१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ७:३४ पूर्वाह्न
धर्म/संस्कृति

विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ

वैदिक विधिअनुसार विदेशमा रहेकाको ग्रहदशा हटाउन ज्योतिषीको सल्लाहमा नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ। दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकदेखि यस्तो यज्ञ भइरहेको हो। 

नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइनमार्फत आउने अनुरोधमा यज्ञ गराउँदै आएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा जानकारी दिइएको हो। 

फाउन्डेसनको कार्यालय सिफलमा हुँदा यस्तो यज्ञ आयोजना हुँदै आएकामा चम्पादेवीमा आफ्नै भवन बनाएर सरेपछि पनि यसलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए। उनले भने, ‘दुई महिनादेखि जर्मनीको शान्तिको सङ्कल्पले ५१ जना वैदिक पण्डितबाट यज्ञ गराइरहेको छ।’

आद्य शङ्कराचार्यले स्थापना गरेका चार मठमध्ये ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीका जर्मनस्थित भक्तको सहयोगमा त्यहाँको शान्तिको सङ्कल्प गर्दै यज्ञ भइरहेको बाँस्कोटाले उल्लेख गरे। ‘यज्ञमा ५१ जना पण्डित दुई महिनादेखि पूजापाठ, जपलगायत कर्म गरिरहेका छन् भने अन्य विदेशीको पनि यज्ञ भइरहेको छ। ब्रह्मानन्द सरस्वती ग्राममा हाल १८१ पण्डितले यज्ञ गरिरहेका छन्,’ उनले भने। 

युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ गराउँदै आएको जनाउँदै उनले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित ध्यानपछि यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताए।

महर्षि महेश योगीले भावातित ध्यान र यज्ञमा उच्चारण हुने वैदिक मन्त्रले कसरी प्रभाव पार्छ भनी वैज्ञानिक अनुसन्धान गराएका थिए। ब्रह्मानन्द सरस्वती ग्राम २६ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

यहाँ बनाइएका भवन र यज्ञशाला स्थापत्यवेदको वास्तुशास्त्रका ग्रन्थमा उल्लेखित नियम पालना गरी बनाइएको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए। उनले भने, भौगोलिक वास्तुअनुसार पूर्व र उत्तर भिरालो, पश्चिम र दक्षिणतर्फ अग्लो रहेको यो भूभाग पवित्र मानिन्छ र यस्ता स्थलमा गरिएको यज्ञलगायत कर्म सफल हुने वास्तुशास्त्रीय ग्रन्थमा वर्णन छ। 

ग्राममा गौशाला पनि स्थापना गरी तीनवटा गाई पालिएको छ। यज्ञका लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर यहाँ पालिएका गाईबाट प्राप्त हुने गरेको अध्यक्ष बाँस्कोटाले जानकारी दिए। उनले भने, गौशालासँगै फाउन्डेसनले १५ रोपनी जग्गा भाडामा लिएर वैदिक खेती पनि गरिरहेको छ। ‘जहाँ विषादी प्रयोग गरिँदैन। गाईको मल प्रयोग हुन्छ। यहाँ उत्पादित तरकारी विषादीरहित हुन्छन्,’ उनले भने।

अन्तरक्रियामा अध्यक्ष बाँस्कोटाले धर्म, संस्कृतिलगायत सकारात्मक विषयको पत्रकारिता कम भइरहेका बेला स्थापना भएको धार्मिक, सांस्कृतिक पत्रकार समाजले उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए। उनले धार्मिक, सांस्कृतिक पत्रकारले शुद्धीकरण आफैँबाट गर्न बिहान, बेलुका नियमित ध्यान गर्न सुझाए। 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीद बागचन्दले समाजमा सकारात्मक पत्रकारिताको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व धार्मिक, सांस्कृतिक विधाका पत्रकारले गर्न सक्ने धारणा राखे। उनले ठूला सञ्चार गृहमा धार्मिक, सांस्कृतिक पत्रकारको संस्था पुग्नुपर्ने सुझाए। 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले नेपाल ऋषिमुनिको देश भए पनि कतै केही नमिलेजस्तो अवस्था रहेकाले त्यस्ता विषयमा रेक्जोन र सम्बन्धित संस्थाको अग्रसरतामा बहस गरेर अघि बढ्नुपर्ने बताए। 

समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले फाउन्डेसनजस्तै धर्म, संस्कृतिको क्षेत्रमा काम गर्ने अन्य संस्थासँग सहकार्यमार्फत बहस गर्दै यस क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए। उनले पत्रकारलाई बिहान, बेलुका ध्यान गराएर पत्रकारिता क्षेत्रमा लगाउन सके सकारात्मक प्रभाव हुने भएकाले त्यसतर्फ पनि संस्थाले काम गर्न लागेको जानकारी दिए। 

फाउन्डेसनका ध्यान एवं सिद्धि प्रशिक्षक माधव अर्यालले भावातित ध्यानले व्यक्तित्व विकास, स्वास्थ्य, अरुसँगको व्यवहार, शान्ति स्थापनालगायत क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए। उनले यसका लागि ध्यान सिकेर विधिअनुसार दिनमा दुईपटक बिहान र बेलुका नियमित २०/२० मिनेट अभ्यास गर्नुपर्नेमा जोड दिए। 

फाउन्डेसनका ध्यान शिक्षक भरतराज पौडेलले महर्षि योगीले विसं २०३१ मा नेपाल आएका बेला खुला मञ्चबाट हजारौँलाई ध्यान सिकाएको स्मरण गर्दै त्यसैबेला वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भनेर काम भइरहेको बताए। रासस

प्रकाशित: १७ श्रावण २०८२ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App