दुई गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा पहिलो औपचारिक परिणाम सार्वजनिक भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले पहिलो जित हासिल गरेको छ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शम्भु सिंहले ४२०४ मत ल्याएर जित हासिल गरेका छन्। सिंहका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अरुण कुमार साहले २९८२ मत प्राप्त गरेका छन्। साह दुर्गा भगवती गापाबाट यसअघि अध्यक्ष पदमा निर्वाचित भएका थिए।
यसै गरी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेकपा माओवादी केन्द्रकै शीला देवी विजयी भएकी छन्। शीला देवीले २६७९ मत प्राप्त गरी जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मन्जु देवीले २३५७ मत हासिल गरेकी हुन्।
पाँच वटा वार्ड रहेको दुर्गा भगवती गाउँपालिकामा नेपाली काँग्रेसले तिन र नेकपा माओवादी केन्द्रले दुई वडामा जित निकालेका छन्। विजयी सबैलाई प्रमाणपत्र उपलब्ध गराउने तयारी भएको निर्वाचन अधिकृत देवनारायण यादवले जानकारी गराएका छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ १२:२२ मंगलबार





