बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने चुरे पहाडमा एउटा चर्चित ‘बर्फानी बाबा’ आश्रम रहेको छ। उक्त आश्रममा विगत २५/३० वर्षदेखि बाबा बर्फानीका नामले परिचित केशर गिरी र उनका सहयोगीहरू बस्दै आएका छन्।
‘अनकन्टार’ जंगलको बिचमा रहेको अग्लो पहाडको चुचुरोमा आश्रमसँगै ‘दुद्देश्वर महादेव’ मन्दिर पनि अवस्थित छ। मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट हिन्दु धर्मावलम्वीहरू दर्शन गर्न आउँछन्। सहरबजारको ‘कोलाहल’बाट मुक्ति पाउन सर्वसाधारण नागरिक दिनहुँजसो आश्रममा पुग्छन्। जंगलको बाटोबाट पदयात्रासँगै आश्रममा भाकल, औषधी उपचार र पूजाआजा गर्न पुग्ने धार्मिक पर्यटकको उपस्थितिले निकै चहलपहल बढाएको छ। उक्त आश्रममा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा हुने भक्तजनहरूको विश्वास छ।
राप्ती सोनारी–३ का स्थानीय समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष लाहुराम थारुका अनुसार बर्फानी बाबाप्रति नेपाल र भारतका भक्तजनको आस्था र विश्वास छ। ‘मैले जतिबेला बर्फानी बाबाको नाम सुनेको थिएँ, म जनप्रतिनिधि भएकै बेला पहिलो पटक आश्रममा आइपुगेको थिएँ, त्यतिबेला गोरेटो बाटोबाट बडो मुस्किलले हामी आश्रमसम्म पैदल हिँडेर आइपुगेका थियौं,’ विगतलाई स्मरण गर्दै थारुले भने, ‘जब मैले बाबालाई पहिलो पटक भेट्ने अवसर पाएँ, उहाँमा एक खालको शक्ति रहेको कुरा मैले अनुभूत गरेको थिएँ।’

आश्रममा बिरामी, निःसन्तान दम्पतीहरू आएर पनि उपचार गराउँछन्। अस्पतालले नसकेर बिदा दिइसकेका बिरामीहरू समेत आश्रम आएर निको भई फर्किने गरेको स्थानीय बताउँछन्।
यसरी पुग्न सकिन्छ बर्फानी बाबा आश्रम
आश्रममा बाँकेका दुई प्रमुख स्थानबाट पुग्न सकिन्छ। नेपालगन्जबाट राप्तीपारि हुलाकी सडक हुँदै करिब २७ किलोमिटर पूर्वमा रहेको राप्ती सोनारी–४ बैजापुरस्थित कुम्भर गाउँ हुँदै दक्षिणतर्फ जंगलको बाटो भएर (पैदल र मोटरसाइकलबाट) आश्रममा पुग्न सकिन्छ। यस्तै, नेपालगन्जबाट राप्तीपारि हुलाकी सडक हुँदै करिब ३५ किलोमिटर दुरी पार गरिसकेपछि नरैनापुरमा पुग्ने र त्यसपछि जंगलको बाटो हुँदै उत्तरतर्फ करिब दुई घण्टा पैदल हिँडेपछि आश्रममा पुग्न सकिन्छ।
तर, बैजापुरको कुम्भर गाउँ भएर केही दुरीसम्म मोटरसाइकल, ट्य्राक्टर अथवा पैदल यात्राबाट आश्रममा पुग्न सकिन्छ। कुम्भरबाट पैदल यात्रा मार्फत करिब दुई घण्टामा र कुम्भरबाट मोटरसाइकल, ट्य्राक्टरजस्ता सवारी साधनमार्फत हिँडेपछि करिब आधा घण्टा जति थप पैदल हिँडेर पनि आश्रममा पुग्न सकिने स्थानीय बताउँछन्।
राप्ती सोनारी गाउँपालिकाले आश्रम रहेको पहाडको आधा भागसम्म मोटरसाइकल, ट्य्राक्टर चल्न सक्ने बाटोको ट्रयाक खोलेकाले विगतका भन्दा पछिल्लो समयमा सहज भएको छ। तर, वर्षाले हरेक वर्ष बाटो बिगार्ने भएकाले समय-समयमा मर्मत गर्नुपर्छ।
चुरे पहाडमा मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले यहाँ पुग्ने जोकोहीको मनलाई निकै आनन्दित बनाउँछ। आश्रममा बाबालाई भेटेर आर्शीवाद थाप्ने र मन्दिरमा पूजाआजा गर्ने, भजन-किर्तन गर्नेको यहाँ घुइँचो लाग्ने गर्छ।
