चाँगुनारायण मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्त्व बोकेको धार्मिक र पुरातात्त्विक सम्पदा हो। यसलाई भगवान् विष्णुको मन्दिरका रूपमा लिइन्छ। यो मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो। चाँगुनारायण मन्दिर नेपालकै सबैभन्दा पुरानो ऐतिहासिक धरोहर पनि हो।
यो मन्दिर चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। लिच्छवीकालमा यो मन्दिरको नाम डोलागिरी स्वामी थियो भन्ने पनि लेखिएको पाइन्छ। चाँगुनारायण मन्दिर रहेको डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको यो मन्दिरलाई डोलाशिखर स्वामी भनिएको भनेर पनि लेखिएको पाइन्छ। पछि मल्लकालमा आएर यो मन्दिरको नामाकरणमा नेपालभाषाको प्रभाव पर्यो। नेपालभाषामा चाँपलाई ‘चँ’ र वनलाई ‘गुँ’ भनिन्छ।
मन्दिरको वरपर चाँपको वन भएकाले त्यो वनमा रहेको नारायण मन्दिरलाई नेपालभाषामा चँगुनारायण भन्न थालियो र पछि अपभ्रंश भएर चाँगुनारायण भएको भन्ने पनि लेखिएको पाइन्।
ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको र प्राचीन सभ्यताको अद्भुत नमुनाका रूपमा रहेको यो चाँगुनारायण मन्दिर काठमाडौं उपत्यकाकै सबैभन्दा पुरानो मन्दिर हो र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा पनि हो। यो मन्दिर लिच्छविकालीन राजा हरिदत्त वर्माले ५२१ सालमा स्थापना गरेको मानिएको छ। पछि राजा मानदेव आफ्नो पिताको मृत्युपछि दोष निवारणार्थ आफ्नी आमाको साथमा चाँगुनारायणमा पूजा गर्न आएको मन्दिर परिसरमा गरुडको मूर्ति स्थापना गरी शिलालेख समेत राखेको इतिहासका पानाहरूमा लेखिएको पढ्न पाइन्छ। यो शिलालेख नेपालकै सबैभन्दा पुरानो शिलालेखको रूपमा चिनिन्छ।
नेपालको मौलिक प्यागोडा शैलीमा निर्मित यो मन्दिर वास्तुकलाको अनुपम नमुनाको रूपमा रहेको छ। यो लिच्छविकालीन वास्तुकलाको अनुमप नमुना पनि हो। चतुष्कोण आकारमा रहेको यो मन्दिर दुई तल्लाको छ। मन्दिरको तल्लो तल्लाको छानो झिँगटीले छाइएको छ भने माथिल्लो तल्लाको छानो पित्तलको पाताले छाइएको छ।
मन्दिरको दुवै तल्लामा मझौला आकारका झ्यालहरू छन्। दुवै तल्लामा गरी ४० वटा टुँडालहरू छन्। प्रत्येक टुँडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन्। माथिल्लो तहका टुँडालहरूमा रुख–लहरा, बिचमा शिव र विष्णुका अनेक स्वरूपहरू र तल्लो तहमा मानिस, पशुपन्छी आदिका मूर्ति कुँदिएका छन्। मन्दिरको चारै दिशामा चार मुख्य ढोकाहरू रहेका छन्। प्रत्यक मूल ढोकाको दायाँ–बायाँ नखुल्ने ढोकाहरू छन्। मन्दिरको पश्चिमपट्टिको ढोका प्राय खुला रहन्छ। दर्शनार्थी भक्तजनहरूले यसै ढोकाबाट भगवानको पूजा र दर्शन गर्ने गर्दछन्।
चाँगुनारायण मन्दिर भगवान् विष्णुको स्वरूप भएकाले यहाँ परम्परागत रूपमा वैष्णव परम्पराअनुसार पूजा गरिँदै आएको छ। माघ शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, नागपञ्चमी, जनैपूर्णिमा आदि विशेष अवसरहरूमा यहाँ विशेष पूजा एवं मेला लाग्ने गर्दछ। यहाँ दैनिक बिहान–साँझ नित्य पूजा पनि हुने गर्दछ।
