१८ माघ २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

एकमहिने माधवनारायण मेला सम्पन्न

हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला तथा व्रत सम्पन्न भएको छ। नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला आज सम्पन्न भएको हो।

मेलामा महिला तथा पुरुष व्रतालुले त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु गरेका थिए। आज हनुमानघाटस्थित त्रिवेणीधाममा व्रतालुले स्नान गरी सूर्यलाई जलार्पण गर्दै माधवनारायणको पूजा तथा होमयज्ञ गरी मेला सम्पन्न गरिएको पुजारी सरोजन शर्माले जानकारी दिए।

साँखुको शालिनदीभन्दा पहिलेदेखि नै यो मेला तथा व्रत सुरु भएको शिलालेख र ग्रन्थमा उल्लेख भएको उनले बताए। तत्कालीन राजा रणजित मल्ल स्वयं उपस्थित भएर व्रत प्रारम्भ गराएको शिलालेखमा उल्लेख रहेको जानकारी पनि उनले दिए। माधवनारायणको व्रत बस्ने व्यक्तिले त्रिवेणी कुण्डमा दैनिक नित्य पूजा तथा माधवनारायण र श्रीस्वस्थानीको कथा वाचन गर्ने परम्परा रहेको छ।

नेसं ७२२ मा रणजित मल्लले स्वयं व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख भएको बताउँदै उनले त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे मागे पनि पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्नेको आगमन हुने गरेको जानकारी दिए।

व्रतालुले खाली खुट्टा पैदल नै तिल माधवबाट तलेजु भवानीसम्म यात्रा गर्ने, सप्तमीमा पनौती गएर त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्ने, अष्टमीमा फर्कने, दशमीमा पशुपति पुगेर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलशसहित चाँगुनारायणको दर्शन गर्ने तथा माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने गरिएको व्रतालु विनोदकुमार प्रजापतिले बताए।

त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक बिहान त्रिवेणीघाटमा आएर स्नान गर्ने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी हुने परम्परा रहेको पुजारी मनोज शर्माले बताए। त्रिवेणीधाममा एक महिनासम्म गणेश, कुमार, फूल ल्याउने माली तथा पाँच जना गुरु पुरोहितले व्रत र पूजाको व्यवस्थापन गर्ने गरिएको जानकारी पनि उनले दिए।

त्रिवेणीधाममा महिलाका लागि मात्रै व्रत बस्ने व्यवस्था रहेको छ। महिला र पुरुष गरी यस वर्ष ३५ जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिले जनाएको छ। मेला समापनका दिन भने २०० भन्दा बढी महिलाले त्रिवेणीधाममा स्नान गरी व्रत समापन गरेका छन्।

हनुमन्ते खोलामा पानीको सट्टा ढल बग्न थालेपछि यहाँ व्रत बस्नेको संख्या घट्दै गएको व्रतालुहरूको भनाइ छ। भक्तपुर नगरपालिकाले ढललाई हनुमन्ते खोलामा नबगाई व्यवस्थापन गरे व्रतालुको संख्या बढ्ने उनीहरूको अपेक्षा छ।

भक्तपुर नगरपालिकाभित्रका ढल मिसिएर दुर्गन्धित बनेको हनुमानघाटस्थित हनुमन्ते खोलामा मेला सञ्चालनका लागि नगरपालिकाले डोजर प्रयोग गरी त्रिवेणीधाम क्षेत्रमा स्नानका लागि खाल्डो बनाएको थियो। उक्त खाल्डोमा राति बग्ने पानी तथा इनारको पानी जम्मा गरी स्नानको व्यवस्था मिलाइएको थियो।

प्रकाशित: १८ माघ २०८२ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App