२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

छठ महापर्व अनुष्ठानः अस्ताउँदो सूर्यलाई अर्घ

अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै ब्रतालु। तस्बिर: मिथिलेश यादव

छठ पर्वअन्तर्गत ब्रतालुले सोमबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै छन्।

सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ। त्यसैले सूर्यलाई अभीष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।

वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना भएकाले छठ पर्वमा अस्ताउँदो सूर्यको पनि प्रार्थना गर्ने चलन छ। आरम्भ र अन्त्यको विशेषतालाई यसरी सांकेतिक रूपमा प्रस्तुत गरिएको संस्कृतिविद्हरूको धारणा छ। छठको विशेषता दिनदिनै व्यापक बन्दैछ।

नेपालमा पहिला तराई–मधेस क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाडौं तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

अर्घको विशेषता

प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठी तिथिमा मनाइने छठ पर्वका अनेक विशेषता छन्। दिनभरि प्रकाश र ताप दिएकाले कृतज्ञता प्रकट गर्न सूर्य अस्ताउन लाग्दा अर्घ दिने गरिएको संस्कृतिविद् उमेशकुमार झा (ललन) बताउँछन्।

छठ पर्वमा किसानले आफ्नै खेतबारीमा उत्पादित सामग्रीले अर्घ दिन्छन्। किसानका लागि सूर्यको प्रकाश वरदान हो। प्रकाशबिना खेतीपाती हुन सक्दैन। त्यसैले आफ्नो खेतीबाट उब्जिएको पहिलो उत्पादन सूर्यलाई अर्पण गर्ने प्रचलन रहेको छ।

छठ पूजाका विभिन्न पद्धति भए पनि मधेसमा प्रचलित पद्धतिमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर उदाउँदो बेलाको सूर्यलाई जस्तै महत्व दिइएको छ।

संस्कृतिविज्ञ झा भन्छन्, ‘उदाउँदो र अस्ताउँदो दुवै सूर्यको पूजनले छठको महिमालाई विशिष्ट र व्यापक बनाएको छ।’ उदाउँदो सूर्य सिर्जनात्मक र अस्ताउँदो सूर्य प्रतीकात्मक रहेको उनको भनाइ छ।

सूर्यास्तका बेला जलाशयमा उभिएका ब्रतालुले सूर्यलाई अर्घ चढाउँछन्। जल र जलाशयबिना छठ पर्व मनाइँदैन। छठपूजनका लागि पोखरी, तलाउ, सरोवर, नदी आवश्यक पर्छ। सूर्यको ताप पूर्णतः समाप्त भइसकेको अवस्थामा जलाशयमा उभिएका ब्रतालुले अर्घ दिन्छन् र बिहान पुनः उर्जावान् भएर उदाउन प्रार्थना गर्छन्। सूर्यलाई ऊर्जाको प्रतीकका रूपमा पूजा गरिन्छ। सूर्यको उपासना गर्दा ऊर्जा प्राप्त हुने संस्कृतिविज्ञ झा बताउँछन्।

छठको महिमा

छठ पूजामा साँझ दिइने अर्घ सूर्यलाई नभई षष्ठी देवी अर्थात् छठी परमेश्वरीलाई भएको जानकार बताउँछन्। छठमा दुईवटा देवदेवीको पूजा हुन्छ–सूर्य र छठी देवी। ब्रतालुले साँझ षष्ठीदेवीलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ।

छठको पूजासामग्री,अर्घ दिने समय तथा स्थल र पूजाविधिमा खासै भिन्नता देखिँदैन। कृषिउपजबाहेक अन्य वस्तु पूजासामग्रीको रूपमा प्रायः प्रयोग गरिँदैन। छठको सन्ध्याकालीन अर्घ दिन व्रतालु तथा अन्य श्रद्धालुले नयाँ लुगा लगाउने प्रचलन पनि रहेको छ।

घरदेखि घाटसम्म उल्लास

घरको आँगनलाई लिपपोत गरी चोख्याएपछि बाँसको नाङ्लो ढाकीमा मिलाएर राखिन्छ। नाङ्लोमा पूजा सामग्री सजाइन्छ। एकपटक घरमै कुलदेवतालाई पूजा गरेपछि पूजा सामग्रीसहितको नाङ्लोलाई पुनः ढाकीमा सजाइन्छ।

त्यसमाथि सावधानीका साथ बलिरहेको दियो राखिन्छ। नयाँ पहिरनमा ब्रतालुसहित परिवारका अन्य सदस्य पूजा सामग्री बोकेर घाटतिर अघि बढ्छन्। प्रसादले भरिएको ढाकी भने घरका जिम्मेबार व्यक्तिले बोक्ने चलन छ।

चार दिवसीय छठ पूजाको मुख्य दिन सौंझकाअर्घ (साँझको अर्घ) का लागि सिँगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु एवं परिवारजनले पूजा सामग्री राख्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन्। 

टाढा घर भएका आफन्तजन एवं मितमितिनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन्। ‘सम्पूर्ण परिवारको जमघटले रमाइलो हुन्छ’ लहान नगरपालिका–४ की ब्रतालु अम्बिका यादव भन्छिन्,‘३६ घण्टे निर्जला ब्रत पनि रमाइलोले थाहै नपाई सम्पन्न हुन्छ।

सूर्य पूजाको परम्परा

आदिकालदेखि नै सूर्यलाई पृथ्वीमा जीवनको स्रोतका रूपमा मानिने गरेको छ। त्यसैले सबै धर्म विशेषमा सूर्यको उपासना गर्ने परिपाटी छ। छठ पर्व पनि तिनै परिमाटीमध्येको एक हो।

सूर्यको निरन्तरको ऊर्जा र तापबिना पृथ्वीमा जीवन सम्भव छैन। विज्ञहरूका अनुसार यदि एक दिन मात्रै सूर्यको प्रकाश र ऊर्जा पृथ्वीमा आएन भने पृथ्वी केही घण्टामै हिउँजस्तै जम्नेछ। सम्पूर्ण विश्व उत्तरी र दक्षिण ध्रुवजस्तै बन्नेछ। त्यसैले मानिसका लागि मात्र नभई पृथ्वीभरका प्राणीहरूको जीवनका लागि सूर्यको महत्व छ।

सामाजिक सांस्कृतिक महत्व छठ पूजाको सबैभन्दा महत्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष रहेको छ। यो पर्वले समाजमा सबैको महत्व आआफ्नो स्थान उत्तिकै छ भन्ने कुराको आभाष समेत गराउँछ। जसरी माटोका सामग्रीका लागि कुम्हाले, बाँसको सामग्रीका लागि डोम समुदाय, सख्खर, चामलका लागि किसान र व्यापारीलगायत, पूजाका प्रसाद बनाउनका लागि महिला, घाटमा लैजानका लागि पुरुष र जसरी कुनै दिनदुःखी बिनाचप्पल जुत्ता हिँड्ने गर्छन्।

त्यसैगरी छठको विशेषतासहितको मैथिली लोक गीत संगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्छ। छठको सन्देश छठ पर्वमा उत्पादन, सीप र संस्कारको समिश्रण पाइन्छ।  

उदाहरणका लागि हस्तनिर्मित बाँसको नाङ्लो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरू, ढकना, सरबा, दियो, हाथी आदि–इत्यादि सामग्रीहरूको प्रयोग हुन्छ।

प्रकाशित: १० कार्तिक २०८२ १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App