एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन्।
सोमबार दिनको पहिलो खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको थियो, जहाँ पुलिस र सातदोबाटोले २–२ गोलको बराबरी खेले। खेलमा पहिलो अग्रता सातदोबाटोले लिएको थियो। खेलको १७औँ मिनेटमा सातदोबाटोका अरुण लामाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको २६औँ मिनेटमा फोडे फोफानाले गोल गर्दै सातदोबाटोलाई अर्को सफलता दिलाए। पहिलो हाफमा सातदोबाटोले खेलमा २–० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा पुलिसलाई केही समय दबाबमा राखेको सातदोबाटोले खेलको ७५औँ मिनेटमा गोल खायो। पुलिसका लागि धिरेन्द्र बहादुर साहले पहिलो गोल गरे। खेलको निर्धारित समयसम्म अगाडि रहिरहेको सातदोबाटोलाई त्यसपछि इन्जुरी समयमा पुलिसका सुवास थारुले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यो खेलसँगै सातदोबाटोको जारी प्रतियोगितामा अपराजित यात्रा जारी छ। त्यस्तै, पुलिस भने तालिकाको पाँचौँ स्थानमा छ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा लालीगुँरास एसोसिएसन क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ ले पराजित गरेको छ।
आजै हुने तेस्रो खेलमा मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा बेलुका ६ बजेदेखि खेल हुनेछ।
प्रकाशित: २ चैत्र २०८२ १७:०५ सोमबार





