२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

बागलुङमा मात्र देखिने दुर्लभ ‘जोगी नाच’, जोगाउन सकस

नेवार समुदाय अन्तर्गत शाक्यहरूले बागलुङमा प्रस्तुत गरेका जोगी नाच। तस्बिर: सङ्गम/'नागरिक।

अनुहार र शरीर भरी विभिन्न रङ पोतिएका छन्। धेरै जसोको जिउमा शिव लिङ्ग र सर्पको आकृति देखिन्छ। शिरमा जटा, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्को हातमा लट्टी छ।

कतिको हातमा डमरु देखिन्छ। शरीरको तल्लो भागमा गेरु वस्त्र लगाएका कतिपयले हातमा कमण्डलु पनि समातेका छन्। सबै जना ढोलक र झ्यालीको तालमा ताल मिलाएर नाचिरहेका छन्।

कतिपयले जोगीले जस्तै घर घरमा पसेर भिक्षा मागिरहेका छन्। यो बागलुङमा बजारमा प्रदर्शन गरिएको लोपोन्मुख जोगी नाचको दृश्य वर्णन हो।

आज भन्दा करिब २५० वर्ष पुरानो जोगी नाच काठमाडौं उपत्यकाको भक्तपुरबाट बागलुङमा भित्र्याइएको हो। अहिले भक्तपुरमै लोप भैसकेको छ। बागलुङमा भने हरेक वर्ष यो नाच प्रस्तुत गरिन्छ।

यो नाच अहिले बागलुङमा मात्रै प्रचलनमा रहेको संस्कृतिकर्मी शाक्य कल्याण समाज बागलुङका पूर्व अध्यक्ष मुकुन्द शाक्य बताउँछन्। ‘भदौरे जात्राका अन्य नाचहरु नेवार र विशेषगरी शाक्य जाति भएको सबैजसो ठाउँमा पाइन्छ,’ उनले भने,‘यो जोगी नाच अहिले बागलुङमा मात्रै जीवित छ। अन्यत्र कतै पनि देख्न पाइँदैन।’

जनपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म भदौरे नाच अन्तर्गतका विभिन्न नृत्यहरू देखाइन्छ।

बागलुङमा २५० वर्षको इतिहास भए पनि यो नाचको सुरुवात कसरी भयो भन्नेबारे अझै कुनै त्यस्तो विश्वसनीय प्रमाण भेटिएको छैन। ‘यो समयबाट नै सुरुवात भएको भन्ने अहिलेसम्म यकिन छैन,’ शाक्य भन्छन्, ‘पर्वतका राजाले व्यापार व्यवसाय गर्ने र विभिन्न भाँडा वर्तन बनाउने शाक्य र नेवार समुदायलाई भक्तपुरबाट ल्याएपछि बागलुङमा करिब सात पुस्ता देखि यो नाच नाच्न थालेको सामान्य लिखतहरूमा भेटिन्छ।’

जोगीको भेषमा नाच्दा पनि तालमा ताल मिलाएर नाच्नुपर्छ। ‘बाहिरबाट हेर्दा त्यसै हल्लिएको जस्तो देखिन्छ तर तालमा ताल मिलाए नाच्नुपर्छ,’ उनले भने,‘यसको लागि पूरा तालिमको आवश्यकता पर्छ।’

जोगीको रूप निकाल्नका सिँगार पटार गर्ने गरिन्छ। भदौरे नाचको विभिन्न पक्रिया सकिएपछि सबै काम सकियो अब तीर्थ व्रत गर्न जानुपर्छ भनेर जोगी नाच नाच्ने गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका राजनकुमार शाक्य बताउँछन्।

‘बर्खा यामको समयमा गर्ने सबै कामहरूलाई हामीले नृत्य मार्फत भदौरे जात्रामा देखाउँछौँ,’ उनी भन्छन्, ‘अब सबै काम सकियो तीर्थ व्रतका लागि जाऔं भन्ने सन्देश स्वरुप जोगी नाच नाच्ने गरिएको छ। त्यसैले पनि अन्तिममा यो नाच नाचिन्छ।’

