हिन्दू तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरको १०८ धारामा मर्यादा विपरीतका बस्त्र लगाएर नुहाउन रोक लगाइएको छ ।
अब मुक्तिनाथको १०८ धारामा छाता, प्लाष्टिक र रेनकोट ओढ्न र दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन पाइने छैन ।
वर्षेनी आठ लाखभन्दा बढी नेपाली, भारतीय तथा तेस्रो राष्ट्रबाट दर्शन गर्न आउने धार्मिक तथा पर्यटकले स्नान गर्ने क्रममा मर्यादा विपरीतका पोशाक र गतिविधि गर्न थालेपछि कडाइ गरिएको हो।
मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनलाई नियमका बारेमा जानकारी गराउने र धार्मिक परम्पराको पालना गर्न अनुरोध गरिएको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए ।
मन्दिरमा आउने भक्तजन र पर्यटकलाई सहज हुने गरी पूर्वाधार विस्तार तथा अन्य सुविधा थपिएको बताउँदै कोषाध्यक्ष गुरूङले भक्तजनलाई नियम पालना गर्न आग्रह गरेका छन् । मन्दिर क्षेत्रमा दर्शन तथा अवलोकनका लागि स्वयंसेवकले समेत सघाउने र निगरानी गर्ने गरिएको वडा अध्यक्ष गुरूङको भनाइ छ।
प्रकाशित: ७ मंसिर २०८२ १५:२३ आइतबार





