भक्तपुरको ऐतिहासिक विस्का जात्रामा पहिलो पटक महिलाले रथ तानेर नयाँ इतिहास रचेका छन्। भक्तपुरको इछी टोलस्थित भद्रकाली अजिमाको रथ, स्थानीय नेपाल भाषामा ‘नकिंजू खचा’, बिहीबार सयौँ महिलाले तानेर गन्तव्यसम्म पुर्याएका हुन्।
परम्पराअनुसार रथलाई इछी टोलबाट न्यातापोल मन्दिरअगाडि पुर्याइएको थियो। झन्डै आधा घण्टासम्म दुईवटा डोरीको सहायताले महिलाहरूको ठूलो समूहले रथ तानेर न्यातापोल क्षेत्रसम्म पुर्याएको थियो।
विगतका वर्षहरूमा यो रथ पुरुषहरूले मात्र तान्ने परम्परा थियो। यस वर्ष भने आयोजक भद्रकाली अजिमा गुठीले महिलाहरूलाई सहभागी हुन विशेष आह्वान गरेपछि सयौँ महिला जात्रास्थल पुगेका थिए। उनीहरूको उत्साहपूर्ण सहभागिताले जात्रालाई अझ समावेशी र आकर्षक बनाएको स्थानीयवासीले बताएका छन्।
इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्का जात्रा पूर्वमध्यकालदेखि तीन सय वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरका रूपमा रहेको बेला यो जात्राले राष्ट्रिय महत्त्व बोकेको थियो।
उनका अनुसार वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्य पतन भएपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक तथा प्रशासनिक महत्त्व गुमायो र विस्का जात्रा स्थानीय पर्वमा सीमित बन्न पुग्यो। पछिल्ला वर्षहरूमा भने यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोकलगायत स्थानबाट सयौँ दर्शक आउने गरेका छन्।
लामो इतिहास बोकेको यस जात्रामा महिलाले रथ तानेको प्रमाणसहितको लिखित अभिलेख नभएकाले यो परम्परा पहिलो पटक सुरु भएको मानिएको छ। दशकौँदेखि पुरुषले मात्रै तान्दै आएको रथ यसपालि महिलाको नेतृत्वमा तानिएको हो।
जात्रासँग जोडिएको धार्मिक मान्यताअनुसार भैरवनाथ र भद्रकाली अजिमाबीच ‘झगडा’ भएपछि अजिमा रिसाएर माइतीघर इछी टोलमा बस्न जानुभएको विश्वास गरिन्छ। त्यसपछि विशेष पूजा, नयाँ साडी र सामग्रीसहित अजिमालाई फकाएर पुनः तमारीस्थित घर फर्काइने परम्परा छ। यसलाई स्थानीय भाषामा ‘द्यो क्वहानेगु’ अर्थात् देवता तल सवारी हुने भनिन्छ।
आयोजकले यस वर्ष महिलालाई विशेष प्राथमिकता दिँदै आमा, दिदीबहिनी तथा चेलीहरूलाई रथ तान्न आमन्त्रण गरेका थिए। भक्तपुरका पुरुषहरूलाई पनि महिलाहरूलाई हौसला दिन र साथ दिन आग्रह गरिएको थियो।
भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण ल्योसिंद्य (लिंगो) उठाउने र ढाल्ने परम्परा भए पनि यस वर्ष महिलाले रथ तानेको कार्यक्रम विशेष आकर्षण बनेको थियो। अन्य दिनझैँ बिहीबार पनि हजारौँ जात्राप्रेमी जात्रा अवलोकन गर्न पुगेका थिए।
भक्तपुरको विस्का जात्रा चैत २७ गतेदेखि सुरु भएको हो। जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम दिन पोटरी स्क्वायरमा उठाइएको हात नभएको अर्को ल्योसिंद्य ढालिनेछ भने साँझ भैरवनाथको रथ तानिनेछ। यससँगै आठ रात नौ दिन लामो विस्का जात्रा सम्पन्न हुने परम्परा छ।
प्रकाशित: ३ वैशाख २०८३ २०:४४ बिहीबार