अहिलेको युवापुस्तामा चासो कम हुँदै गएका कारण यी संस्कृतिहरू जोगाउन कठिन हुँदै गएको उनको भनाई छ। ‘अहिले युवालाई संस्कृतिप्रति चासो र रुचि छैन, त्यसले गर्दा पनि जोगाउन कठिन हुँदै गएको छ। यसलाई संरक्षण गर्नका लागि राज्यका निकायहरूले पनि चासो दिनुपर्ने बेला आएको छ,’ उनले भने।

नेवारी समुदाय व्यापारिक घरानाको रुपमा देखिन्छ। जहाँ जहाँ व्यापार व्यवसाय फस्टाएको छ, त्यहाँ नेवारहरूको उपस्थिति प्रशस्तै छ। बर्खा सकिएको संकेत गर्दै गाउँ गाउँबाट मानीहरूलाई बजारसम्म ल्याउनका लागि यो नाच प्रदर्शन गरिएको पाइन्छ।

‘भदौ लाग्दा गाउँघरमा सबै काम सकिएर चाडबाड आउने सुरु भएको हुन्छ,’ उनी भन्छन्, ‘यो नृत्य देखाएर मानिसहरूलाई आकर्षण गर्ने र त्यसैको मेलोमा व्यापार बढ्ने भएका कारण यस्तो नचाउन सुरु भएको हो। अझै पनि गाउँघर तिर राम (मेला) हेर्न जाने भन्ने चलन छँदै छ।’

पूर्वजहरूको धरोहरको रुपमा रहेको जोगी नाच यहाँ पनि लोप हुने क्रममा छ। यसलाई जोगाउनका लागि आफूहरू लागि परे पनि निकै गाह्रो भइरहेको मुकुन्द शाक्य बताउँछन्।

‘अहिलेको प्रविधिको विकासले गर्दा यसलाई जोगाउन निकै चुनौतीपूर्ण बन्दै गएको छ,’ उनी भन्छन्,‘ अहिले रमाइलो गर्ने साधन प्रशस्त भेटिए। यस प्रकार संस्कार संस्कृतिका लागि कलाकार पाउनै गाह्रो छ। पुरानो पुस्ता सकिँदै जाँदा नयाँ पुस्ताले सजिलै ग्रहण नगर्दा समस्या भइरहेको छ।’

अहिले यहाँबाट बसाई सर्ने र नयाँ युवाहरूलाई पर्याप्त तालिमको व्यवस्था गर्न नसक्दा जोगी नाच हराउने चिन्ताले उनले सताउँछ। ‘यो बचेको बागलुङ मात्रै हो, कलाकार नभएपछि यहाँ पनि हराउने चिन्ता छ,’ उनी भन्छन्,‘म्याग्दीले केही सिको गर्न खोजिरहेको छ। तालिम दिन नपाउँदा सजिलो छैन।’

भदौरे जात्रा अन्तर्गत रोपाइँ नाचमा गीत हुन्छ। अन्य प्रायजसोमा गीत हुँदैन र जोगी नाचमा पनि गीत हुँदैन। क्रमशः सङ्कटमा पर्दै पर्दै गएको मौलिक सांस्कृतिक नृत्यलाई सरोकारवालाको सहयोग पाए बचाउन सकिने उनको विश्वास छ।

अहिले संस्कार जोगाउन स्वतः स्फूर्त लाग्नेहरूको जमात सकिँदै गएको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य बताउँछन्। ‘यो बेलामा त हामीले अनिवार्य भनेर उर्दी नै जारी गर्छौं र मान्छेहरू निस्कन्छन्,’ उनी भन्छन्, ‘नयाँ पुस्ताले यसलाई ग्रहण गर्न सकेका छैनन्। पहिले जस्तो आफ्नै स्वेच्छाले आउनेहरू छैनन्।’

यहाँका नेवार समुदायले निकाल्ने भदौरे जात्रा अन्तर्गत लाखे नाच र जोगी नाच शाक्यहरूले निकाल्ने गर्छन्। भदौरे जात्राको अन्तिममा जोगी नाच निकालिन्छ भने लाखे नाच तीजसम्म रहन्छ। कृष्ण जन्माष्टमीसँगै भदौरे जात्रा पनि सकिएको छ।

प्रकाशित: ३१ श्रावण २०८२ २०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App