१६ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा दुर्लभ सार्कोमा क्यान्सरको सफल शल्यक्रिया

काभ्रेको सिर मेमोरियल अस्पतालमा उपचाररत ७० वर्षीय एक पुरुषको पेटबाट करिब १० केजी तौलको दुर्लभ सार्कोमा ट्युमर सफल शल्यक्रियामार्फत निकालिएको छ। चिकित्सकका अनुसार नेपालमा यति ठूलो सार्कोमा ट्युमर निकालिएको यो पहिलो घटना हो।

पेट अस्वाभाविक रूपमा फुलेको समस्या लिएर अस्पताल पुगेका ती बिरामीको सिटी स्क्यान गर्दा पेटभित्र ठूलो सार्कोमा क्यान्सर ट्युमर भेटिएको थियो। त्यसपछि आइतबार भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. पुण्य खरबुजा र डा. ध्रुव कँडेलको टोलीले करिब ६ घण्टा लामो शल्यक्रिया गरी ट्युमर सफलतापूर्वक निकालेको हो।

शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र थप पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको डा. खरबुजाले जानकारी दिए।

चिकित्सकका अनुसार रेट्रोपेरिटोनियल सार्कोमा पेटको पछाडिको भागमा रहेका बोसो, मांसपेशी, स्नायु वा रक्तनलीबाट विकसित हुने दुर्लभ प्रकारको क्यान्सर हो। पेटभित्र पर्याप्त खाली स्थान हुने भएकाले यस्तो ट्युमर लामो समयसम्म कुनै स्पष्ट लक्षण नदेखाई अत्यधिक ठूलो हुने गर्छ।

डा. खरबुजाका अनुसार ट्युमर पेटका विभिन्न अंगमा टाँसिएर बसेकाले शल्यक्रिया निकै जटिल थियो। शल्यक्रियाका क्रममा आन्द्रा, कलेजो, मूत्रथैलीलगायतका महत्वपूर्ण अंगमा क्षति पुग्ने जोखिम रहे पनि टोलीले सफलतापूर्वक ट्युमर निकाल्न सफल भएको उनले बताए।

सार्कोमा क्यान्सर कुल क्यान्सरमध्ये करिब १० प्रतिशतमा देखिने दुर्लभ रोग मानिन्छ। यसको पहिचान सिटी स्क्यान, एमआरआई र बायोप्सीबाट गरिन्छ। चिकित्सकहरूले यस्तो क्यान्सरको उपचार आवश्यक पूर्वाधार र विशेषज्ञ सेवा उपलब्ध भएका क्यान्सर केन्द्रमै गराउन सुझाव दिएका छन्।

प्रकाशित: ४ श्रावण २०८३ १८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App