२२ पुस २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

दुर्गामूर्तिले झकिझकाउ नेपालगन्ज

बडादसैंको आगमनसँगै ऐतिहासिक सहर नेपालगन्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ। सहरका चोकचोकमा स्थापना गरिएका दुर्गामूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैंको उमंग ल्याएको छ।

नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन। एउटै टोलमा दुई/तीनवटा मूर्ति स्थापना गरिएको छ। दसैंका बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए। उनका अनुसार दुर्गामूर्तिमा घटस्थापनादेखि राति अबेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ।

दुर्गामूर्ति स्थापना भएपछि मात्रै दसैंको उमंग सुरु हुने गर्दछ। घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा मूर्तिका आँखाबाट पट्टी खोल्ने काम हुन्छ। महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले बध गरेको हुनाले सो दिन मूर्तिका आँखा खोल्ने परम्परा छ। नेपालगञ्जमा दसैंको भोलिपल्ट एकादशीका दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा विसर्जन गरिन्छ।

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनक छाएको छ। एकाबिहानदेखि राती अबेरसम्म भजनकीर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजनकीर्तनमय भएको नेपालगन्ज -१८ का केपी बन्जाडाले बताए। उनका अनुसार बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको छ।

दुर्गामूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजाआजा र भजनकीर्तनका लागि पुग्ने गरेका छन्। दुर्गामूर्तिको स्थापनासँगै राति अबेरसम्म पनि नेपालगन्जवासी बजारका चोकचोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उनको भनाइ छ।

नेपालगन्जका मुख्य सडक, चोक र गल्लीमा समेत दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ। नेपालगन्जका गल्लीगल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अञ्जुर जिसीले बताए।

प्रकाशित: १० आश्विन २०८२ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App