८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

२९ वर्षपछि फहरायो कांग्रेसले झण्डा

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ। चौतारा साँगाचोकगढी नगरपालिका–७ मा राजनीतिक खोलो फर्काउन कांग्रेसलाई २९ वर्ष लाग्यो। साविक सानोसिरुवारी गाविस पर्ने यो वडामा २०४८ को परिवर्तनपछि पहिलो पटक कांग्रेस उम्मेदवार डम्बरबहादुर तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन्।  

साविक बिजेता पार्टी माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै तामाङको प्यानलै विजयी भएको हो। उनले ९ सय ९९ मत प्राप्त गरे। तामाङका निकटतम प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद दंगालले ७ सय ७५ मत मात्र ल्याए। तामाङले २ सय २४ मतान्तरको रवाफिलो जित निकाले।  

यो वडा माओवादी केन्द्रीय सदस्य, बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री युवराज दुलालको गृहगाउँ हो। दुलालको व्यक्तित्व र बलियो संगठनको कारण यो पटक पनि माओवादी उम्मेदवार नै विजयी हुने धेरैको अनुमान थियो। तर २०५२ को जनयुद्धपछि माओवादी आधार क्षेत्र बनेको यो वडामा तामाङ पहिलो पटक कांग्रेसको चारतारे झण्डा फहराउन सफल भए।  

कांग्रेस यो वडामा कहिल्यै कमजोर थिएन। तर कहिल्यै जित्न पनि सकेको थिएन। त्यसैले यहाँका नेता, कार्यकर्तालाई ‘वर्षको ३ सय ६४ दिन कांग्रेस बनेर आखिरी समयमा अन्यत्रै भोट दिने’ गरेको आरोप लाग्दै आएको थियो। दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेस यो आरोप चिर्न जवरजस्त सफल भयो। बलियो कांग्रेसलाई लामो समय अल्पमतको पञ्चायतले शासन गर्‍यो। २०४६ को परिवर्तनपछि २०४९ र २०५४ मा भएका स्थानीय निकाय निर्वाचन जितेर पूर्वराजावादीहरुको पार्टी राप्रपाले गाविस सत्ता चलायो।  

त्यसको २० वर्षसम्म स्थानीय निकायको चुनाव हुन सकेन। मुलुक संघीय संरचनामा गएपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस जिल्ल पर्‍यो। उक्त चुनाव माओवादीले जित्यो। बलियो संगठन भएको कांग्रेस तेस्रो स्थानमा खुम्चियो। यो पटकको निर्वाचन जितेर कांग्रेसले सबै हारको बदला लिएको वडा इकाइ सचिव कुमार धिताल बताउँछन्। ‘चुनावी अभियानमा यहाँका कांग्रेसकमा जित्ने भोक देखिएको थियो। त्यो पूरा भएको छ,’ वडा जितेपछि उनको प्रतिक्रिया थियो। 

प्रकाशित: २ जेष्ठ २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App