२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

मनाइयो कुकुर तिहार

तस्बिर: एएफपी

यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक बैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा स्थापित भएको छ।

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।

आज दिउँसो तीन बजेपछि औंसी तिथि लागेको समितिले जनाएको छ। साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो। यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो।

यसै साँझदेखि यमदीदान पनि सुरु भएको थियो। दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ। आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती यसै दिन मनाइएको थियो।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। चौथो दिन मङ्गलबार यस वर्ष तिहारका कुनै पर्व परेको छैन। पाँचौँ दिन बुधबार गाई पूजा गरिँदै छ। यसै दिन गोवर्द्धन पूजा, हलितिहार, बलिपूजा, गोरुपूजा पर्व पनि परेको समितिले जनाएको छ।

तिथिले पाँचौँ परेपनि दिनअनुसार छैटौँ दिन अर्थात् कात्तिक ६ गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ।

नेवार समुदायले किजापूजा भनेर मनाउने तिहारको मुख्य दिन यस दिन परेको छ। भाइटीका र किजा पूजाको साइत ११ः३९ बजे उत्तम रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०८२ १८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App