सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वमा इटहरीको बुढीखोलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । सोमबार साँझ सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचा क्षेत्रका ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेछन् ।
सुनसरी र मोरङको सीमास्थलमा पर्ने बुढी खोलाको गंगा जमूना मुक्तिघाटदेखि उत्तरतर्फ ६०० पूजा घाटमा ब्रतालु रातभर जाग्राम बस्नेछन् । यो वर्ष दुई लाख भन्दा बढी भक्तजन सहभागिता रहेको छठ पर्व आयोजक समितिका उपाध्यक्ष बासुदेव कर्णले बताए । इटहरी पूर्वकै केन्द्रमा पर्ने र दसैंसँगै तिहार पर्वका लागि इटहरी आफन्तमा आएकाले पनि यही पर्व मान्ने भएकाले गर्दा सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचाबाहेक अन्यत्रका भक्तजन पनि सहभागी भएका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीसँगै सय जना स्वयम्सेवक र ५० जना सेक्यूरिटी गार्ड पनि परिचालन गरिएको छ ।
इटहरीको बुढी खोलाबाहेक सुनसरीकै दुहवी, झुम्का, इनरुवाको सुनसरी खोला र सप्तकोशी नदीको तटीय क्षेत्रमा पनि ठूलो संख्यामा भक्तजन सहभागी भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । यी स्थानमा छठ पर्वको रौनक हेर्नका लागि ठूलो संख्यामा स्थानीयबासी समेत सहभागी भएर नाँचगान गरेर बसेका छन् ।
सोमबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ । व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेर मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
प्रकाशित: १० कार्तिक २०८२ १९:०२ सोमबार





