लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताएका छन्।
माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्ता सांस्कृतिक पर्वको प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। साथै उनले संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको तथा मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको भएको उल्लेख गर्दै उनले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने सन्देशमा बताएका छन्।
प्रकाशित: १ माघ २०८२ १२:०८ बिहीबार





