हाकुपटासी (स्थानीय परम्परागत कालो फरिया) मा सजिएका महिलाको लामो लस्कर । बीचबीचमा परम्परागत पोशाकमै खर्पन बोकेर लाइनमै रहेका युवाहरु । सडकका पेटीभरि सबैतिर जात्रा हेर्न बसेका जात्रालुको भीड । यो दृश्य हो, बिस्केट जात्राको क्रममा शुक्रबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्राको । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ ।
प्रत्येक वर्ष बिस्केट जात्राको क्रममा वैशाख ४ गते यो जात्रा यसरी नै यहाँं धुमधामका साथ दिनभर हुन्छ । नौ दिन आठ रात लामो बिस्केट जात्राको यो विशेष दिन पनि हो । तर पनि यो जात्राको विषयमा त्यति प्रचारप्रसार हुन सकेको छैन र यसबारे भक्तपुर नगरबासीबाहेक निकै कमैलाई मात्रै जानकारी छ ।
बिस्केट जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन भने नगरभरि सबैतिर जात्रा चल्ने हुन्छ । जात्राको पहिलो दिन चैत २७ गते न्यातापोल मन्दिर परिसर, चैतको अन्तिम दिन र वैशाख १ गते ल्योसिंखेलमा मात्रै जात्रा चल्ने गर्दछ र जात्रा एउटै टोलमा मात्रै सिमित हुन्छन् । यही कारण सवैतिरको मानिस त्यही एक टोलमै सिमित हुन्छ ।
जात्राका क्रममा हजारौं महिला लस्करै परम्परागत हाकुपटासीमा हिड्छन् । उनीहरू प्रत्येकको हातमा देवतालाई चढाउन केही न केही खाद्य सामग्री बोकेर हिड्छन् । देवतास्थल पुगेपछि आफूले बोकेको खाद्यसामग्री उनीहरू चढाउँंछन् । यस क्रममा उनीहरूले नेवारी भोजका एक–एक वटा परिकार चढाए । रक्सी, अण्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीमध्ये कुनै एक खाद्यसामग्री उनीहरूले चढाउने परम्परा छ । यद्यपि समयअनुसार अहिले बिस्कुट, चोकोफन चढाउनेको संख्या पनि उत्तिकै भेटिए ।
जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवतालाई सगुन चढाइएको थियो । नगरका विभिन्न स्थानमा रहका अष्टमातृकाका आठसहित भैरव, गणेश लगायतका ३३ स्थानका देवतालाई सगुन चढाइने परम्परा छ ।
सगुन यात्रा सूर्यमढी टोलबाट सुरु हुन्छ । त्यहाबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी पुगेको थियो । त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो । सूर्यमढी पुगेपछि जात्रा अन्त्य भई सबै जात्रालु आ– आफ्नो घर फर्केका थिए ।
यसअघि सगुन चढाउने देवताहरूलाई शुक्रबार राति नै देवघरबाट निकालेर नजिकैका चोक–चोकमा राखिएको थियो । ३३ देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्केट जात्राको पहिलो दिन चैत २७ गते नै देवघरबाट निकाली रथमा राखिएको थियो । जात्रापछि यी देवतालाई शुक्रबार पुनः देवताघरमा फर्काइएको छ । यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता लगिन्छ ।
संस्कृतिविद् डा इन्दुल केसीले घरपरिवारमा महिलाले खाना खुवाइदिने अर्थमा देवतालाई पनि महिलाले नै सगुन दिने चलन रहकाले जात्रामा महिलाको विशेष लस्कर देखिने बताउँंछन् । तथापि जात्रामा पुरुष पनि सहभागी थिए । उनीहरु बाजागाजा बजाउन, स्वयंसेवक हुन अनि पानी बोकेर खुवाउन व्यस्त रहेका देखिए ।
संस्कृतिविद् डा केसीका अनुसार सम्पूर्ण देवताको एकैदिन पूजा गर्ने यो जात्राको विशेष दिन हो । अरु बेला कुनै दिन ब्रह्मायणी त कुनै दिन अर्कै कुनै देवताको मात्रै पूजा हुने तर यो दिन सबै देवताको एकैदिनमा पूजा हुने भएकाले यसको छुट्टै महत्व रहेको उनी सुनाउँछन् ।
चैत २७ गतेबाट सुरु भएको भक्तपुको विस्का जात्रा बैशाख ५ गते शनिबार सकिदैछ । जात्रा प्रत्येक वर्ष आठ रात नौ दिन चल्ने गर्दछ ।
प्रकाशित: ४ वैशाख २०८३ १९:०५ शुक्रबार





