३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा भदौ २२ गते

मध्यपुर थिमिमा भदौ २२ गते आइतबार जिब्रो छेड्ने जात्रा हुने भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ (क्वलाखु) बालकुमारी निवासी बीरेन्द्रभक्त गजू श्रेष्ठ ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा’मा जिब्रो छेडाउने भएका हुन् ।

परापूर्वकालदेखि चल्दै आएको जात्रा २०२६ सालसम्म चलेको बताइएको छ। त्यसपछि बन्द भएको जात्रालाई जिवित पार्दै बीरेन्द्रभक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका थिए । त्यसपछि २०७९ र २०८१ मा पनि उनैले जिब्रो छेडाए । यो वर्ष चौथौ पटक उनले जिब्रो छेडाउने भएका हुन् । २०७४ को वीचमा भने अन्यले जिब्रो छेडाएका थिए ।  

थिमिको दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा उनले जिब्रो छेडाउने मिति र तत् पश्चात् परिक्रमा गरिने रुटसमेत सार्वजनिक भएको छ ।  

यो वर्ष जिब्रो छेडाएर भ्ये बोकेर खाली खुट्टा हिंडेरै भक्तपुर नगरको नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने निश्चित भएको छ । थिमि नगरदेखि करिव १० किलोमिटरको दूरीलाई दिगुटोलबाट सुरु गरेर बालकुमारी मन्दिर पुगेर सम्पन्न गराउने तयारी थालेको बताइएको छ ।

जिब्रो छेडाउने व्यक्तिको इच्छा अनुसार रुट घुमाउने प्रचलन छ ।  

त्यही अनुसार यो वर्ष मध्यपुर थिमिबाट भक्तपुर नगर परिक्रमा हुने भएको हो । जिब्रो छेड्ने बीरेन्द्रभक्तले आफूले भक्तपुर घुम्ने निधो गरेकोले जात्रामा भक्तपुर घुम्ने जानकारी गराए ।

जिब्रो छेड्ने व्यक्तिसँगै सयौं दर्शनार्थी हिंड्ने गर्दछन् । यस अनुसार यो वर्ष मध्यपुर थिमिको दिगुटोलबाट सुरु हुनेछ । त्यहाबाट मध्यपुर थिमिकै बालकुमारी मन्दिर, तछुटोल (गांतले), बिष्णुबीर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोक, दक्षिण बाराही मन्दिर (क्वाछेँ), सोही रुट भएर शंखधर चोक थिमि, ताकुबा हुँदै राधेराधे पुग्नेछ । त्यसपछि मध्यपुर थिमि तरेर भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी पुग्नेछ । त्यहाँबाट क्रमशः भक्तपुर नगरको चोङा गणेश, सिद्धपोखरी, नःपुखू, दरबार स्क्वायर, न्यातापौ देगः (तःमारी), सुकुलढोका, दत्तात्रय मन्दिर (तचपाः), क्वाठण्डौं,  नवदुर्गा मन्दिर (द्यःछेँ), साःक्वलान हुँदै न्यातापौ देगः (तःमारी) फिर्ता हुनेछ । त्यहाबाट पुनः भक्तपुर नगरकै बंशगोपाल, सिद्धपोखरी, चोङा गणेश हुँदै मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा पुग्नेछ । त्यहाँबाट मध्यपुर थिमि नगरपालिका क्षेत्रको नगरपालिका चोक, पाटी बिहार, गुङ्गः चिवाः, भीमसेन चोक, गणेश स्कूल हुँदै नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलांख्यः, चोदे टोल, निगूपुखू, (क्वलाखु) बालकुमारी मन्दिर पुगेर समापन हुनेछ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जिब्रो छेड्ने बीरेन्द्रभक्तले यो वर्ष भक्तपुर नगरपालिका क्षेत्र जान चाहेकाले सहयोगको लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कुराकानी भइसकेको जनाए ।  

यो जात्रा रातको समयमा हुने गर्दछ । जात्राको साँझ मध्यपुर थिमि नगरभित्रका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेर करिव ८ बजे दिगुटोल पुगेका वीरेन्द्रभक्तलाई दुई जना सहायकमार्फत भैरव मन्दिर फर्काएर डबलीमा चढाइन्छ । त्यसपछि शुद्ध तोरीको तेलमा डुबाइ राखिएको फलामको सुइरोले जिब्रो छेडिन्छ ।

नायः पःमां (तत्कालिन थिमि दरबारका प्रमुख प्रशासक)को उपस्थितिमा बीरेन्द्रभक्तले जिब्रो छेडाएसँगै भ्ये (महादीप)लाई काँघमा बोकेर हिडेर भक्तपुर नगर परिक्रमा गराइने छ । उनीसँगै सयौंको संख्यामा संस्कृतिप्रेमीहरु भक्तपुर पुग्नेछन् । खाली खुट्टा सेतो जामा लगाएर नगर परिक्रमा गर्ने उनीसँगै ‘ताकुं भ्येः ख्वाःमस्यूसें भ्वय् नये’ भन्दै स्थानीय युवाहरु पनि सहभागी हुनेछन् ।  

कतिपयले धिमे बाजाको तालमा भुस्याः बजाएर नगर परिक्रमा गर्नेछन् । पूर्णिमाको राति जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गरेपछि अन्तमा थिमिकै बालकुमारी मन्दिरमा पुगेर कःमि नायःले सुइरो निकाले पश्चात् नित्यनाथ परिसरको माटो जिब्रोमा लगाइदिएको हुन्छ । त्यसलगतै सगुन लिएर भोज खुवाउने चलन छ भने भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी देवता पुर्‍याउन जाने अर्थात विसर्जन पूजा गर्नुपर्ने प्रावधान छ ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार यसअघि बोदे, नगदेश, टिगनी, नीलबाराही, भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको पशुपतिनाथसम्म पनि परिक्रमा गरेको इतिहास छ ।

प्रकाशित: १९ भाद्र २०८२ २०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App