मिथिलाञ्चलमा वर्षमा चार वटा नवरात्र मनाइन्छन्। ती हुन् - आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्ल। यीमध्ये अश्विन शुक्ल नवरात्र विश्वभरका हिन्दु धर्मावलम्बीले निष्ठा एवं उल्लासका साथ मनाउँछन्। चैत्र शुक्ल र आश्विन शुक्ल पक्षको नवरात्र पनि मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ। जसमा श्रद्धालुहरू शक्तिको आराधना गर्ने गर्छन्। आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरूलाई ‘गुप्त नवरात्र’ भनिन्छ। यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन्।
दसैंको पहिलो दिन घटस्थापनामा शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी त्यसको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ। जहाँ नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ। नौ दिन मनाइने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामना पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको सूर्यनारायण सत्यनारायण मरबैता बहुमुखी क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेश झा (ललन) ले बताए।
सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरे विभिन्न मनोभिलाषा पूरा हुने विश्वास छ। दसैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। ‘विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ,’ झाले भने।
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैंघर लिपपोत गरिन्छ। विधिपूर्वक दीप, कलश स्थापना गरी पूजा गरिन्छ। सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती, दुर्गा भगवतीको आह्वान गरेर पूजन गरिन्छ। यसरी पूजनपश्चात् सप्तधान्य छर्नुपर्छ। ‘भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी नित्य दुर्गा सप्तसतीको पाठ परायण गरेर नवरात्र सम्पन्न हुन्छ,’ उनले भने।
भिझियाको रौनक
‘तोहरे भरोसे ब्रह्म बाबा, झिझिया बनेलिए हौ, ब्रह्म बाबा झिझिया पर होइयौं ने सवार... (ब्रह्म बाबा, हजुरको कृपाले हामीले झिझिया बनाएका छौं, ब्रह्मा पिता, कृपया आउनुहोस् र यसमा सवार हुनुहोस्)’ दसैंदेखि मधेसको मिथिला तथा भोजपुरा क्षेत्रमा आयोजना हुने झिझियामा यस गीतकै धुनमा महिलाहरू झुमिरहेका छन्। मधेसबाट लोप हुँदै गएको झिझियाको मौलिकता जोगाउन गाउँदेखि सहरसम्मै झिझिया उत्सव आयोजना गरिएको पाइएको छ। मधेसको मौलिक परम्पराको प्रवद्र्धनका लागि पछिल्लो समय गाउँदेखि सहरसम्म झिझिया महोत्सव आयोजना गरिएको पाइन्छ। लहानको दुर्गा मन्दिरमा पनि प्रत्येक रात झिझिया नृत्य भइरहेको छ।
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीका अनुसार मधेस मात्र नभई मिथिलाको सांस्कृतिक एवं लोक गीत र नृत्यको प्रवद्र्धनका निमित यो परम्परालाई जीवन्त बनाउनुपर्छ। घैंटामाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो। यस्तो प्रदर्शन झिझिया नृत्यमा हुन्छ।
झिझिया नाच्नुअघि नयाँ घैंटालाई सफा गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटाको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टीतेल हालेर बालिन्छ। त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ तर टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रले सिद्ध पारिन्छ।
नृत्यमा सहभागी महिलाहरूले कुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन्, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन्। घैंटामा बलिरहेको दियोको मधुरो प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अद्भूत वातावरणको निर्माण हुन्छ र महिलाहरू लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन हुन थाल्छन्। नृत्यसँगै गाइरहने गीतमा बोक्सीलाई गाली गर्ने गरिन्छ। बोक्सीलाई गाली गर्नाले उनीहरूको मारक क्षमतामा कमी आउने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहिआएको छ। समाज रूपान्तरणसँगै लोकनृत्यहरू लोप हुँदै जान थालेका छन्।
