अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल अर्घा दरबार तथा अर्घाभगवती मन्दिरमा ऐतिहासिक लाखे नाच भएको छ।
श्रीकृष्णजन्माष्टमीका अवसरमा लिच्छिवीकालदेखि नै अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा पञ्चेबाजाको तालमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ। श्रीकृष्णजन्माष्टमीको दिन प्रहर, प्रहरमा भगवान् श्रीकृष्णको पूजाआजा र कालभैरवको पूजागरी कालभैरवको अगाडि लाखे नाच नाच्ने परम्परा रहेको अर्घा मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए।
लाखे नाच नाच्दा भगवान् शिव र भगवती देवी खुसी हुने धार्मिक मान्यता छ। भगवान् शिवको प्रतीकका रूपमा कालभैरव जस्तै गरी लाखे नाचिन्छ। यहाँ नाचिने यो नाच अर्घाको लाखे नाचले पनि परिचित रहेको स्थानीय ठाकुर गन्धर्वले बताए। यो नाच सात तालसम्म नाचिन्छ।
कंशको वध गर्न कृष्ण जन्मिएको खुसियालीमा बाइसेचौबिसे राज्य अन्तर्गत पर्ने अर्घा भगवती मन्दिरमा लाखे नाच नाच्ने परम्परा रहेको स्थानीय कृष्ण भुसालको भनाइ छ।
प्रकाशित: १ भाद्र २०८२ १२:५० आइतबार




