२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

नेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा ‘स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल’ परियोजना औपचारिक रूपमा सुरु गरिएको छ। २४ महिनासम्म सञ्चालन हुने यस परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रवर्द्धन, ग्रामीण जीविकोपार्जनमा सुधार तथा खाद्य र पोषण सुरक्षालाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्ड को आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु–स्मार्ट कृषि, पोषण सुधार, डिजिटल प्रविधिको प्रयोग तथा समावेशी ग्रामीण विकासमा सहयोग गर्ने जनाइएको छ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा आयोजित शुभारम्भ कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङ, नेपालका लागि एफएओका प्रतिनिधि केन शिमिजु, एफएओको पार्टनरसिप तथा संयुक्त राष्ट्रसंघीय सहकार्य डिभिजन (पीएसटी) की निर्देशक हुआ याङसहित संघीय, प्रदेश र स्थानीय तहका प्रतिनिधि, किसान संगठन तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा मन्त्री चौधरीले परियोजनाले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। चिनियाँ राजदूत झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिका लागि चीनको सहयोग निरन्तर रहने बताए। एफएओकी निर्देशक हुआ याङले यो परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण–दक्षिण सहयोगको सफल नमुना बन्ने विश्वास व्यक्त गरे।

काभ्रेपलाञ्चोक र इलाम जिल्लामा कार्यान्वयन हुने परियोजनाअन्तर्गत डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा तथा बजार जानकारी उपलब्ध गराइनेछ। साथै महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता अभिवृद्धि, स्थानीय संस्थाको क्षमता विकास तथा जलवायु अनुकूलन क्षमता सुदृढीकरणका कार्यक्रम पनि सञ्चालन गरिनेछन्।

परियोजनामार्फत अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान र अनुभवको आदान–प्रदान गर्दै स्थानीय नेतृत्वमा कृषि तथा खाद्य प्रणालीको दीर्घकालीन रूपान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App