अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले कृष्ण जन्माष्टमीको अवसर पारेर श्रीकृष्ण मन्दिरको उद्घाटन गर्ने भएको छ।
बागलुङ नगरपालिका–१ मालढुंगाखुदुर्केमा निर्माण गरिएको उक्त मन्दिरको कृष्ण जन्माष्टमीमा उद्घाटन गर्नेगरी तयारी गरिएको इस्कोन बागलुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ। यस पटक कृष्ण जन्माष्टमीको कार्यक्रमलाई साताव्यापी बनाउने र त्यही अवसरमा मन्दिर उद्घाटन गर्ने तयारी गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए।
‘इस्कोनको गण्डकी परियोजनाअन्तर्गत हामीले मन्दिर निर्माण गरेका छौँ, यस पटक जन्माष्टमीमा भगवानलाई घर उपहार दिँदैछौं,’ उनले भने, ‘यस पटकको जन्माष्टमी कार्यक्रमलाई साताव्यापी सञ्चालन गर्ने र त्यही बेला मन्दिर उद्घाटन गर्ने तयारी गरेका छौँ।’ यस पटकको जन्माष्टमी विशेष कार्यक्रमलाई पर्वत र म्याग्दी पुर्याउनेगरी तय गरिएको उनले जानकारी दिए।
‘विगत वर्षहरूमा एक दिनमात्रै कार्यक्रम गर्ने गरेका थियौँ, यस पटक म्याग्दी र पर्वतमा पनि कार्यक्रम गर्छौँ,’ उनले भने, ‘साउन २५ गते हाम्रो कार्यक्रम लक्ष्मीनारायण मन्दिर भएको ठाउँ बानपा–१ मा औपचारिक सुरु हुन्छ। साउन ३१ गते राति भगवान् श्रीकृष्णको जन्म राति १२ बजे भएपछि मात्रै कार्यक्रम समापन हुन्छ।’
२६ गते कुस्मा, २७ गते बागलुङ राधाकृष्ण मन्दिर र २८ गते बेनीमा कार्यक्रम गर्ने र २९ गतेदेखि ३१ गतेसम्म लक्ष्मीनारायण मन्दिर परिसरमा निर्माण गरिएको श्रीकृष्ण मन्दिरमा कार्यक्रम गर्ने उनले बताए। सप्ताहव्यापी कार्यक्रममा धार्मिक कार्यक्रमसँग हाजिरी जवाफ प्रतियोगिताको समेत आयोजना गरिएको छ। बागलुङका ४ विद्यालय, म्याग्दीका ४ र पर्वतका ४ विद्यालय गरी १२ विद्यालय यसअघि छनोट भइसकेको र बागलुङमा फाइनल प्रतियोगिता हुने उनले बताए।
साताव्यापी कार्यक्रमका लागि करिब १० लाख खर्च हुने र सबै इस्कोनका भक्तजनहरूबाट सहयोग उठ्ने उनले बताए। बृहत् गण्डकी परियोजनाअन्तर्गत ४५ करोडको डिपीआर तयार गरेर इस्कोन गण्डकीले मालढुंगामा विभिन्न संरचना निर्माणको कामलाई अगाडि बढाएको छ। अहिले पहिलो चरणमा साढे दुई करोड खर्च गरेर श्रीकृष्ण मन्दिर तयार भएको उनले जानकारी दिए।
‘पूरै परियोजना त ४५ करोडको डिपीआर हो, पहिलो चरणमा मन्दिर निर्माण भएको छ,’ उनले भने, ‘कालीगण्डकी किनारमा कटान रोक्नका लागि केही सरकारी बजेटबाट पनि काम भएको छ। बाँकी मन्दिरको काम हामीजस्तै भक्तजनहरूबाट स्वतःस्फूर्त सहयोग गरेर साढे दुई करोड खर्चमा बनेको हो।’
करिब १७ रोपनी जग्गा रहेको उक्त ठाउँमा अब धार्मिक तीर्थयात्रीहरूका लागि आश्रयस्थल र शाकाहारी भोजनालय गोविन्दाज निर्माण गर्ने योजना रहेको उनले बताए। ‘प्राकृतिक र संस्कृतिमार्फत पर्यटनको विकास गर्न सकिन्छ भन्ने देखिन्छ,’ उनले भने, ‘हाम्रो प्रकृति र संस्कृति हेर्न आएका तीर्थालु भक्तजनहरूलाई एक दिनमात्रै भए पनि यहाँ राख्न सकियो भने यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ, त्यसैले पनि हामी आश्रयस्थल बनाउने योजनामा छौँ।’
मुक्तिनाथ जाने तीर्थयात्रीहरूलाई सात्त्विक भोजन खुवाउन गोविन्दाज रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजनामा रहेको उनले सुनाए। ‘बाहिरबाट शाकाहारी भक्तजनहरू यहाँको होटेल रेस्टुरेन्टमा खाना खाँदैनन्,’ उनले भने, ‘हामीले गोविन्दाज शाकाहारी भोजनालय सञ्चालन गरेर उनीहरूको समस्या सुल्झाउने प्रयास गर्दैछौं।’ दामोदर कुण्ड र मुक्तिनाथदेखि बगेको कालीगण्डकी नदीको महिमा उच्च रहेको र यस क्षेत्रमा धार्मिक पर्यटक बढ्दै जाने उनले बताए।
‘धर्मशास्त्रमा नै प्रयागराजमा सय चोटी नुहाएजतिको पुण्य कालीगण्डकीमा एक पटक नुहाउँदा मिल्छ भनेर उल्लेख गरिएको छ,’ उनले भने, ‘अस्तिमात्रै ५२ जना चिनियाँ भक्तहरू आएर गण्डकी नुहाए। उनीहरू खुसीले रोएको देखेर म आफैँ पनि दंग परेँ। गण्डकीको महिमा ठुलो छ।’ इस्कोनभित्रैका विशिष्ट व्यक्तिहरूबाट मन्दिर उद्घाटनको तयारी गरिएको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरीधारीदासले बताए।
प्रकाशित: २३ श्रावण २०८२ १९:५७ शुक्रबार