विशेषगरी सार्वजनिक बिदाको दिनमा यहाँ भक्तजनको भिड थामिनसक्नु हुन्छ। यहाँ पुग्ने जो कोही भक्तजनलाई पनि खाना, नास्ता खुवाएर पठाउनु आश्रमको विशेषता हो। टाढाबाट पुग्ने कतिपय भक्तजनहरू रातमा पनि यही बसेर प्राकृतिकको आनन्द लिनुका साथै भजन, किर्तन गर्छन्। पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ। मन्दिरमा बर्सेनि धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ। सहरको कोलाहल वातावरणभन्दा शान्त ठाउँ मन पराउनेहरूका लागि उपयुक्त धार्मिक पर्यटकीय गन्तव्य बन्न सफल भएको छ।
बाँकेका पर्यटन व्यवसायीहरू उक्त स्थानलाई धार्मिक करिडोर निर्माण, धार्मिक पर्यटन प्रवर्धन एवं बर्फानी बाबा आश्रमको प्रचारप्रसार गर्न लागिपरेका छन्। यसका लागि समय–समयमा पर्यटन व्यवसायी, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, भजन मण्डलीलगायतको उपस्थितिमा आश्रमसम्मको पदयात्रासँँगै मन्दिर दर्शन गर्न थालिएको छ।
नेपालगन्जका पर्यटन व्यवसायी श्रीराम सिग्देल बर्फानी बाबा आश्रमसम्मको पद यात्रामा प्राकृतिक दृश्य हेर्दै रमाउँदै हिँड्नुको आनन्दभन्दा अरू केही नभएको बताउँछन्। नेपालगन्जलाई पर्यटकीय गन्तव्य बनाउँदा बर्फानी बाबा आश्रम पनि एउटा सहायक केन्द्र बन्न सक्ने उनको बुझाइ छ।
‘प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँलाई हामीले अहिलेसम्म गन्तव्य बनाउन सकेका छैनौं,’ उनले भने, ‘नेपालगन्जमा एक/दुई दिन बस्ने बाहिरका पाहुनाहरू ल्याएर यो ठाउँलाई गन्तव्य बनाउन सकिन्छ, साप्ताहिक रूपमा कम्तीमा एक पटक हाइकिङ (पदयात्रा) गर्न आउँदा बेग्लै रमाइलो हुन्छ।’
बर्फानी बाबा आश्रममा पुग्न विकल्पका रूपमा पदयात्रा र मोटर बाटो दुवै बनाउँदा उचित हुने पर्यटन व्यवसायी सिग्देलको सुझाव छ।
नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिलाल न्यौपाने प्रकृतिसँग घुलमिल हुँदा कतिपय रोग निको हुने भएकाले बर्फानी बाबा आश्रमसम्मको पदयात्रा निकै उपयोगीमूलक रहेको बताउँछन्। ‘मान्छेहरू लाखौं रकम खर्च गरेर पदयात्रा गर्न आउँछन् तर हामी घरभित्रै थन्किरहेका छौं, समय निकाल्न सकिरहेका छैनौं,’ उनले भने, ‘बर्फानी बाबा आश्रमसम्म पुग्न दुई घण्टाको पदयात्रामा मैले जुन आनन्द महसुस गरेँ, हजारौं खर्च गरेर बाहिर जाँदा पनि मैले रेस्टुरेन्टमा पाउन सकिनँ।’
आश्रममा करिब ६ सय गाईपालन
आश्रमले करिब ६ सयको संख्यामा गाईपालन गरेको छ। आश्रम आसपासमा रहेको जंगलमा अस्थायी गौशाला बनाएर गाईको संरक्षण गरिएको छ। गाई चराउने ‘ग्वाला’(हेरालु) लाई हाल आश्रमले नै पारिश्रमिक दिइरहेको छ। विगतमा राप्ती सोनारी गाउँपालिकाले ग्वालाहरूलाई पारिश्रमिक दिने गरे पनि हाल उक्त सुविधा रोकिएको बर्फानी बाबा बताउँछन्। ‘हामीसँग ६ सयको हाराहारीमा गाईहरू छन्, यी गाईलाई बचाउन हामीलाई धेरै समस्या छ, राप्ती सोनारी गाउँपालिकाले ग्वालाहरूलाई पारिश्रमिक दिएको थियो, एक÷दुई वर्षपछि पारिश्रमिक रोकिदियो,’ उनले भने, ‘हामी आफैंले जति सकिन्छ, पारिश्रमिक दिएर ग्वालाहरू राखेका छौं।’
भौतिक पूर्वाधारको अझै अभाव
धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको आश्रमसम्म पुग्न बाटोको सुविधा, विद्युत्, थप शौचालय र आश्रम वरिपरिको क्षेत्रलाई घेराबार लगाउनुपर्ने आवश्यकता रहेको बर्फानी बाबा बताउँछन्।
