पोखरा महानगरपालिकाका ३ वटा वडाको परिणाम आएको छ। पोखरा महानगरपालिकाका ३३ वटा वडा मध्ये वडा नम्बर–१, २ र १२ को अन्तिम परिणाम आएको हो।
परिणाम आएका ३ वडामध्ये नेपाली कांग्रेस २ र नेकपा एमाले एउटा वडामा विजयी भएको छ। नेपाली कांग्रेसले वडा नम्बर–२ र वडा नम्बर–१२ जितेको छ भने नेकपा एमालेले वडा नम्बर–१ जितेको छ।
वडा नम्बर–१ मा नेकपा एमालेका सहारा प्रधान विजयी भएका छन्। सोमबार विहान सम्पन्न मतगणनामा निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङलाई ४१ मतले पराजित गर्दै प्रधान विजयी भएका हुन्। विजयी प्रधानले १ हजार १ सय ४५ मत प्राप्त गरे भने पराजित गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन्।
वडा सदस्यमा ३ सदस्य नेकपा एमाले र एक खुल्ला सदस्यमा कांग्रेस विजयी भएका छन्। खुल्ला सदस्तर्फ एमाले ऋषिराम पौडेल र कांग्रेसका रामजीप्रसाद पौडेल विजयी भएका छन्। यसैगरी महिला सदस्यमा शोभा गुरुङ र दलित महिला सदस्यमा सुकमाया दमाई निर्वाचित भएका छन्।
त्यस्तै, वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। प्रधानाङ्ग आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै विजयी भएका हुन्। विजयी प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी दीपक शाहले ६६१ मत प्राप्त गरेका छन्।
खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा विजयी भएका छन्।
वडा नम्बर–१२ मापनि नेपाली कांग्रेसका वडाध्यक्ष सन्तोष बास्तोलासहित कांग्रेसको प्यानल नै विजयी भएको छ। उनी देशभक्त केसीलाई ७२ मतान्तरले हराउँदै विजयी भएका हुन्। विजयी बास्तोलाले १ हजार १ सय ८५ मत प्राप्त गरे भने पराजित केसीले १ हजार १ सय १३ मत प्राप्त गरे।
त्यस्तै, खुल्ला २ सदस्यमा गोविन्दप्रसाद सिग्देल र शान्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्यमा गुमादेवी परियार विजयी भए। पोखरा महानगरपालिकाको अहिले वडा नम्बर–३, ४, १३, २३, २४ र २५ को मतगणना जारी छ।
हालसम्म पोखराको १३ हजार ६ सय ४३ मतगणना सम्पन्न भएको छ। जसमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयर पदमा अग्रता कायम राखेका छन्।
उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६सय ७० मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। आचार्यले ५ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् भने एमालेका थापाले ५ हजार ७८ मत ल्याएर पछ्याई रहेका छन्। राप्रपाका शंकर खरालले ६सय ५८ मत र स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ सय ३१ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। उनले गठबन्धनका कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ९० मतान्तरले पछि पार्दै अग्रता लिएकी हुन्। गुरुङले ५ हजार ५ सय ६४ मत प्राप्त गर्दा रानाभाटले ५ हजार ४ सय ७४ मत प्राप्त गरेर पछ्याइरहेकी छन्। हालसम्म राप्रपाकी रञ्जना सेन (रञ्जु)ले ३ सय ७१ मत प्राप्त गरेकी छन्।
प्रकाशित: २ जेष्ठ २०७९ १४:२० सोमबार





