५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा यही साउन ६ र ७ गते विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ।

यसै सन्दर्भमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन यही साउन ६ गते बिहान काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ।

कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किमी दौड आयोजना गर्न लागेको जानकारी दिए।

‘दौड लगत्तै जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौतीः निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफल हुनेछ,’ उपसभापपति शर्माले भने, ‘समूहगत छलफल चलिरहँदा, सोही स्थलमा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्काउने चित्रहरु सुपरिचित चित्रकारहरुद्वारा पेन्टिङ गरिनेछन्।’

यसैगरी साउन ७ गते पार्टीको नविन अभियान घोषणा सहितको कार्यक्रम हुनेछ। कांग्रेसले ‘ग्रीन रन’ मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट रकम जम्मा गरेर एक ‘मानवीय सहयोग कोष’ खडा गर्ने जनाएको छ।

सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध र बालबालिकाको हितमा खर्च गरिने उनले उल्लेख गरे।

यसैगरी पार्टीले सोहीदिन राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थितिः नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सञ्चारकर्मीको जिज्ञासामा उपसभापति शर्माले पार्टीको आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराएर जाने कुराले सार्थकता पाउने बताए।

त्यस्तै प्रदेश सरकारमा सहकार्य गर्ने बारेमा समेत छलफल भइरहेको बताउँदै उनले कुनै पनि संसद प्रतिपक्ष विहीन हुन नहुने उल्लेख गरे। 

प्रकाशित: ४ श्रावण २०८३ १८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App