आफ्नै जिल्लामा रहेको विश्वसम्पदामा सूचीकृत यति प्रख्यात मन्दिरका बारेमा आफूलाई सोधिएका प्रश्नहरूको उत्तर दिन नसकेर मलाई धेरैचोटि लज्जित हुनुपरेको छ। पटकपटकको लज्जाबोधपछि गत २०८२ भदौ २१ गते शनिबार दिउँसो १ बजे म उनीसँगै चाँगुनारायण अवलोकनका लागि घरबाट हिँडेँ। हाम्रो परम्पराअनुसार भगवानको दर्शन गर्न प्रायः बिहान गइन्छ। म दिउँसो जान लागेको हुँदा मैले अवलोकन भनेको हुँ।
रत्नपार्क–व्यासी–कमलविनायक रुटमा चल्ने मिनिबस चढेर भक्तपुरको देकोचासम्म गयौं। त्यहाँबाट फेरि चाँगुनारायण जाने भाडाको मिनिबस चढेर चाँगुनारायण पुग्यौं। त्यहाँ हरेक आधा घण्टामा यात्रुबस आउने रहेछ। चाँगुनारायण मन्दिर भक्तपुर सहरबाट उत्तरतर्फ ६ किलोमिटरको दुरीमा रहेको छ।
शनिबारको दिन। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र प्ुरातात्विक सम्पदाको दर्शन तथा अवलोकनका लागि दर्शनार्थी तथा अवलोकनकर्ताको भिड होला भन्ने मेरो अनुमान थियो। दर्शनार्थी तथा अवलोकनकर्ताको भिडले मन्दिर परिक्रमा गर्न धेरै समय लाग्ने हो कि भन्ने चिन्ता पनि थियो। तर मेरो अनुमानले फेल खायो।
मन्दिरभन्दा अलि तलपट्टि दुई–तीन वटा प्राइभेट कार, छ–सात वटा मोटरसाइकल र हामी चढेर गएको मिनिबस मात्रै थियो। बसपार्कसँगै चिया–खाजा खाने दुई–तीन वटा पसल रहेछन्। बाटो छेउमा पानीपुरी र चटपटे बेच्ने दुई वटा पसल रहेछन्।
मन्दिर परिसरमा पुग्न थोरै ठाडो बाटो हिँड्नुपर्ने रहेछ। पश्चिम दिशा ताकेर हिँड्दा घामको किरणले मुखैमा चुम्बन गर्यो। गर्मी छल्न हत्केलाले घाम छेक्ने प्रयास गरियो । तर हत्केलाले घाम कहाँ छेकिन्थ्यो र!
ढुङ्गाले छाएको बाटो हिँड्नका लागि सहज र सफा थियो। बाटोका दुवैपट्टि लहरै नेवारी परम्परागत शैलीका घरहरू थिए। हरेक घर पसलजस्तै थिए। कुनै न कुनै सामान बिक्री गर्न बसेका थिए पसलेहरू। कुनैकुनै घरमा सामान बनाउँदै गरेको देख्न पाइयो, जस्तै– काठका मूर्तिहरू। पर्यटकलक्षित केही रेष्टुरेन्ट पनि रहेछन्, तर त्यहाँ पर्यटक थिएनन्। पसलहरूमा ग्राहक थिएनन्। रेस्टुरेन्ट पनि खाली थिए, पर्यटक थिएनन्। व्यापारीका उदास अनुहार देखेर मन खिन्न भयो। यति प्रख्यात विश्वसम्पदा क्षेत्र पनि पर्यटक शून्य ? अचम्म लाग्यो।
मन्दिरतर्फ हिँड्दै गर्दा बाटोको दायाँबायाँका व्यापारीले यो लानूस् र त्यो लानूस् भनेर जोरजबरजस्ती गरेनन्। सभ्य रहेछन् व्यापारीहरू। ग्राहकलाई जोरजबरजस्ती गर्नु हुन्न भन्ने सभ्यता जानेका रहेछन्। खुसी लाग्यो। तिनको यो सुन्दर सभ्यताको मनमनै प्रशंसा गरेँ।
एकैछिनमा मन्दिर परिसरमा पुगियो। त्यहाँ पनि दर्शनार्थी र अवलोकनकर्ताको संख्या नगण्य थियो। दायाँ–बायाँका पुरातात्त्विक संरचना नियाल्दै मन्दिरको पश्चिम ढोकामा पुगियो। नारायणको दर्शन र पूजाका लागि चार–पाँच जना महिला–पुरुष ढोकामा उभिएका रहेछन्। हामी पनि उभिन पुग्यौं। पुजारीले सबैका शरीरमा पर्नेगरी जल छर्किदिए। त्यसैत्यसै पनि शरीर शुद्ध भएको महसुस भयो। मन पुलकित भयो र चङ्गा भयो। मनमा बेग्लै प्रकारको आनन्दको अनुभूति भयो। सम्भवत भगवान्को मन्दिरमा पुग्दा प्राप्त हुने नै यत्ति हो र यही नै सबैभन्दा ठुलो प्राप्ति हो। पुण्य, धर्म र मुक्ति के हो, त्यो मलाई थाहा छैन। मैले हरेक पटक मन्दिरमा पुग्दा प्राप्त गर्ने गरेको मुख्य कुरा मनको शान्ति र आनन्द हो।
