भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजा हुने भएको छ। लक्ष्मी पूजा र गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजा हुने भएको हो।
विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा तीन दिनसम्म गौ पूजा गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। लक्ष्मी पूजा, गाई पूजा र गोवर्द्धन पूजाको दिन क्रमशः कार्तिक ३, ४ र ५ गते सामूहिक पूजा हुनेछ।
वागीश्वरीमा २०६३ सालदेखि सामूहिक रूपमा गौ पूजा गर्न थालिएको हो। तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन नेपाल सन्त समाजका महासचिव र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरु प्रसाद सुवेदीले गर्नेछन्।
सो अवसरमा वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिए।
यहाँ सामूहिक गौ पूजासँगै गोवर्धनको पर्वत बनाएर पूजा गरिन्छ। प्रत्येक वर्ष गाई र गोवर्धन पूजाको दिन गाई र गोवर्धनको पूजा गर्नेको भीड लाग्छ। धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीलाई पूजामा आउन आह्वान गरिएको छ।
पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगमा गाईको संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिए। उनले भने, ‘गाई पाल्नका लागि मासिक पाँच लाख खर्च हुने गरेको छ।’ योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई ल्याएका थिए र त्यो संख्या बढेर अहिले दुई सय पुगेको छ। यहाँ सबै स्थानीय जातका गाई पालिएको छ।
प्रकाशित: १ कार्तिक २०८२ १३:२४ शनिबार