पछिल्लो समय स्थानीय सरकारहरू यसलाई जीवन्त राख्न झिझिया नृत्यको आयोजना गरिरहेका छन्। विगतका दशकमा मधेस क्षेत्रमा बोक्सी प्रकरण व्यापक हुने गरे पनि पछिल्लो समय तुलनात्मक रूपमा कम भए पनि निमिट्यान्न भने हुन सकेको छैन। यस झिझिया नाचको उद्देश्य देवी दुर्गाको उपासना पनि हो। झिझिया नाच्दै गाइने गीतमा बोक्सीलाई गाली गरी भगवती दुर्गाको स्तुति गाइएको हुन्छ।
समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी (बोक्सी) महिलाहरू जादुमन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका नवजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई जिउँदो पारी नांगै नृत्य गर्छन्। विजयादशमीको अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाले नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीहरूको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको लोक भनाइ छ।
झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ। यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । झिझिया नृत्य अन्धविश्वास भन्नेहरू पनि प्रशस्त छन्। झिझियाको गीत र नृत्यले समाजमा बोक्सी र धामी रहेको मान्यता स्थापित गर्ने उनीहरूको भनाइ छ।
समाजमा बोक्सी र धामी छ भन्ने भाष्य निर्माण गर्नु विडम्बनापूर्ण रहेको महिला अधिकारकर्मी श्यामकुमारी साह बताउँछिन्। ‘संस्कृति भनेको सामूहिक जीवनपद्धति हो। यो सामूहिक जीवनपद्धति मानवअधिकार र अन्यायपूर्ण छ भने यसलाई संशोधन वा खारेज गर्नुपर्ने उनको विचार छ। एक शताब्दीअघिसम्म सती प्रथा संस्कृतिकै रूपमा थियो तर यो साह्रै अमानवीय थियो, जुन बिस्तारै हटाइयो। झिझिया गीत र नाचको सिधा सन्देश हो, समाजमा बोक्सी हुन्छ,’ अधिकारकर्मी साह भन्छिन्।
‘अहिले लोकनृत्यका नाममा झिझिया नचाइँदै छ। यो समाजका लागि निकै घातक छ। बोक्सीका नाममा धेरै महिलालाई मलमूत्र घोलेर खुवाइएको छ। यस्तो परिस्थितिमा समाजलाई झन् वैज्ञानिकीकरण गर्नुपर्ने, सकारात्मक सन्देश दिनुपर्ने ठाउँमा अन्धविश्वासको शिक्षा फैलाइँदै छ,’ साह भन्छिन्, ‘झिझिया नाचलाई लोकनृत्यका नाममा संरक्षण गर्नु अत्यन्त दुःखद छ। अझ दुःखद त के भने नेपाल सरकारको पैसा खर्च गरेर समाजमा अन्धविश्वास फैलाइँदै छ।’
उनी थपिछन्, ‘बोक्सी हुन्छ, धामी हुन्छ भन्ने मान्यतालाई चेतनाकरण गरिँदै छ। गरिनु के पथ्र्यो भने लोकनृत्यको नाममा झिझिया नाच नचाउँदा समाजमा धामी हुँदैन, बोक्सी हुँदैन, यी सब अन्धविश्वास हुन् भन्ने चेतना फैलाइनुपर्थ्याे।’
साहित्यकार एवं संस्कृतिविद् भने यो अन्धविश्वास नभई यसभित्र गहिरो मौलिक र सांस्कृतिक दर्शन लुकेको बताउँछन्। मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी झिझिया नृत्यमा प्रयोग हुने घैंटोले पाञ्चभौतिक शरीर, त्यसमा प्रयोग हुने डिबिया (दियो) चेतनाको प्रतीक रहेको बताउँछन् ।झिझिया नृत्य गर्ने टोलीले डिबियामा घरघर मागेर तेल हाल्ने परम्परा छ।
यसले परिवार र समाजको सहयोगबिना चेतनारूपी डिबियाको विकास हुन सक्दैन भन्ने सन्देश दिँदै आएको कापरीको तर्क छ। यो नृत्यमा लोक तथा तान्त्रिक परम्पराको मिश्रणले महान् सन्देश दिँदै आइरहेको उनको भनाइ छ। झिझियामा प्रयोग हुने घैंटोमा गरिएका असंख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्न महिलाद्वारा टाउकाको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको निहित विशेष अर्थलाई संकेत गर्छ। महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सक्दैन र उसको तन्त्र विद्या सकिने लोकविश्वास रहेको छ।
