२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।  

प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ।

हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्व थप बढ्दै गएको छ।  

गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गरेको छ। आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ। महादेव थान संरक्षण समिति गठन गरेर यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासको काम अघि बढाइएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

'महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो', अध्यक्ष राईले भन्नुभयो, 'यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ। संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ।'

विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला पछिल्लो समय स्थानीयवासीको पहलमा पुनःसञ्चालन गरिएको छ। गाउँपालिकाले विसं २०८० देखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि यस स्थलको धार्मिक गतिविधि थप सक्रिय बनेको छ। विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ तथा भजनकीर्तन हुने गरेको छ।  

गुफासहितको प्राकृतिक बनावटले यस क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताउनुभयो। यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उनको भनाइ छ।

महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति रहेका छन्। धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस स्थललाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका-१ का वडाध्यक्ष कुमार विष्टले बताए।

वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उनले जानकारी दिए। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्नसके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने वडाध्यक्ष विष्टको भनाइ छ। 

प्रकाशित: २७ आश्विन २०८३ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App