सर्लाहीको धनकौल गाउँपालिकाको मतगणनाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। धनकौल गाउँपालिकामा नेपाली काँग्रेसले पुनः बाजी मारेको छ।
धनकौल गाउँपालिकाको अध्यक्षमा रामअश्रे साह पुनः निर्वाचित भएका छन्। २०७४ को चुनावमा गापा अध्यक्षमा निर्वाचित साह दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्। गापा अध्यक्षमा नेपाली काँग्रेसका साहले ४४७७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोले ३३७८ मत प्राप्त गरेका छन्।
धनकौल गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकै अकुली देवी सहनीले दोस्रो कार्यकालको लागि पनि बाजी मारेकी छन्। उपाध्यक्ष सहनीले सबैभन्दा लोकप्रिय मत हासिल गरेकी छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित साहभन्दा २७ मत बढी प्राप्त गर्दै उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरेकी हुन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नीलमदेवी सहनीले ३२२५ मत मात्र प्राप्त गरेकी छन्।
पछिल्लो कार्यकालको कामलाई धनकौलबासीले अनुमोदन गरेको र अब अधुरो काम गर्न झन् धेरै सजिलो भएको पहिलो प्रतिक्रिया गापा अध्यक्ष साहले दिएका छन्।
सातवटा वडा रहेको धनकौल गाउँपालिकामा नेपाली काँग्रेसले सजिलो बहुमत हासिल गरेको छ। गापामा नेपाली काँग्रेसले चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा एमालेले एक वडाध्यक्ष पदमा जित हासिल गरेका छन्। धनकौल गापाको अध्यक्ष र उपाध्यक्षसहित वडामा पनि नेपाली काँग्रेसले पूर्ण बहुमत हासिल गरेको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ०५:१५ सोमबार