विद्युत्को विकल्पमा यहाँ सौर्य ऊर्जा जडान गरिएको छ। आश्रम रहेको पहाडको आधा फेदसम्म पुग्नका लागि राप्ती सोनारी गाउँपालिकाले मोटर बाटोको ट्रयाक निर्माण गरिदिएको छ। तर, उक्त बाटो मर्मत नहुँदा जीर्ण बनेको छ। उक्त गाउँपालिकाले नै २०७८ सालमा आश्रम परिसरमा दुद्देश्वर मन्दिर निर्माण गरिदिएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले लिफ्ट खानेपानी आयोजना, शौचालय, धर्मशालालगायतका संरचनाहरू निर्माण गरिदिएको छ।
‘ध्यान गर्दा शिव-दर्शन पाउँछु’ : बर्फानी बाबा

‘पहारी महाराज’ भन्ने हुनुहुन्थ्यो, उहाँ भारतको सीमा क्षेत्र ‘जगपति’ भन्ने ठाउँमा बस्नुहुन्थ्यो। म पहिला बरफ जम्ने ठाउँ हिमाली क्षेत्रतिर बस्थेँ। म त्यहाँबाट पहारी महाराजलाई भेट्न बेला–बेलामा आउँथेँ। महाराजले नै मेरो नाम ‘बर्फानी बाबा’ भनेर राखिदिनुभएको हो। मेरो खास नाम केशर गिरी हो। मलाई श्री श्री १००८ पनि भन्छन्।
मैले नेपाल र भारतका धेरै ठाउँमा ध्यान गरेँे। कञ्चनजंगा, नाम्चे बजार, गोसाई कुण्ड, दामोदर कुण्डमा ध्यान गरेर बस्थे। मलाई भोलेनाथ (भगवान् शिव) ले बोलाउनुभयो, त्यसपछि म यही पहाडको चुचुरोमा आएर बस्न थालेको हुँ। यहाँ बस्न थालेको करिब २५/३० वर्ष जति भयो। यहाँ आएर म ध्यानमा बसेँ। मैले तल खोलाबाट पानी बोकेर खान्थेँ। म यहाँ बस्न थालेपछि बिस्तारै–बिस्तारै मेरा भक्तहरू आउन थालेका हुन्।
अहिले त भारत र नेपालका धेरै भक्तहरू यहाँ आउँछन्। कोही पूजा गर्छन्, कोही औषधी गराएर जान्छन्। डाक्टरले बिदा गरेका बिरामी पनि आउँछन् यहाँ। निःसन्तान दम्पतीहरू पनि आउँछन्। उनीहरूको इच्छा, चाहनालाई भोलेनाथले पूरा गर्नुहुन्छ। म भन्दा अगाडिका गुरुहरूले भन्नुहुन्थ्यो, ‘पहिला गाईलेखबाट गाई आएर यहाँ दुध चढाउँथे रे। त्यसकारण यहाँ दुधेश्वर महादेव बस्नु भएको हो।’ म बेला बेलामा ध्यानमा बसेको बेला शिवजी आउनुहुन्छ।
पहिले यहाँ मन्दिर पनि थिएन। आश्रममा बस्थेँ र शिवजीको पूजाआजा गर्थें। २०७८ सालतिर राप्ती सोनारी गाउँपालिकाले मन्दिर बनाइदियो। मैले सोचेअनुसारको मन्दिर बनेको छ। लुम्बिनी प्रदेश सरकारले पनि खानेपानी, भक्तहरू बस्ने घरलगायतका संरचनाहरू बनाइदिएको छ। अझै केही संरचना बनाउनुपर्नेछ। यो आश्रम धेरै पुरानो भइसक्यो।
गर्मीको समयमा आगोबाट जोगाउन धेरै गाह्रो हुन्छ। यो आश्रम वरिपरिको भागलाई देवाल उठाएर संरक्षण गर्नुपर्ने अवस्था छ। किनकि गर्मीको समयमा हामीलाई धेरै गाह्रो हुन्छ। जंगलमा लागेको आगो फैलिएर आश्रमसम्म आइपुग्छ। आश्रम काठपातबाट बनेको हुँदा आगो लाग्ने जोखिम धेरै छ। राप्ती सोनारी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले आश्रमलाई धेरै सहयोग गरेका छन्। नजिकै रहेको नरैनापुर गाउँपालिकाले त हाम्रो कुरा नै सुन्दैन।
अर्को कुरा गाई चराउने ग्वालाहरूलाई पारिश्रमिकको धेरै नै समस्या छ। केही वर्षअघि राप्ती सोनारी गाउँपालिकाले गाई ग्वालाहरूलाई पारिश्रमिक दिने व्यवस्था गरेको थियो, पछि त्यो सुविधालाई गाउँपालिकाले रोकेपछि हामी आफैंले जसोतसो गरेर पारिश्रमिक दिइराखेका छौं तर खर्च धान्न मुस्किल परिरहेको छ। गाईपालनलाई अझ व्यवस्थित गर्न राम्रो गौशाला बनाउन पाए हुन्थ्यो।
प्रकाशित: २९ कार्तिक २०८२ ०९:१३ शनिबार