झिझिया नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ। झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन, उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ। आफ्ना शाखासन्तान, परिवारको सुस्वास्थ्य र दीर्घ जीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ।
झिझियालाई यसरी बाँधिन्छ
‘सभ्य गुरुक बन्दे पाउँ। बजर केवाडी। बजर बान्हो दसो दुआरी। मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो’ यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिलाको टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिनाहातको सहारा लिई नाच्दै ब्रह्मस्थानतिर पुग्छन्। त्यहाँ अराधना गर्छन् र त्यहीँबाट औपचारिक रूपमा नृत्य सुरु गरी गाउँका भद्रभलाद्मीको घरमा पुगी नृत्य देखाउँछन् र पूर्णाहूतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने झिझियाको मौलिक परम्परा छ। गाउँघरमा हुने यो मौलिक झिझिया पछिल्लो समय स्टेज नाचमा सीमित हुन पुगेको छ। तर यो नितान्त सांस्कृतिक अनुष्ठान हो।
भ्रमर भन्छन्, ‘वैदिक परम्पराका रूपमा रहेको घट नृत्य नै कालान्तरमा गएर झिझिया नृत्यको स्वरूप धारण गरेको मानिन्छ। यो पूर्ण रूपले तान्त्रिक नृत्य हो र यसको आफ्नै मौलिक स्वरूप छ। एक डेढ दशकअघिसम्म पनि घटस्थापनाको दिनदेखि विजया दशमीसम्म रात्रिकालमा महिला र युवतीहरूको समूहले झिझिया नाच्दै गाउँघर र टोलटोल घुम्ने गरेका दृश्य देख्न सकिन्थ्यो। महिलाले टाउकामा माटाको घैंटो राखेर त्यसभित्र बलिरहेको डिबिया राख्थे। घैंटामा धेरै प्वाल बनाइएका हुन्थे, जसबाट बलिरहेको डिबियाको मधुरो प्रकाश सकारात्मक ऊर्जा सञ्चार हुन्थ्यो।
जनविश्वासअनुसार बोक्सीहरूले घैंटामा रहेको प्वाल गणना गर्न सफल भए नर्तकीको तत्काल मृत्यु हुन्थ्यो त्यसैकारण झिझिया नाचिरहेका महिलाको खुट्टा निरन्तर चलिरहन्थ्यो। उनीहरू निरन्तर नथाकी नृत्यमा मग्न हुन्थे। अहिले गाउँघरमा त्यस्तो दृश्य विरलै देख्न सकिन्छ। झिझियालाई उत्सवका रूपमा आयोजना गरेर यसलाई जीवन्त राखिरहेको पाइन्छ। तर यसको मौलिकता विरलै भेटिन्छ।
पहिला गाउँघरमा झिझिया हेर्न साना केटाकेटीलाई वर्जित थियो। त्यतिबेला दसैंमा नकारात्मक ऊर्जाको व्यापक प्रयोग तथा प्रवाह हुने भय हुन्थ्यो। नकारात्मक ऊर्जाको प्रभावबाट जोगाउन बलबालिकालाई कालो धागो र कपडामा लसुन बेरेर घाँटीमा झुन्ड्याइन्थ्यो। ‘दसैं अवधिभर झिझिया नाच्दै हिँडेकी महिलाहरूले घरघरबाट तेल मागेर डिबियामा थप्ने परम्पराको पनि कारण थियो,’ भ्रमर भन्छन्, ‘चैतन्य शक्ति जगाउनु छ भने तेल दिनुस् भनेर मागिन्छ।’
त्यो बेला घरका बुढापाकाले मात्रै तेल र केही अन्न, रुपैयाँपैसा प्रदान गर्थे। जसले विजया दशमीको दिन प्रसाद वितरण गरेर झिझिया नाच विसर्जन गरिन्थ्यो। झिझिया नाचको आफ्नै विज्ञान छ। झिझियालाई तान्त्रिक परम्परा र विज्ञानसँग जोडेर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको तर्क छ। ‘झिझिया नाचमा तान्त्रिक विधिको विशेष महत्तव छ। यो मिथिलाको लोक परम्पराका रूपमा बिस्तारै विकास हुन पुग्यो। मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक तथा सांस्कृतिक परम्परालाई जोगाउनु र प्रवद्र्धन गर्नुपर्ने मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भ्रमर बताउँछन्।
प्रकाशित: ११ आश्विन २०८२ १०:१४ शनिबार





