२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, चारै ढोका खोलियो

साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाएको बताए।  

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्। यसका लागि विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो।  

साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँभन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ। साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।  

पशुपति क्षेत्रमा आउने भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ। यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ। कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ। चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ। यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ। रासस

प्रकाशित: ५ श्रावण २०८२ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App