३० भाद्र २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

ऋषिपञ्चमी पूजासँगै सकियो चारदिने हरितालिका तीज

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मंगलबार परम्परागत विधिअनुसार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाइएको छ।

यस धार्मिक अनुष्ठान सम्पन्न भएसँगै नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीज पनि औपचारिक रूपमा समापन भएको छ।

मंगलबार बिहानैदेखि महिलाहरूले नजिकका नदी, खोला, ताल र पोखरीमा पुगेर ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर विधिपूर्वक स्नान गरेका छन्।

विशेषगरी काठमाडौं उपत्यकाका बागमती, मनोहरा र रुद्रमतीलगायत नदी किनारका स्वच्छ मुहान क्षेत्रमा स्नान गर्ने श्रद्धालु महिलाहरूको उल्लेख्य घुइँचो लागेको थियो।

धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा अन्जानवश भएका छाइछुइजन्य त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ (सप्तऋषि) को पूजा गरिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार रजस्वलाका समयमा हुने संक्रमणबाट जोगिन र शारीरिक शुद्धता कायम राख्न पूर्वजहरूले सुरु गरेको यो परम्परा स्वास्थ्य र सरसफाइका दृष्टिले समेत वैज्ञानिक रहेको छ।

पूजाआजापछि महिलाहरूले हलो नजोती उब्जिएका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो खाएर एक छाक हविष्य बस्ने व्रतविधि पूरा गरेका छन्।

ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका शिवालय तथा ऋषि आश्रमहरूमा बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको थियो।

दर खाने दिनबाट सुरु भएको चार दिन लामो तीज उत्सव ऋषिपञ्चमीको पूजासँगै आज सकिएको हो।

प्रकाशित: ३० भाद्र २०८३ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App