१२ आश्विन २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

बलेफीमा अनौठो नतिजाः माओवादी पूर्वलडाकु अध्यक्ष, कांग्रेसकी ‘कोरा कागज’ उपाध्यक्ष

पालिकाका आठमध्ये एकमात्र वडा जितेर बलेफी गाउँपालिकामा माओवादीका उम्मेदवार गंगाबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवारले जित हाँसिल गरिन्।  

बलियो प्रतिस्पर्धी मानिएको कांग्रेस उम्मेदवार सुवास तिमिल्सिनालाई ५ सय ६१ मतान्तरले हराउँदै तामाङ निर्वाचित भएका हुन्। तामाङले ४ हजार ६ सय ६६ मत पाए। त्यस्तै उनका प्रतिस्पर्धी तिमिल्सिनाले ४ हजार १ सय ५ मत मात्र ल्याए। माओवादीका पूर्वलडाकु तामाङले दोस्रो प्रयासमा बाजी मारेका हुन्।  

यसअघिको स्थानीय चुनावमा पनि तामाङ बलेफी प्रमुखको प्रतिस्पर्धामा थिए। तर त्यतिबेला एमालेका केदार क्षेत्रीसँग साढे एक सयभन्दा कम मतान्तरले उनी पराजित भएका थिए। उनलाई हराएका क्षेत्री अहिले कांग्रेसमा छन्। एमाले र माओवादी हराएर कांग्रेस जिताउन निवर्तमान अध्यक्ष लागे पनि तामाङले बाजी मारे। साविक बिजेता एमाले यहाँ तेस्रो मात्रै बन्यो।  

कांग्रेस र एमाले एक्लै बलेफीको चुनावमा होमिँदा माओवादी–एकीकृत समाजवादीको गठबन्धन बनेको थियो। गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका डिबी खड्का तेस्रो मात्रै बने। बरु कांग्रेसकी ‘कोरा कागज’ उम्मेदवार सरु लामा तामाङ उपाध्यक्षमा निर्वाचित भइन्। उनले ४ हजार ३ सय ९४ मत पाइन्। उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सपना थापालाई पराजित गरिन्। थापाले ३ हजार ६ सय ६३ मत ल्याइन्।  

बिजेता सरु जिल्लाको राजनीतिमा कतै सुनिएको नाम होइन। सामान्य घरगृहस्थी चलाएकी उनी कांग्रेससँग विकल्पै नहुँदा बाध्यात्मक रुपमा चुनावी मैदानमा होमिएकी थिइन्। आठवटा वडा रहेको बलेफीमा कांग्रेसले ६ तथा एमाले र माओवादीले एकरएक वडा जितेका छन्। तर एउटा वडा जितेको माओवादीले गाउँपालिका अध्यक्षमा भने विजय प्राप्त गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App