२० मंसिर २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचाैं दिन माता जानकीको मटकोर विधि मनाइएको छ।

त्रेतायुगमा भगवान् श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आज मटकोर सम्पन्न गरिएको हो।

त्यस क्रममा जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको एतिहासिक गङ्गासागरमा पुगेर भव्यतापूर्वक मटकोर सम्पन्न भएको हो। यो विवाहपूर्वको विधि हो।

आज महोत्तरीको मटिहानीमा पनि ‘मटकोर’ सम्पन्न भएको छ।  मटिहानीस्थित लक्ष्मीनारायण मठले रामजानकी विवाह महोत्सवको ‘मटकोर’ विधि सम्पन्न गरेको हो। हिन्दू मैथिल परम्परामा विवाहको एक दिनपूर्व कर्मकाण्डीय विधिले ‘मटकोर’ सम्पन्न गर्ने चलन छ।

त्रेता युगमा चन्द्रमासको मङ्सिर शुक्लपञ्चमीका दिन अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र विदेह (मिथिला) नरेश शिरध्वज जनककी पुत्री जानकीको विवाह भएको सम्झनामा प्रत्येक वर्ष उत्सवका साथ यो पर्व मनाउने चलन छ।

यसपालि मङ्सिर शुकल पञ्चमी भोलि मङ्गलबार हुँदा ‘मटकोर’ आज सम्पन्न गरिएको हो।

‘मटकोर’ विधिमा मिथिलानीहरु जानकीस्वरुपा कन्यालाई अघि लगाएर मङ्गलगीत गाउँदै सागर पुगेर भूमिपूजन गर्दै माटो खनेर ल्याउँछन्।

माटो खन्ने कार्यमा पूरुषहरूको पनि सहयोग लिइन्छ। खनिएको माटोले मठ परिसरकै मन्दिरको प्राङ्गणमा वैदिक विधिपूर्वक वेदी बनाइन्छ।

यस अवसरमा जानकीस्वरुपा पात्रलाई बसाइ मङ्गलगीत गाइँदै विवाहको पूर्वाङ्ग (कन्याको घरमा विवाहपूर्व गरिने वैदिक विधि) सम्पन्न गरिन्छ।

प्रकाशित: ८ मंसिर २०८२ २१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App