हामीसँग पूजा सामग्री थिएन। पूजा सामग्री बेच्नेहरू पनि देखेनौं। त्यसैले भेटी मात्रै चढायौं। नारायणको दर्शन गर्यौं। पुजारीले टीका लगाइदिए। फूलप्रसाद पनि दिए। पुनः जल छर्किदिए। हामी मनको शान्ति र आनन्दले विभोर भएर फर्कियौं।
‘आज खाली रहेछ। आनन्दपूर्वक दर्शन गर्न पाइयो। एकादशी, पञ्चमी, पूर्णिमामा त पाइला टेक्ने ठाउँ हुँदैन,’ उनी भन्दै थिइन्। उनी दुई–तीन पटक यहाँ आइसकिन्, टोलका महिला समूहसँग चार नारायण घुम्ने सिलसिलामा।
फर्किने क्रममा मन्दिर र मन्दिर वरपर दायाँबायाँका संरचना (सत्तल) हेर्दै हिँड्यौं। धर्मशालाजस्ता सत्तल, सत्तलका झ्यालहरू सुनसान थिए। सत्तल र सत्तलका झ्यालहरू एकनासले टोलाइरहेजस्ता लागे। उदास र निराश भए जस्ता लागे। दर्शनार्थी भक्तजन, अवलोकनकर्ता र पर्यटकहरूको चहलपहल हुँदा उज्याला र खुसी देखिने यी मन्दिर, सत्तल र सत्तलका झ्याल–ढोकाहरू निराश र उदास भएको देखेर मेरो मन पनि खिन्न भयो। यी सबैले मिलेर ‘हामीलाई हेर्न किन धेरै दर्शनार्थी भक्तजन, अवलोकनकर्ता र पर्यटकहरू आउँदैनन्?’ भनेर सोधिरहेजस्तो लाग्यो।
किन आउँदैनन् दर्शनार्थी भक्तजन, अवलोकनकर्ता र विदेशी पर्यटकहरू? किन भिड लाग्दैन यहाँ प्रेमले ओतप्रोत भएर एकअर्कामा आलिङ्गनबद्ध भएर हिँड्ने युवायुवतीहरू? किन लर्को लाग्दैन नारायण! नारायण! भन्दै नारायणको नाम जप्ने भक्तजनहरू? किन आउँदैनन् अवलोकनकर्ता, अध्येता र विदेशी पर्यटकहरू? पशुपतिनाथको मन्दिर, बौद्धनाथ, स्वयम्भुनाथ, भक्तपुर दरबार क्षेत्र, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्रको अवलोकन गर्न हजारौं स्वदेशी तथा विदेशी पर्यटक आएजस्तै यहाँचाहिँ किन आउँदैनन्? धर्म, संस्कृति, सम्पदा र इतिहासको सङ्गम बनेको यो पवित्रस्थलमा मानवपाइलाहरू किन कम भएको होला ? मेरो मनले भावुक हुँदै यस्तै प्रश्न सोधिरह्यो । जवाफ दिने कोही थिएनन्।
सांस्कृतिक सम्पदाअन्तर्गत काठमाडौं उपत्यकाभित्रका तीन वटा ऐतिहासिक दरबार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दु मन्दिर स्मारक गरी सात वटा स्मारका क्षेत्र विश्वसम्पदा सूचीमा परेका छन्। नजिकको अर्को विश्वसम्पदा भक्तपुर दरबार क्षेत्रमा पर्यटकको भिड लाग्छ। उस्तै विश्वसम्पदा चाँगुनारायणमा किन पर्यटकको भिड लाग्दैन? के छैन यहाँ? केको कमी छ यहाँ? जिल्लामा अवस्थित डोलेश्वर मन्दिर छोटै समयमा निकै चर्चित धार्मिकस्थल बन्न सफल भयो। यो चर्चित विश्वसम्पदाचाहिँ किन क्रमशः ओझेलमा पर्दै गयो? यहाँ त विश्वभरका पर्यटकको ओइरो लाग्नुपर्ने हो। किन लागेन? सम्बन्धित निकायले सोच्नैपर्ने भएको छ।
चाँगुनारायण मन्दिर ऐतिहासिक, धार्मिक र प्ु रातात्विक सम्पदासँगसँगै आकर्षक पर्यटकीय स्थल पनि हो। यहाँबाट सुन्दर काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गर्न सकिन्छ। उत्तरतर्फको सुन्दर र मनमोहक हिमाली दृश्यको अवलोकनबाट आनन्द पनि प्राप्त गर्न सकिन्छ। हजारौं पर्यटकलाई आकर्षित गरेर स्थानीय उत्पादन र रोजगारीलाई प्रवर्द्धन गर्दै आर्थिक लाभ हासिल गर्ने र स्थानीय सरकारका लागि आकर्षक आर्थिक स्रोत बनाउने अवसरलाई गुमाइरहेछ झैं लाग्यो चाँगुनारायण नगरपालिकाले।
‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार’ भन्ने नारा बोकेको चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरको पर्यटकीय सम्भावनाको आधारशिला निर्माण गरे दीर्घकालीन आर्थिक लाभ हासिल गर्न सकिनेछ।
झट्ट हेर्दा पशुपतिनाथको मन्दिरजस्तै लाग्छ चाँगुनारायण मन्दिर र मन्दिर परिसर पनि तर किन यहाँ दर्शनार्थी भक्तजनको भिड लाग्दैन? अध्येता र अवलोकनकर्ताको किन भिड लाग्दैन? मन्दिर जाने बाटैमा सानो सङ्ग्रहालय पनि छ । त्यहाँ पनि पर्यटकशून्य छ। सबैको फुर्सद हुने दिन हो शनिबार। शनिबारको दिन पनि मान्छेको भिड नलागे कहिले लाग्छ होला यहाँ? भिड लाग्न माघ शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, नागपञ्चमी र जनैपूर्णिमा नै कुर्नुपर्ने हो चाँगुनारायण मन्दिरले?
यस्तै सोचिरहेको बेलामा मेरा आँखा रमेश गिरीलिखित, गोरखापत्रमा प्रकाशित समाचारमा परे। पढ्दै जाँदा थाहा भयो अव्यवस्थापनले ओझेलमा परेको रहेछ युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र पुरातात्विक महत्त्वको चाँगुनारायण मन्दिर।
चाँगुनारायण मन्दिरका नाममा रहेका विभिन्न समिति र पुजारीहरूमै आरोप प्रत्यारोप रहेको, जात्रापर्व चलाउन गुठीदेखि सरकारले समेत चासो नदिएकोले मन्दिर संरक्षणमा चासो घट्दै गइरहेको, पुरातत्व विभागले यसको विकासमा प्रभावकारी कार्य गर्न नसकेको, गुठी संस्थानले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणमा चासो नदिएको, पुजारीहरूले भेटी व्यवस्थापन नगरेको, चाँगुनारायणको मूल मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर महादेव मन्दिरमा रहेका पुजारीबिच नै द्वन्द्व र सङ्घर्ष रहेको, भेटी पुजारी आफैंले राख्ने गरेको, सत्तलमा समेत ताल्चा लगाएको, विदेशीलाई सत्तल भाडामा दिएको, सम्पत्तिको संरक्षण नभएको, मूलढोका र मन्दिर परिसरमै पसल सञ्चालन गरेको, मन्दिर क्षेत्रमै फोहोर थुपारिदिने गरेकोलगायत अनगिन्ती समस्याहरू रहेको गिरीले समाचारमा लेखेका छन्। यहाँका जात्रापर्वमा अत्यावश्यक बाजा लगायतका परम्परा नै लोपको सङ्घारमा पुगेको समेत उनले समाचारमा लेखेका छन्।
जुनसुकै संस्थाको व्यवस्थापन प्रभावकारी र चुस्तदुरुस्त भए त्यसको नतिजा सुखद् हु्न्छ। व्यवस्थापन कमजोर भए त्यसको नतिजा पनि निराशाजनक नै हुन्छ। चाँगुनारायण मन्दिरको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ। व्यवस्थापन पक्ष कमजोर बनिदिँदा विश्वसम्पदा सूचीमा सूचीकृत प्रख्यात चाँगुनारायण मन्दिर क्रमशः ओझेलमा पर्दै गएको छ। युनेस्कोको मादपण्ड पूरा नभए अथवा त्यसलाई कायम गर्न नसके उसले विश्वसम्पदा सूचीबाट हटाउन पनि सक्छ। चाँगुनारायण मन्दिरको सन्दर्भमा यो खतरा बढिरहेको महसुस हुन्छ।
अतः व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकाय र स्थानीय निकायले यथाशीघ्र ध्यान दिनु वाञ्छनीय हुनेछ।
प्रकाशित: २२ कार्तिक २०८२ ०७:४६ शनिबार





