष्ट नेताहरुले सेल्टर बनाएको यो पालिका एमाले नेता अमृत बोहराको गृह गाउँ हो । बोहराको वडा नै कांग्रेसले जितिदयो।

बलियो बन्दै माओवादी

माओवादी–एकीकृत समाजवादी गठबन्धनले चौतारा साँगाचोकगढी नगरपालिकामा विजय हाँसिल गरेको छ। गठबन्धनबाट माओवादी उम्मेदवार कृष्णप्रसाद सापकोटा नगर प्रमुख र समाजवादीकी सीता थापा उपप्रमुखमा निर्वाचित भएका छन्।

माओवादी केन्द्रिय सदस्यसमेत रहेका नवनिर्वाचित नगर प्रमुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका कान्छा भाइ हुन्। निकटतम प्रतिस्पर्धीलाई ४ हजार २ सय ८७ मतको भारी अन्तरले हराउँदै सापकोटा निर्वाचित भए । उनले ११ हजार ७२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार इन्द्र नेपालले ६ हजार ७ सय ८५ मत मात्रै पाए।

निकटतम प्रतिस्पर्धीभन्दा २ हजार ८ सय ४९ मत बढी ल्याएर समाजवादीकी थापा उपप्रमुखमा विजय भइन् । उनले ९ हजार ७ सय २६ मत ल्याइन्। उनको मुख्य प्रतिस्पर्धी एमालेकै उम्मेदवार बालकुमारी सापकोटाले ६ हजार ८ सय ७७ मत पाइन्।

थापा अघिल्लो निर्वाचनमा एमालेबाट उपप्रमुखको निकटतम प्रतिस्पर्धी भएर पराजित भएकी थिइन् । उनलाई माओवादीले नै हराएको थियो। योपटक माओवादीले नै थापालाई उपप्रमुखको कुर्सीमा पु¥यायो। सापकोटा अघिल्लो निर्वाचनमा वडा सदस्य जितेर जिल्ला समन्वय समितिको उपप्रमुख बनेकी थिइन्। यस पटक उनी नगरमा झरे पनि पूर्वसहकर्मीबाट पराजित भइन्।

पालिकाका आठमध्ये एकमात्र वडा जितेर बलेफी गाउँपालिकामा माओवादीका उम्मेदवार गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा भने कांग्रेस उम्मेदवारले जित हाँसिल गरिन् । बलियो प्रतिस्पर्धी मानिएको कांग्रेस उम्मेदवार सुवास तिमिल्सिनालाई ५ सय ६१ मतान्तरले हराउँदै तामाङ निर्वाचित भएका हुन्। तामाङले ४ हजार ६ सय ६६ मत पाए । त्यस्तै उनका प्रतिस्पर्धी तिमिल्सिनाले ४ हजार १ सय ५ मत मात्र ल्याए । माओवादीका पूर्वलडाकु तामाङले दोस्रो प्रयासमा बाजी मारेका हुन्।

यसअघिको स्थानीय चुनावमा पनि तामाङ बलेफी प्रमुखको प्रतिस्पर्धामा थिए। तर त्यतिबेला एमालेका केदार क्षेत्रीसँग साढे एक सयभन्दा कम मतान्तरले उनी पराजित भएका थिए। उनलाई हराएका क्षेत्री अहिले कांग्रेसमा छन्। साविक बिजेता एमाले यहाँ तेस्रो मात्रै बन्यो। कांग्रेसकी ‘कोरा कागज’ उम्मेदवार सरु लामा तामाङ उपाध्यक्षमा निर्वाचित भइन्। उनले ४ हजार ३ सय ९४ मत पाइन्। उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सपना थापालाई पराजित गरिन्। थापाले ३ हजार ६ सय ६३ मत ल्याइन् । बिजेता सरु जिल्लाको राजनीतिमा कतै सुनिएको नाम होइन।

कांग्रेससँग एमालेको बदला  

जिल्ला पार्टीका दुई पूर्वप्रमुख बीचको प्रतिस्पर्धाले चासोसाथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्। एमाले पूर्वअध्यक्ष नेपालले झण्डै एक हजार मतान्तरमा कांग्रेसका पूर्वअध्यक्ष विकास लामालाई पराजित गरे। नेपालले ७ हजार १ सय २७ मत ल्याउँदा तामाङले ६ हजार १ सय ६८ भोट पाए।

 उपाध्यक्ष निर्वाचित तामाङले ६ हजार ५ सय १३ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दयाकुमारी मिश्रले ६ हजार ४ सय ७० मत ल्याइन्। साविक भोटसिपा गाविस अध्यक्ष नेपाल अघिल्लो निर्वाचनमा पनि एमालेबाट अध्यक्ष पदको उम्मेदवार थिए। त्यतिबेला उनी कांग्रेस उम्मेदवार बंशलाल तामाङबाट पराजित भएका थिए। चुनाव हार्दा नेपाल एमाले जिल्ला अध्यक्ष थिए । नेपालले यो पटक अघिल्लो पराजयको बदला लिएका छन्।

मतगणना भइरहेको सुनकोसीमा कांग्रेसले अग्रता लिइरहेको छ। यहाँ एमाले–माओवादीको गठबन्धन छ। लिसंखुपाखर र जुगल गाउँपालिकामा भने माओवादी उम्मेदवारले अग्रता लिइरहेका छन्। जुगलमा माओवादी–कांग्रेसको गठबन्धन छ। दुबैमा माओवादीले एकल मतान्तर बढाइरहेको छ। मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेको अग्रता छ। यी पालिकामा सबैभन्दा ढिलो मतगणना थालिएको थियो। अन्तिम परिणाम नआउँदासम्म मेलम्चीमा भने एमाले, कांग्रेस उम्मेदवारको टक्कर चल्ने अनुमान गरिएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App